ad ad

समाज


नागरिकताका लागि: लगातार लडाइँ, लगातार अपमान

नागरिकताका लागि:  लगातार लडाइँ, लगातार अपमान

फाइल तस्बिर


समर्पण श्री
साउन २८, २०७८ बिहिबार ८:३५, काठमाडौँ

१६ वर्ष भयो, नागरिकताविहीन भएर बाँचिरहेकी छन्, काठमाडाैं–४ कि रीता श्रेष्ठ (नाम परिवर्तन)। हरेक दिन नागरिकताकै लागि संघर्ष गरिरहेकी उनी निराश नभएको दिन छैन।

रीता सानै छँदा बा र आमा छुट्टिए। त्यसपछि आफ्नो बालाई कहिल्यै देख्न पाइनन् उनले। उनी १० वर्षको हुँदा उनकी आमाको दोस्रो विवाह भयो। 

‘छोरीलाई हामी नै पढाउँछौं। हामी नै नाम दिन्छौँ,’ अंकल–आन्टी (आमाका बहिनी र ज्वाइँ) ले बचन दिएर रीतालाई आफूसँगै राखे।

रीता अंकल–आन्टीकै घरमा छोरी भएर बस्न थालिन्। सर्टिफिकेटमा अभिभावकको रूपमा उनीहरुकै नाम लेखियो। १६ वर्षको उमेरमा रीताले एसएलसी पास गरिन्। 

त्यसपछि उनले आन्टीसँग नागरिकता बनाइ मागिन्।

‘वडा कार्यालय जाऊ, कागज माग। तिमीलाई नागरिकता भर्ने कागज दिन्छ। भरेर लिएर आऊ। अनि अंकलले बनाइदिनुहुन्छ,’ आन्टीले भनिन्। 

उनले आन्टीले भनेबमोजिम गरिन्। अंकल सरकारी जागिरे थिए। 

‘म रिटाएर हुँदैछु। हुनेबित्तिकै केही समयपछि बनाइदिन्छु है,’ अंकलले टारे।

रीताको एसएलसी र प्लस टुको सर्टिफिकेटमा बाको नाममा अंकलकै नाम छ। अंकल रिटाएर पनि भए। फेरि आग्रह गरिन्। तर उनीहरूले बनाइदिन्छु भनेर टारिरहे, बनाइदिएनन्। 

रीताको मन खिन्न भयो। चित्त दुखेपछि उनी आमासँग गएर बस्न थालिन्। दोस्रो विवाह भएकी आमाको श्रीमान् पनि बितिसकेका थिए।
 
‘विस्तारै म अंकल आन्टीसँग छुट्टिएँ। उता आमा एक्लै हुनुभयो र म उहाँसँग बस्न थालेँ,’ रीता सुनाउँछिन्। 

सुरुमा छोरी बनाएर राखेका अंकल–आन्टी नागरिकताको विषय आएपछि टाढिन थाले। जति पटक अंकल–आन्टीको दैलोमा जान्थिन्, उति पटक उनी रोएर फर्किन्थिन्। 

‘जब ०७२ को भूकम्प आयो, त्यसपछि उहाँहरूले भन्नुभयो– हामी दिँदैनौँ,’ रीताले सुनाइन्।

त्यसपछि भएको आशा पनि रित्तियो।

कतैबाट पनि पाइनन् नागरिकता
रीताको बाको नामबाट नागरिकता बनाउने सम्भावना समाप्त भयो। सानैमा छाडेर गएका बा कहाँ छन्, थाहा छैन उनलाई। त्यसपछि सर्टिफिकेटमा नाम दिने उनका अंकलबाट पनि नागरिकता बन्ने भएन। दोस्रो विवाह गरेका आमाका श्रीमानको नामबाट पनि सम्भव थिएन। 

‘उहाँहरू गुरुङ हुनुहुन्थ्यो। मेरो सर्टिफिकेटमा श्रेष्ठ थियो। उहाँको बाट पनि सम्भव थिएन,’ उनी भन्छिन्।  

आमाको नामबाट बनाउन पनि उनले प्रयत्न गरिन्। तर, विभिन्न कारण देखाएर अहिलेसम्म सम्भव हुन सकेन। 

‘मैले नधाएको संस्था छैन होला, प्रयास गर्न केही बाँकी छैन। म नेपाली हुँ। आमा नेपाली हो। तर म किन अनागरिक?’ उनको प्रश्न छ। 

न जागिर, न बैंक खाता
रीताको सपना थियो– धेरै पढ्ने र नामको अगाडि डा. झुण्ड्याउने। तर नागरिकताकै कारण उनी सपनाकाे मुकामसम्म पुग्न सकिनन्। उनले आजसम्म सोचेजस्तो जागिर पनि खान पाइनन्। कारण, उही नागरिकता!

‘जागिरका लागि त नागरिकता चाहिन्छ। बैंक खाता चाहिन्छ। जहाँ पनि कागजपत्र नै माग्छ। कागजपत्र नै मसँग नभएपछि जागिर खान नि पाइनँ,’ उनी दुःखेसो पोख्छिन्।  

रीता आमासँग बस्न थालेपछि उनलाई आर्थिक रुपले सघाउन खोजिन्। सुरुमा फाइनान्समा काम गर्न थालिन्। जहाँको तलब मासिक २५ सय थियो। त्यो केही समयपछि बन्द भयो। त्यसपछि पसलमा काम गरिन्, त्यहाँ ३५ सय पाउँथिन्। त्यो पनि कारणवश बन्द भयो। सधैँ दुईचार हजारले धानिने थिएन। अरु कामका लागि उनी धेरै ठाउँ डुलिन्, तर सधैँ निराश भएर फर्कनुपर्दथ्यो। 

‘सबै कुरा मिल्थ्यो, पछि नागरिकतामै गएर कुरा अड्किन्थ्यो,’ उनी भन्छिन्। 

उनले नृत्य सिकेकी थिइन्। एकपटक नृत्यकै लागि उनलाई बेलायत जाने अफर आयो। तर, नागरिकता नभएका कारण जान पाइनन्।

उनीसँग पैसा थिएन, अभावले गाँजेको थियो। उनले बागमती सफाइ अभियानमा मजदुर मागेको थाहा पाइन्। बागमती सरसफाइ अभियान भर्खरै सुरु भएको थियो। 

त्यहाँ उनी तीन दिन लगातार लाइन बसिन्। हरेक दिन बाहिर कुरेर मात्र बस्नुपर्थ्यो। भित्र बैठक भइरहन्थ्यो। बोलाउँछन् कि भन्ने आशले दिनभर बस्थिन्। तर तीन दिन भइसक्यो, बोलाउने सुरसार पाइनन्। अति भएपछि उनी भित्र गइन् र भनिन्, ‘सर म काम चाहिएर आएको हो। काम दिन मिल्छ भने दिनुस्, छैन भने छैन भइदिनुस्। यसरी कुराएर नराख्नुस्।’

त्यसपछि उनीहरूले नागरिकता मागे। उनीसँग थिएन। उनीहरु जंगिए, ‘तँ ठूलो ठूलो कुरा गर्ने, नागरिकता नभएको मान्छेले सरकारी काम गर्ने कसरी सोचिस्?’

सबैका सामु त्यो अपमान सहन उनलाई कठिन भयो। रीता रुँदै घर फर्किइन् त्यसदिन। 

अहिले रीताले आमाको नाममा एउटा फर्म दर्ता गरेकी छन्। सोही फर्ममार्फत काम गरिरहेकी छन्। 

‘तर हरेक काममा कागजी प्रक्रियाले झन्झटिलो बनाइरहेको छ,’ उनी सुनाउँछिन्। 

यति मात्र हैन राज्यले दिने हरेक सुविधाबाट बञ्चित छिन् उनी। कोभिड–१९ को खोप पनि नागरिकता नभएकै कारण पाउन सकेकी छैनन् उनले। उनी स्कुटर चलाउँछिन्। लाइसेन्स छैन। हरेक पटक घरबाहिर निस्किँदा ट्राफिकको डरले उनको पिछा गरिरहेको हुन्छ।

केही गर्छु भन्ने सपना र जाँगर हुँदाहुँदै पनि रीता निराश छिन्। एउटा सानो कागजको टुक्रो नहुँदा पाइलैपिच्छे उनलाई ठेस लाग्ने गरेको छ। 

‘आफ्नै देशमा अनागरिक भएर बाँच्नु साह्रै पीडादायी हुने रहेछ,’ रीता सुस्केरा काढ्छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .