ad ad

समाज


अनलाइन कक्षा : राजधानीमै छैन विद्युत् र इन्टरनेट नियमित, कसरी पढ्छन् विद्यार्थी?

अनलाइन कक्षा : राजधानीमै छैन विद्युत् र इन्टरनेट नियमित, कसरी पढ्छन् विद्यार्थी?

नेपालखबर
भदौ २, २०७८ बुधबार १०:१२, काठमाडौँ

डेढ वर्षदेखि अनलाइनका माध्यमबाट पढिरहेका विद्यार्थी पटकपटक विजुली र इन्टरनेट जान थालेपछि समस्यामा परेका छन्। देशका दुरधराजमा मात्रै होइन, राजधानी काठमाडौंमै यस्तो समस्या धेरै छ।
 
राजधानीको उत्तरपूर्वी भेगमा पर्ने शङ्खरापुृर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बुढानीलकण्ठ लगायतका नगरपालिकाका ग्रामीण भेगमा पटपपटक बत्ती र इन्टरनेट जाँदा पढाइमा बाधा पुगेको गुनासो विद्यार्थीले गरेका छन् । २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न जारी बन्दाबन्दी भएदेखि निरन्तर विद्यालयहरुले अनलाइन कक्षा चलाइरहेका छन्।

गतवर्ष पुसदेखि चैतसम्म भौतिक रुपमा कक्षा चलाएका कतिपय विद्यालयले पनि वैशाखपछि फेरि नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढ्न थालेपछि अनलाइन कक्षा चलाइरहेका छन्। अनलाइन कक्षा चलेपनि कहिले बत्ती त कहिले इन्टरनेट जाने गरेकाले नियमित रुपमा अध्ययन गर्न नसकिएको गोकर्णेश्वर नगरपालिका–१ का घनेन्द्र सिम्खडाले बताए

नगरपालिका घोषणा गरिएका स्थानमा पनि पूर्वाधारको राम्रो विकास नहुँदा बालबालिका समस्यामा परेका हुन् । बिहानभर बत्ती बल्ने र १० बजेपछि बालबालिकाको कक्षा शुरु हुने बेलामा बत्ती जाने गरेको गुनासो विद्यार्थी र अभिभावकले गरेका छन्।

कहिले सडक निर्माण, कहिले खानेपानीको पाइप विच्छ््याउने त कहिले ढल निर्माण भन्दै बत्ती काटिने गरिएको स्थानीयले बताएका छन्। महामारीको विषम परिस्थितिमा यस्ता काम रातको समयमा गर्न सकिने भए पनि यसतर्फ सरोकारवाला निकायका अधिकारीको ध्यान जान सकेको छैन। 

नेपाल विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ कार्यकारी निर्देशक नियक्त भई आएपनि बत्ती जाने क्रम नरोकिएको अभिभावकको भनाइ छ। 

विद्यार्थी मात्र नभइ अन्य पेशा र व्यवसायमा कार्यरत नागरिकले पनि सम्भव भएसम्म अनलाइनबाटै अहिले काम गरिरहेका छन्। तर, सडक विस्तारका क्रममा दिनमा १० घण्टासम्म बत्ती काटिने गरेको छ । बत्ती काटिएका बेला कतिखेर आउँछ भनी गोकर्ण नो लाइटमा फोन गरेर सोध्न खोज्दा फोन नलाग्ने बनाएर राख्ने गरेको अभिभावक रमिला भण्डारीले गुनासो गरिन् । जोरपाटी पूर्वोत्तरको क्षेत्रमा बत्ती मात्र नभइ इन्टरनेट पनि नियमित छैन। 

जोरपाटी–सुन्दरीजल र जोरपाटी–साँखु सडक विस्तारका क्रममा पानीको पाइप, ढल विच्छ््याउने बेलामा इन्टरनेटको तार काटिएकाले समस्या भएको नेपाल टेलिकम जोरपाटी शाखामा एडिएसएल सेवा हेर्दै आएका अर्जुन पोखरेलले बताए। ग्राहकको समस्यालेसमेत इन्टरनेट जाने भए पनि यो क्षेत्रमा भने सडक विस्तारका क्रममा जमिनमुनि विच्छ््याइएका पाइप, ढलकै कारण इन्टरनेटको तारमा समस्या आएको उनको भनाई छ।

ल्याण्डलाइन टेलिफोन, राउटरलगायत प्रणालीमा हुने समस्याका कारण पनि इन्टरनेट जाने गरेको छ। यस क्षेत्रमा सरकारी कम्पनीको मात्र नभइ निजी क्षेत्रका इन्टरनेट प्रदायक कम्पनीको सेवासमेत नियमित हुन सकेको छैन। 

बत्ती र इन्टरनेट सेवा नियमित नहुँदा त्यसको मारमा भने साना–साना बालबालिका पर्ने गरेका छन् । कोरोना जोखिमका कारण विद्यालय जान नपाएका बालबालिका घरमा बस्दा तनावमा रहेकै बेला बत्ती र इन्टरनेटको समस्याले पढ्न नपाउँदा बढी समस्या हुने गरेको छ। 

बालमैत्री वातावरण निर्माणका लागि पनि अनलाइन कक्षा चलेका बेला नियमित रुपमा बत्ती र इन्टरनेट सेवाको व्यवस्था हुनुपर्ने अभिभावक सानुभाइ श्रेष्ठले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .