समाज


नागढुंगा-सिस्नेखोला सुरुङमार्ग शिलान्यास आज

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग शिलान्यास आज

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार २:१५,

काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण कार्य आज (सोमबार) देखि सुरु हुँदैछ।

दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिका- १ टुटेपाखामा सुरुङमार्ग र फ्लाई ओभरको शिलान्यास गर्ने कार्यक्रम रहेको सडक विभागले जनाएको छ। यो सडकतर्फ पहिलो सुरुङमार्ग हो।

सिचाईं, खानेपानी र विद्युत् आयोजनाको लागि सुरुङ खनिए पनि सडक मार्गको लागि अहिलेसम्म नेपालमा सुरुङ खनिएको छैन।

सुरुङमार्गसँगै दुईवटा फ्लाई ओभर पनि निर्माण हुनेछन्। फ्लाई ओभर पनि नेपालमा पहिलोपटक निर्माण हुन लागेको हो। एउटा बलंम्बु र अर्को नागढुंगामा निर्माण हुनेछ।

सुरुङमार्ग निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ। सोही ऋणबाट सुरुङमार्ग निर्माण गर्न थालिएको हो। ४० वर्षमा तिर्ने गरी लिइने ऋणको वार्षिक ब्याज दर ०.०१ प्रतिशत हुने सहमति छ।

नागढुंगामा सुरुङमार्ग निर्माणपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी जाम नहुने अनुमान छ। सुरुङमार्ग निर्माणपछि नागढुंगादेखि सिस्नेखोलासम्म चार किलोमिटर दूरी घट्नेछ।

निर्माण कार्य ४२ महिनामा सक्ने लक्ष्य छ। सुरुङमार्ग निर्माणका लागि भ्याट र अनुगमनसहित १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। तर, ठेकेदार कम्पनीसँगको सम्झौता भने १३ अर्ब ५० करोड रुपैयाँको छ।

नागढुंगा– सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ६ असोजमा विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो।

विभागका विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सुरुङमार्ग निर्माणका लागि आवश्यक उपकरणसहित काम गर्न जापानीज टोली तयारी अबस्थामा रहेको बताए।

उक्त सुरुङमार्ग न्यु अष्ट्रियन टनेलिङ मेथड (एनएटिएम) प्रविधबाट निर्माण हुने विभागले जनाएको छ।

सम्झौता अनुसार टुटेपाखादेखि सिस्नेखोलासम्म दुई वटा सुरुङ निर्माण हुनेछन्। नियमित सवारी सञ्चालनका लागि साढे नौ मिटर चौडाइको र आपतकालीन अवस्थाका लागि चार मिटर चौडा गरी दुई सुरुङमार्ग निर्माण हुने थापाले जानकारी दिए।

दुबै सुरुङमार्गको लम्बाई २.७ किलोमिटर हुनेछ। ठूलो सुरुङभित्र तीन लेनमा सवारी चल्नेछन्।

सुरुङमार्ग खन्दा निस्कने माटो, ढुंगा सर्भिस सेन्टर निर्माणमा प्रयोग गरिने थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad