समाज


कुर्मी हत्याका सुटर पक्राउ

कुर्मी हत्याका सुटर पक्राउ

प्रकाश न्यौपाने
असोज ३०, २०७६ बिहिबार १४:२३,

ओमसतिया गाउँपालिका–५, पट्खौलीका ४२ वर्षीया महेन्द्रप्रसाद कुर्मीको हत्यामा संलग्न सुटरलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। भारत उत्तर प्रदेश गोरखपुर जिल्ला कम्पियरगंज, मछरी गाउँका ४० वर्षीया मनिष हरिजन (चमार)लाई प्रहरीले पक्राउ गरेको हो। बुधबार साँझ नेपाल–भारत सीमा क्षेत्रबाट हरिजनलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हेमकुमार थापाले जानकारी दिए। पक्राउ परेका हरिजनलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

‘घटनामा संलग्न मुख्य सुटर नै हरिजन हुन्। हामीलाई भारतीय नागरिक भएकाले लामो समय अनुसन्धान गर्न लाग्यो। अन्ततः एक जना भए पनि पक्राउ गर्न सफल भयौं’, थापाले भने। लु९प ८२३५ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदैगर्दा कुर्मीको रोहिणी गाउँपालिका–३ स्थित रोहिणी खोला नजिक बैकुण्ठपुर, हुलाकी सडकखण्डमा भदौ २९ गते गोली हानी हत्या भएको थियो। भैरहवामास्थित हिमालय बैंकबाट पाँच लाख रुपैयाँ निकालेर श्रीमती र छोरासहित घरतर्फ जाँदै गर्दा हरिजनसहित मोटरसाइकलमा गएका दुई जनाको समूहले कुर्मीको हत्या गरी पाँच लाख रुपैयाँ लुटेका थिए।

‘घटनामा ३ जना संलग्न भए पनि मुख्य सुटरमात्रै पक्राउ गर्न सफल भएका छौँ। अन्य दुई जनाको खोजी भइरहेको छ। भारततर्फ नै लुकीछिपी बसेकाले पक्राउ गर्न केही कठिनाई परेको छ। यद्यपि हामीले भारतीय सहकर्मी प्रहरीसँग समन्वय गरेर हाम्रो एउटा विशेष टोली नै खटाएका छौँ। यति नै समयमा पक्राउ गर्छौ भन्न नसकिए तापनि उनीहरु पनि कानूनी दायरामा आउँछन्’, प्रहरी उपरीक्षक थापाले भने। प्रहरीले फरार दुई जनाको नाम भने गोप्य राखेको छ। फरार दुबैजना भारतीय नागरिक भएको एसपी थापाले बताए। हरिजनलाई युपी ५३ डीबी ९९८३ नम्बरको कालो पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हरिजन समूहले कुर्मीलाई हत्या गर्ने उद्देश्यले पिछा नगरी उनको साथमा रहेको पाँचलाख रुपैयाँ लुट्नका लागि पिछा गरे पनि पैसा बोकेको झोला माग्दा नदिँदा तर्साउन हानेको गोली कुर्मीको मुटुमा लाग्दा मुत्यु भएको प्रहरीले जनाएको छ। ‘उक्त समूहले नेपालका विभिन्न बैंकहरुमा प्रवेश गर्ने अनि कसले धैरै पैसा निकाल्छ र कुन सोझो मानिस छ भन्ने विश्लेषण गरेर पैसा लुट्ने योजना गराएको देखिन्छ’, थापाले भने, ‘त्यसदिन (कुर्मी हत्या हुँदा) श्रीमती र बच्चा पनि भएको र सबैभन्दा बढी पैसा कुर्मीले बोकेर जान लागेको पत्ता पाएपछि उनीहरुले पिछा गर्दै गए। पटक–पटक पैसा बोकेको झोला माग्दा नदिएपछि तर्साउन हानेको गोली कुर्मीलाई लाग्यो र उनको हत्या भएको अनुसन्धानमा देखिन्छ।’

कुर्मी हत्याका दिन दुईवटा मोटरसाइकलमा आएका हरिजनसहितको समूहले भैरहवास्थित सानिमा बैंक र हिमालयन बैंकमा पैसा निकाल्न आएका नागरिकको निगरानी गरेको पाइएको प्रहरी जनाएको छ। ‘उनीहरुले दुईवटा बैंकमा पैसा निकाल्न आएका नागरिकको निगरानी गरेको देखिन्छ। निगरानीकै क्रममा कुर्मीलाई लुटपाट गर्न सजिलो भएपछि उनीहरुले हत्या गरी लुटेका हुन्’, थापाले भने। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट गठित दुईवटा अनुसन्धान टोलीको लामो समयको प्रयासपछि हरिजनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न हरिजन समूहले भैरहवास्थित एक पसलबाट भारतीय एक नागरिकको आधार कार्ड देखाएर एनसेलको सिमकार्ड समेत कुर्मी हत्याका दिन लिएको प्रहरी अनुसन्धानले देखाएको छ।

हरिजन समूहले भारतमा पनि विभिन्न लुटपाटका घटना गर्दै आएका थिए। ‘उनीहरुले नेपालमा मात्रै लुटपाट र हत्याहिंसा गरेका छैनन्। भारतमा पनि यस्तै किसिमका कार्य गरेको अनुसन्धानबाट देखिन्छ’, उनले भने, ‘यसैले हरिजन समूहको विगत नै लुटपाटमा संलग्न देखिन्छ। भारतमा पनि बैंकहरुमा पैसा निकालेर घरतर्फ जाँदै गरेका धेरै नागरिकलाई उनीहरुले लुटेका छन्।’ प्रहरीले लामो अनुसन्धान पछि मात्रै सुटरलाई पक्राउ गर्न सफल भएको जनाएको छ। सीसीटीभी फुटेजको सहायता र करिब २० हजार मोबाइल नम्बरको विश्लेषण गरेपश्चात् चमारलाई पक्राउ गर्न सफल भएको प्रहरी जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad