काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित वाग्मती किनारमा सुकुम्वासी बस्ती बढेसँगै फोहर पनि बढ्न थालेको छ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले दुई वर्षअघि गरेको अध्ययन अनुसार थापाथली क्षेत्रमा सुकुम्वासीका १३७ घर थिए। बागमती सफाइ महाअभियानले शनिबार थापाथली क्षेत्रमा गरेको सफाइ एवं सुकुम्वासी बस्तीको निरीक्षणका क्रममा त्यस क्षेत्रमा १२ घर बढेको भेटिएको समितिका सञ्चालक सदस्य डा.माला खरेलले बताइन्। सुकुम्वासी बस्ती व्यवस्थित नगरिँदा नदी किनारमा अस्थायी संरचना बनाएर बस्नेको संख्या बढ्दै गएको छ।
‘दुई वर्षअघि थापाथली क्षेत्रको सुकुम्वासी बस्तीको अध्ययनमा म पनि संलग्न थिएँ, त्यसबेला घरधुरीसहितको विवरण सङ्कलन गरिएको थियो,’ खरेलले भनिन्, ‘बस्ती व्यवस्थापनका लागि सरोकारवाला माथिल्ला निकायमा पत्राचार पनि गरेका थियौँ। तर काम हुन सकेन। अहिलेको अध्ययन एवं निरीक्षणका क्रममा त्यस क्षेत्रमा १२ घर थप भएछन्।’
सुकुम्वासी बस्ती बढेसँगै नदी किनारमा फोहर पनि बढेको छ। नदीको बहाव क्षेत्रमा वर्सातको पानी बढेकाले सफा देखिए पनि किनारमा फोहोरको डंगुर छ। सफाइमा वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत १०० जनाभन्दा धेरै अभियानकर्मी सहभागी थिए।
यसैगरी शङ्खमूल क्षेत्रमा पनि डा.लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ। सफाइमा टोल सुधार समितिलगायत स्थानीयवासीको सक्रियता थियो। स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक दूरी कायम गरेर सफाइ गरिएको पौडेलले बताइन्। गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४०१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी कुहिने फोहरलाई जमिनमुनि गाडिएको छ। नकुहिने प्लाष्टिकजन्य फोहोर बोत्तलमा राखी इट्टा बनाउन उपयोग गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए।
मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले २३० औँ हप्ताको सफाइ कोटेश्वरचोक ट्राफिक प्रहरी कार्यालयअघिबाट जडिबुटी चोकसम्म गरेको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख रमेश बोहरा, महानगरीय ट्राफिक प्रहरी परिसर काठमाडौँका प्रमुख रामकृष्ण देवकोटालगायत करिब ५० जनाको सहभागिता थियो।
उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको बागमती सफाइ महाअभियान निरन्तर जारी छ।
बागमती सफाइ महाअभियानबाट पभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदीको पनि सफाइ शुरु भएको हो । काठमाडौँ उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ । उपत्यका बाहिरका मुख्य शहर, नदी एवं प्रमुख तीर्थस्थलमा पनि सफाइ भइरहेको छ । हाल देशभर १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ। रासस
Shares

प्रतिक्रिया