‘अलकति डर र नर्भसनेस देखियो। गेम शुरु भएदेखि अप्ठारो अप्ठारो अनुभव भइरहेको थियो। मैले त्यस्तो फिल नगर्नुपर्ने हो तर भित्री रुपमा मलाई डर डर जस्तो अनुभव भइरहेको थियो।’
क्वाट क्विन्स काठमाडौंकी कप्तान रुविना क्षेत्रीले एकदिन अघि बुधबार काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिग(डब्लुसिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पराजित भएपछि दिएको प्रतिक्रिया हो यो।
उपाधि दाबेदार मानिएको उनको टिम चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। त्यसको मुख्य कारणलाई उनले आफूमा गुमेको आत्मविश्वासलाई मानेकी थिइन्।
पहिलोपटक नेपालमा बुधबारबाट महिलाको व्यवसायिक फ्रेन्चाइजी लिग क्रिकेट प्रतियोगिता शुरु भएको थियो। राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान समेत रहेकी रुविनाको टोलीको उद्घाट खेल इन्दु बर्मा नेतृत्वको चितवन राइनोजविरुद्ध थियो। पहिलो पटक होर्डिङ बोर्डहरुले झकिझकाउ मैदानमा घरेलु महिला क्रिकेटकै ठूलो प्रतियोगिता खेल्न मैदान उत्रेपछि उनको मनमा नयाँ खेलाडी झै डर पलाएको थियो।
यो पनि: रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार
त्यसमाथि पहिलोपटक टेलिभिजनमा आफूहरुको खेल प्रत्यक्ष देशैभरिका हेरिने भएपछि के होला कसो होला? भन्ने कुराले नर्भसनेस ल्याएको थियो। त्यसले कताकता मनमा डर पलायो। आत्मविश्वास घटायो। त्यसको प्रत्यक्ष असर प्रदर्शनमा पर्यो। उनको ब्याटिङ र बलिङ दुबै चलेन। एक रनमात्रै जोड्न सकेकी उनी बलिङमा पनि सबैभन्दा महँगो बनिन। ३.३ ओभरमा प्रतिओभर ९.१४ को औषतमा उनले ३२ रन खर्चिइन।

लगत्तै दोस्रो दिन बिहीबार राष्ट्रिय टोलीकी उपकप्तान सिता रानामगरको टोली पोखरा पल्टनविरुद्ध खेल्दा भने रुविना आत्मविश्वासी भएर प्रस्तुत भइन। उनको प्रदर्शनले पनि त्यही पुष्टि गर्यो। पोखराविरुद्ध ८२ रनको फराकिलो जित हात पार्दा उनी नेपाली महिला फ्रेन्चाइजी क्रिकेटमै इतिहासमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बनिन।
‘यत्रोवर्ष कप्तानको रुपमा मैले देशकै टोलीको नेतृत्व गर्दा पनि पहिलोपटक यस्तो प्रतियोगिता खेलिरहेकाले होला हिजो म नर्भस थिए। आफूमा देखिएको नर्भसनेस र त्यसले बिग्रिएको प्रदर्शनका कारण निन्द्रै लागेको थिएन,’ रुविनाले बिहीबारको खेलपछि भनिन्, ‘कप्तान भएपछि ममा जिम्मेवारी बढी हुन्छ। टिमले मलाई सम्मान दिएको र विश्वास गरेको छ भने त्यसलाई मैले मेन्टन गर्नुपर्छ। आज मेरो एउटै सोचाई ‘म सक्छु र म गर्छु’ भन्ने थियो। एकदम सकरात्मक माइन्ड सेटअपले मैदान प्रवेश गरेकोले होला त्यसले नतिजा पनि दियो।’
अघिल्लो दिन पराजय पछि टिम मिटिङमा पनि अब कसरी बढ्ने छलफल भएको थियो। त्यसैमा टिम सञ्चालक दीपा अग्रवाल आएर आधा घण्टा जति टोलीसँग विताएकी थिइन। हारेपनि टोलीको हौसला बढाईन।
‘सञ्चालक म्यामले नै आधा घण्टा समय दिएर निराश नहुनु भनेर मोटिभेसन दिनुभयो। टिम मिटिङमा पनि पुनरागमन गर्नुपर्छ भनेर योजना बनेको थियो। त्यसले पनि आज अझै बुस्ट गरेर हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सक्यौं,’ रुविनाले भनिन्।
कप्तानी पारी
प्रतियोगिताअघि प्रि–म्याच कन्फ्रेन्समा रुविनाले भनेकी थिइन्, ‘घमण्ड गरेर भनेको हैन तर अरु टिमभन्दा हाम्रो टोली बलियो छ। हामी उपाधिका दाबेदार हौं।’
तर, रुविनाको भनाईलाई टोलीको पहिलो दिनको प्रदर्शनले भने न्याय गरेन। पराजित भएपनि रुविनाले अर्को खेलमा आफूहरु बलियो रुपमा कमब्याक गर्ने बताएकी थिइन।
दोस्रो दिन भने रुविनाको भनाई र टोलीको गराई मेल खायो। पोखरामाथि ८२ रनको जित हात पार्दै काठमाडौंले शानदार पुनरागम गर्याे। काठमाडौंलाई जिताउन रुविनाले ८३ रनको कप्तानी पारी खेलिन। रोमा थापा र इश्वरी विष्टसँग दुईवटा अर्धशतकीय साझेदारी गरेकी यी कप्तानले १४ चौका र २ छक्का प्रहार गरिन्।
‘धेरै खुशी त छैन। मैले अझै धेरै गर्नुपर्छ,’ भर्खरैमात्रै एंकल इञ्जुरीबाट फर्किएकी रुविनाले आफ्नो प्रदर्शनबारे भनिन्, ‘एउटा उत्कृष्ट इनिङ्स खेलेको दिन मध्येको एउटा आज हो। म यसलाई अझै अघि बढाउने कोसिस गर्नेछु।’ सागको प्रशिक्षणका क्रममा उनको खुट्टाको एंकलमा चोट लागेको थियो। एकमहिना पछि त्यसबाट पूर्ण निको हुँल्र उनी यसै प्रतियोगितामार्फत मैदान उत्रिएकी थिइन।
भाग्यमानी रुविना
इनिङ्स समाप्तीपछि क्रिजबाट फर्कदै रुविना
दुवै ओपनरहरु २२ रनमा पवेलियन फर्किएपछि काठमाडौंलाई अघि बढाउने जिम्मा कप्तान रुविना क्षेत्रीकै काँधमा आएको थियो। शुरुमा उनले एकातर्फको विकेट सम्हाल्दै अर्कातर्फ रोमालाई खुलेर खेल्न दिइन। रोमा पवेलिन फर्केपछि भने आक्रामक रुप लिइन्।
दुबैले तेस्रो विकेटका लािग ४९ रनको साझेदारी गरेपछि खेलमा एउटा ट्रविस्ट आयो। पोखराकी कप्तान सिता रानामगरले गरेको दशौं ओभरको तेस्रो बलमा रुविनालाई विकेटकिपर मञ्जु बोकटीले स्टम्पिङ गरिन्।
जोडदार अपिलपछि अनफिल्ड अम्पायरले रिभ्युका लागि टिभी अम्पायरलाई रिफर गरे। निकै क्लोज भएकाले टिभी अम्पायरले केही समय लगायर रुविनाको विपक्षमा निर्णय सुनाए। अम्पायरले औला ठडाएपछि रुविना निराश भएर मैदान बाहिरन मात्रै के आटेकी थिइन्। पुनः अम्पायरले उनलाई रोक्दै नो बलको सिंग्नल देखाए। रुविना भाग्यमानी रहिन्।
त्यसलगत्तैे लगातार दुई बलमा दुई चौका प्रहार गर्दै रुविनाले आफ्नो जीवनदानको खुब सदुपयोग गरिन। तर, अर्को ओभरको अन्तिम बलमा अनुराधा चौधरीको बलमा रोमा थापाको ब्याटको टप एज लाग्दै विकेटकिपर मञ्जुको हातमा बल गयो। त्योसँगै उनीहरु बीचको ६४ रनको साझेदारी टुट्यो।
त्यतिञ्जेल काठमाडौं ११ ओभरमा ८६–३ को मजबुदस्थितिमा पुगिसकेको थियो। त्यसपछि रुविनाले हात खुलाइन। तर, क्रिजको अर्कोपट्टी भने लगातार तीन विकेट गए। उनीमाथि झनै इनिङ्स अघि बढाउने दबाब बढ्यो। १७औं ओभरको पहिलो बलमा कविता कुँवरको बलमा थर्ड वुमनको क्षेत्रमा दर्शनीय चौका प्रहार गर्दै उत्कृष्ट ढंगबाट ५० रन पुरा गरेपछि उनमा आत्मविश्वास अझै बढ्यो।

कविताको उक्त बल नो बल थियो। पुनः दोहोर्याइएको उक्त बलको पनि रुविनाले भरपुर फाइदा उठाइन्। पुल गर्दै फाइन लेगतर्फ अर्को चौका बर्साउँदै इनिङ्स अघि बढाइन। छैटौं विकेटका लागि इश्वरी विष्टसँग ६१ रनको साझेदारी गर्दा उनले हरेक ओभरमा बाउन्ड्री हिर्काएकी थिइन। त्यसले काठमाडौंलाई डेढ सय पारको स्कोरमा पुर्यायो। र रुविनाले भने झै काठमाडौंले पोखरालाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो पुनरागमन गर्याे।
Shares

प्रतिक्रिया