राष्ट्रियसभामा नेकपा एमालेका सदस्य वामदेव गौतमले जमिन व्यक्तिको नाममा दिएर गल्ती भएको बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकमा बोल्ने क्रममा एमाले उपाध्यक्षसमेत रहेका गौतमले यस्तो बताएका हुन्।
'अब भूमि टुक्राउने काम बन्द गरौँ। भूमिहीनले जमिन पाएर मात्रै समाधान हुँदैन अहिलेको समस्या। कृषि भूमि जम्मा २६ लाख हेक्टर छ अहिले नै त्यो भूमि टुक्रिएर चार करोड टुक्रा भएको छ', गौतमले भने, 'यसअघिको भूमि आयोग विघटन गरेर सरकारले भूमिहीन सुकुम्बासी आयोग बनाउने भनेको छ। अहिलेसम्म ११ पटकभन्दा धेरै आयोग गठन भइसकेको छ। विघटित भएको भूमि आयोग पनि पहिले एउटा नाम थियो। सर्वोच्चमा मुद्दा परेकाले अर्को नाम बनाइएको हो तर काम उही हो। यसको अनुसन्धानमा १६ लाख भूमिहीन सुकुम्बासीले निवेदन दिएका छन्। आयोगले ५ कठ्ठा दिने भनेको छ। तर यो व्यवहारिक हुँदैन।'
गौतमले भूमिहीन, सुकुम्बासीलाई दिने भनिएको चार लाख हेक्टर जमिन निकाल्नै मुस्किल पर्ने उनले बताए। 'चार लाख हेक्टर जमिन कहाँबाट आउँछ? हाम्रो जंगल फँडानी गर्ने अतिक्रमण गर्नेभन्दा उपाय छैन', उनले थपे, 'आम रुपमा भूमि सुधार लागु गर्न, सामाजिक न्याय स्थापित गर्न दलितसहित पछाडि पारिएका विभिन्न जातिलाई आवास देऊ, रोजगारी देऊ। रोजगारी दिन नसकिए जमिन देऊ। जमिन नभए रोजगारी देऊ।'
उनले नेपालले संविधानको भावना अनुरुप चल्न नसकेको बताए। 'हामीसँग त्यति जमिन छँदा पनि छैन। २०५१ सालमा बनाएको आयोगले २ लाख भूमिहीनलाई जग्गा दिएको थियो। तर कांग्रेसको सरकारले खोसिदियो', उनले भने, '२८ वर्षको अवधिमा समस्या समाधान गर्छौँ भनेका आयोगले समाधान दिन सकेनन्। एउटा भूमि आयोग विघटन भएकोमा आन्दोलन भइरहेको छ। अब अर्को आयोग बनाउन जोड भइरहेको छ।'
गौतमले जमिनमाथिको व्यक्तिगत स्वामित्व नहटेसम्म समस्या झन् बढ्ने बताए। 'जमिनमाथिको व्यक्तिगत स्वामित्व जहिलेसम्म कायम हुन्छ, तहिलेसम्म एकथरी मानिस त्यसलाई उपयोग गरेर झन् धनी हुने अरु झन् झन् गरिब हुँदै जाने हुन्छ', गौतमले भने, 'यदि सरकारले आँट गर्ने हो भने सबै जमिन चलन चल्तीको मूल्यमा क्षतिपूर्ति दिएर, किनेर आफ्नो बनाउनुपर्छ।'
उनले व्यक्तिगत सम्पत्ति सरकारले लिन सक्ने बताए। 'मौलिक अधिकारका रुपमा रहेको व्यक्तिगत सम्पत्ति सबै सरकारले लिन सक्दैन। तर अधिग्रहण गरेर सरकारले लिन पाउँछ', उनले थपे, 'हाम्रो जमिन व्यक्तिगत स्वामित्वमा गयो। त्यसलाई कसरी सरकारले ल्याउने हो अब सोच्न ढिला हुँदैछ।'
उनले पाँच कठ्ठा जमिन दिएर सुकुम्बासी समस्या नहट्ने बताए। 'पाँच कठ्ठा जमिन दिएर समस्या समाधान हुँदैन। अर्को वर्ष त्यही व्यक्तिलाई हेर्नुभयो भने त्यो जमिनमध्ये आधाले बेचेर अर्को काम गर्छन्। अनि फेरि सुकुम्बासी हुन्छन्', उनले भने, 'हामीसँग भएको सम्पत्तिलाई सदुपयोग गर्न लागौँ। हामीसँग २६ लाख हेक्टर जमिन किन्न ४ सय खर्ब लाग्छ भने सरकरले त्यसको बैंक ग्यारेन्टी गरिदिन्छ।'
उनले सबै जमिनलाई कृषि प्रयोजनमा लगाउन पनि आग्रह गरे। 'जमिनलाई ठूला कृषि फार्ममा परिणत गरौँ। योजनाबद्धरुपमा उत्पादन बढाऊँ', उनले भने, 'यसले एउटा त जमिन सरकारको स्वामित्वमा आउँछ अर्को उनीहरुले औद्योगीकरण गर्छन्। त्यसले देशमा ठूला ठूला विकासका महाअभियान चलाउन सक्छौँ।'
गौतमले जमिन व्यक्तिको नाममा दिने प्रणाली नै गलत भएको बताए। 'हामीले जमिनलाई व्यक्तिगत स्वामित्वमा दिएर गल्ती गरौँ, अब सबै जमिन व्यक्तिबाट सरकारले लिनुपर्छ', उनले थपे, 'जमिन व्यक्तिगत स्वामित्वमा राखिरहने यस्तो गलत बाटोबाट अब हामी निस्किनुपर्छ', उनले थपे, 'हामीसँग भएको सम्पत्ति सदुपयोग गर्ने बाटोमा जाऊँ। सबैको निजी सम्पत्ति सरकारले लिने काम अघि बढाऊँ।'
Shares

प्रतिक्रिया