नेपाल प्रहरीका विभिन्न पदका लागि लिइएको परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी भेटिएको छ।
डोटी, मोरङलगायतका जिल्लामा सञ्चालित प्रहरीको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका हुन्।
डोटीमा प्राविधिक प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा बझाङ सुर्मा गाउँपालिका–३ का २० वर्षीय करन बिसीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ।
सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्राविधिक प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा बिसीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई आवश्यक कारवाहीका जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको उक्त तालिम केन्द्रले जनाएको छ।
यसअघि पनि डोटीमै यही साउन १६ गते जनपदतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा कृष्णपुर नगरपालिका–४ बस्ने २३ वर्षीय नरेन्द्र बहादुर धामीलाई प्रहरीले पक्राउ गरेको थियो।
सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा धामीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको थियो।
त्यस्तै साउन २१ गते पनि मोरङबाट नक्कली परीक्षार्थीसहित ६ जना पक्राउ परेका थिए।
१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
भोजपुर पौवादुङ्मा गाउँपालिका-६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय सरोज राई, २७ वर्षीय राज कुमार राई र धनकुटा शहिदभूमि गाउँपालिका-३ बस्ने २१ वर्षीय खपाङ राई पक्राउ परेका थिए।
प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि संगम राईबाट नगद १ लाख १८ हजार रपैयाँ, सागर राईबाट नगद १ लाख १८ हजार रुपैयाँ र सरोज राईबाट नगद २ लाख रुपैयाँ लिएको खुल्न आएको प्रहरीले जनाएको छ।
उक्त कार्यमा संलग्न ६ जनालाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरले पक्राउ गरेको थियो।
उनीहरुउपर शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद लिई थप अनुसन्धान कारबाहीको प्रक्रिया अघि बढाएको छ।
Shares

प्रतिक्रिया