दार्चुलाको व्याँस गाउँपालिका–२ माल गाउँका ३३ वर्षीय जयसिंह धामी रोजगारीका लागि विदेश जाने तयारीमा थिए। त्यसको शिलशिलामा उनी शुक्रवार बिहान सदरमुकाम खलंगा आए। स्थानीयका अनुसार मालगाउँँबाट नेपालको बाटो हुदै खलंगा आउँदा झण्डै दुई दिन लाग्छ। तर भारतीय बाटो प्रयोग ग¥यो भने दुई घण्टामै खलंगा पुगिन्छ।
भारततिरको बाटोमा गाडीको सुविधा भएकाले नेपालीहरु त्यही बाटो हुँदै खलंगा आवातजावत गर्दछन्। खलंगा जान शुक्रवार बिहान जयसिंहसँग गाउँकै ६/७ जना मानिस आएका थिए।
माल घाटबाट तुइनको सहायताले भारततर्फ जाने गर्दछन्, उनीहरु। यद्यपि विदेश जाने योजनासहित काठमाडौँ हिँडेका धामी गन्तव्यमा पुग्न सकेनन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनी चढेको तुइन काटिदिँदा महाकाली खसेर बेपत्ता भएका छन्।
‘६/७ जना मिलेर भारतको बाटो हुदै खलंगा जाँदै थिए। तीमध्ये ३ जना पारि पुगेका थिए,’ प्रत्यक्षदर्शी शेरसिंह धामीले नेपालखबर भने, ‘जयसिंह भारततिर पुग्नै लाग्दा एक्कासि एसएसबीले तुइन काटिदिए। त्यसपछि महाकाली नदीमा खसेर उनी बेपत्ता भएका छन्।’
महाकालीमा बेपत्ता धामीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।
‘सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली टोली खोजी जुटेको छ। एसएसबीले तुइन काटेको कुरा आएको छ। तर त्यसो नगरेको पनि हुनसक्छ,’ उनले भने, ‘हाम्रो टोली त्यहाँ पुगेकाले थप कुरा अनुसन्धानपछि विस्तृत विवरण आउला।’
एसएसबीले तुइन काटेर नेपाली नागरिकलाई महाकाली नदीमा खसालेको पुष्टि व्याँस गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्र सिंह बुढाथोकीले बताए। एसएसबीले त्यस क्षेत्रबाट आवातजावत गर्दा विभिन्न बहानामा दुःख दिने गरेको नेपालीहरुको गुनासो छ।
नेपाली माल गाउँ र भारतको पिथौरागढ जिल्लाको गुस्कु घाट जोड्ने महाकालीमाथिको झोलुङ्गे पुल अलपत्र छ। संघीय सरकारको लगानीमा निर्माण भइरहेको पुल तीन वर्षदेखि अलपत्र रहेको वडाध्यक्ष बुढाथोकीले बताए। पुल नहुँदा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छन् नेपाली।
त्यही क्षेत्रमा आवातजावत गर्ने क्रममा दुर्घटनामा परेर अहिलेसम्म २१ जनाको ज्यान गएको वडाध्यक्ष बुढाथोकी बताउँछन्। महाकालीमा पानीको बहाव बढी भएकाले धामी सकुशल भेटिने सम्भावना न्यून छ। उनका दुई जना साना छोरा छन्।
Shares

प्रतिक्रिया