डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ।
विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो।
आगामी मङ्सिरबाट भत्ता दिने नगरपालिकाको तयारी छ। त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिए।
नगरपालिकाले विवाह नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो। त्यस्ता महिलालार्य सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमासमेत जोड्ने नीति नगरपालिकाले लिएको छ।
यसअघि बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुरभत्ता दिएको थियो।
सरकारले एकल महिलालाई भत्ता दिइरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय ०७५ भदौमा गरेको थियो।
दिपायल सिलगढी नगरपालिकाले भने पहिलोपटक विवाह नगरी बसेका एकल महिलालाई भत्ता दिने पहिलोपटक निर्णय गरेको हो।
नगरपालिकाले सीपमूलक तालीम तथा भत्ता दिने निर्णय गरेपछि विवाह नगरी एकल जीवनयापन गरिरहेका महिला निकै खुशी भएका नगर उपप्रमुख शिवराज खड्काले बताए।
Shares

प्रतिक्रिया