दुई सातादेखि माइतीघर मण्डलमा धर्ना दिँदै आएका दृष्टिविहीनले सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गरेका छन्।
मंगलबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आन्दोलनरत पक्षसँग भएको छलफलपछि दृष्टिविहीनले उठाएका माग सम्बोधनका लागि आवश्यक पहल गर्ने सहमति भएको हो। सहमतिअनुसार, माइतीघरमा सञ्चालन भइरहेको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ।
साथै, दृष्टिविहीनका मागहरू सम्बोधन नभएसम्म तथा साउन मसान्तसम्म उनीहरूले सञ्चालन गरिरहेको कला तथा सांगीतिक प्रस्तुति तथा जीविकोपार्जनका गतिविधि हाल सञ्चालन भइरहेका स्थानमा कुनै अवरोध वा रोकछेक नगरी निरन्तर सञ्चालन गर्न दिने सहमति भएको छ।
वार्ताका क्रममा दृष्टिविहीनले उठाएका माग सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले युवा, श्रम तथा रोजगार मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा शिक्षा तथा खेलकुद मन्त्रालयसँग आवश्यक समन्वय गरी समाधान प्रक्रिया अघि बढाउने सहमति भएको छ।
दृष्टिविहीनले सीप, योग्यता, दक्षता र क्षमताअनुसार रोजगारीको सुनिश्चितता, पढ्ने–लेख्ने अवसरबाट वञ्चित दृष्टिविहीन व्यक्तिका लागि सीपमूलक तालिम, बीउपूँजी तथा बजारीकरणको व्यवस्था, उमेर वा अन्य कारणले रोजगार तथा स्वरोजगार गर्न असमर्थ व्यक्तिका लागि जीवन निर्वाहयोग्य बेरोजगार भत्ताको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्।
त्यस्तै, सम्पूर्ण दृष्टिविहीन व्यक्ति तथा उनीहरूमा आश्रित परिवारका सदस्यको निःशुल्क स्वास्थ्य उपचार, सहायक सामग्री तथा सहायक प्रविधिको निःशुल्क उपलब्धता, हवाई तथा सडक सार्वजनिक यातायातमा अपाङ्गता परिचयपत्रका आधारमा ५० प्रतिशत छुटको प्रभावकारी कार्यान्वयन, दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई निजी तथा सामुदायिक विद्यालयमा सामान्य तथा प्राविधिक शिक्षा निःशुल्क उपलब्ध गराउने व्यवस्था, व्यवसाय गर्न इच्छुक व्यक्तिका लागि बिना धितो कम्तीमा १० लाख रुपैयाँसम्म १० वर्षे किस्ताबन्दीमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
वार्तापछि दुवै पक्षबीच सम्बन्धित मन्त्रालयहरूसँग नियमित समन्वय, संवाद र सहकार्यलाई निरन्तरता दिँदै दृष्टिविहीनका जायज मागहरू चरणबद्ध रूपमा सम्बोधन गर्ने समझदारी भएको मन्त्रालयले जनाएको छ। सहमतिसँगै दुई सातादेखि माइतीघरमा जारी आन्दोलन तत्कालका लागि स्थगित भएको छ।
Shares

प्रतिक्रिया