आज (सोमबार) पश्चिमी भेगका केही स्थानमा मौसम सामान्यतया सफा रहे पनि देशका बाँकी भागमा सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार सुर्खेत/दाङदेखि पश्चिम (सुदूरपश्चिम)मा मौसम सामान्यतया सफा रहेको र त्यसयता पूर्वका क्षेत्रमा भने बदलीको अवस्था छ। आज दिनभर मौसम यस्तै रहने उनले बताए।
दिउँसो वा अपराह्नतिर मध्य र पूर्वका थोरै स्थान तथा पश्चिमका एक वा दुई हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज मध्य तथा पूर्वी हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ : पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले पूर्वी तथा मध्य हिमाली भेगका स्थानमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ।
‘पूर्वी हिमाली भेगको पनि लुक्लाभन्दा माथि उपल्लो क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ,’ वरिष्ठ मौसमविद् पौडेलले नेपालखबरसँग भने।
आज काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम बदलीको अवस्था छ। ‘बीचबीचमा केही खुलेजस्तो भए पनि आज मौसम बदलीकै अवस्था रहन्छ,’ उनले भने, ‘तर आज उपत्यकामा पानी पर्ने सम्भावना भने छैन।
अरब सागरको पूर्वी मध्य भागमा विकास भइरहेको निम्न चापीय प्रणाली, भारतको उत्तर प्रदेशमा अर्को निम्न चापीय प्रणाली तथा उत्तर-पश्चिम भारतमा पश्चिमी वायुको प्रभाव अहिले नेपालमा परिरहेको महाशाखाले जनाएको छ।
मनसुनी वायु (मनसुन) बाहिरिएपछि नेपालमा पश्चिमी वायुको प्रभाव बढेको मौसमविद् बताउँछन्। अहिले ‘पोस्ट मनसुन’ चलिरहेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया