ad ad

समाज


घण्टौँ लाइन बसेर खोप नपाउँदाको सास्ती (भिडिओ)

घण्टौँ लाइन बसेर खोप नपाउँदाको सास्ती (भिडिओ)

यज्ञराज जोशी
साउन १, २०७८ शुक्रबार २०:१,

शुक्रबार दिउँसो १ बजे थापाथलीस्थित परोपकार प्रसूति तथा महिला रोग अस्पतालको खोप केन्द्रमा खोप लगाउने कार्यक्रम स्थगित भइसकेको थियो। 

घण्टौँ लाइन लागेकालाई खोप सकिएको भन्दै रित्तै हात फर्काउन थालिएपछि लाइन लागेका मानिसहरू आक्रोशित देखिन्थे। 

आक्रोश नहुने कुरा पनि भएन। खोपकै लागि उनीहरु तीन घण्टा लाइनमा उभिएका थिए। तर अन्तिममा त्यसै फर्किनुपर्थ्यो।

तिनै लाइनमा बस्नेमध्ये एक थिए काठमाडौंका रितेश विष्ट। 

‘हामी तीन घण्टा लाइन बस्यौँ, पहिले नै टोकन यति छ त भन्नुपर्छ नि!’, रितेशले आक्रोशित हुँदै भने, ‘त्यतिबेर लाइन बसिसकेपछि टोकन सकियो भन्दै हिँडे।’

उनमा आक्रोश हुनु स्वाभाविक थियो। खोपै नभएपछि रितेशजस्ता धेरैलाई लाइनमा उभ्याइनु हुँदैनथ्यो। 

चीनबाट खरिद गरेको ८ लाख डोज खोप ल्याएपछि असार २९ गतेबाट काठमाडौं उपत्यका र देशभरका ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको खोप लगाउन सुरु गरिएको थियो। 

त्यसबाहेक विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूलाई खोपको प्राथमिकतामा राखिएको थियो। 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४४ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको थियो। 

तर खोप केन्द्रहरू अस्तव्यस्त हुँदा नागरिकहरूले घण्टौँ लाइन लागेर पनि खोप लगाउन नपाउने, संक्रमण सार्ने जोखिम देखिएको छ। 

‘लाइनमा मापदण्डै पालना गरिएको छैन। कोरोना खोप लगाउँदा आउँदै उल्टै सर्ने जोखिम छ’, रितेशले भने, ‘खोप केन्द्रहरू अत्यन्तै अव्यवस्थित भए। लगातार दुई दिन आएर लाइन बसेकाहरूलाई पनि खोप छैन भन्दै फर्काइएको छ। जनतालाई खोप लगाउनभन्दा पनि दुःख दिने काम गरेजस्तो भएको छ।’

जताततै अव्यवस्थित केन्द्र
थापाथलीमा मात्र होइन, बानेश्वरस्थित सिभिल अस्पतालको दृश्य पनि उस्तै अव्यवस्थित देखिन्थ्यो। 

अस्पतालमा महिला र पुरुषका लागि बनाइएका लामा लाइन थिए। भौतिक दूरी पालना भएको थिएन। 

घण्टौँ लाइन लाग्नेहरूकै बीचमा चिनजानका आधारमा छिर्नेहरू उस्तै। घुसपैठ हुनथालेपछि लाइनमा घण्टौँ बसेकाहरू आक्रोशित देखिन्थे। 

नागरिकलाई साम्य पार्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको थियो। अर्कोतिर यत्रो लाइन लागेर पनि खोप सकिने हो कि भन्ने चिन्ता अनुहारमा झल्किरहेको थियो। 

‘हामी टोकनका लागि बिहानै ३ बजे आएर लाइन लागेका थियौँ’, लाइनमा भेटिएकी काठमाडौंकी बबिता श्रेष्ठले नेपालखबरसँग भनिन्, ‘बीच–बीचबाट मान्छे छिराइरहेका छन्। लाइन सरेकै छैन। खोपै सकिएर त्यसै फर्किनुपर्ने पो हो कि भन्ने पिर पनि छ।’

‘भौतिक दूरीसहित व्यवस्थित लाइन भइदिएको भए हुन्थ्यो’, उनले थपिन्, ‘खोप लगाउन आएको मान्छे उल्टै कोभिड लिएर जाने भइयो। खोप केन्द्र १÷२ वटा अझै थपेको भए सजिलो हुन्थ्यो।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप केन्द्र व्यवस्थित नभएको गुनासो आफूहरूकहाँ पनि आएको बताए। 

उनले खोप केन्द्र व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा खोप केन्द्र व्यवस्थापन समन्वय समिति बनाइएको बताए। 

‘सोचेभन्दा बढी भीडभाड देखिएपछि व्यवस्थापनमा केही समस्या पक्कै आएको छ’, अधिकारीले भने, ‘ प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा खोप केन्द्र समन्वय समिति नै गठन गरी खोप केन्द्र र खोप व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ। उहाँहरूले सक्दो व्यवस्थापनको प्रयास गरिरहनुभएको छ।’

 

प्रधानमन्त्रीको निर्देशन
यता खोप केन्द्र अव्यवस्थित भएको खबर पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र बढाउन निर्देशन समेत दिएका छन्। 

प्रधानमन्त्री देउवाले आज सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन्। 

खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। 

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कोरोनाविरूद्ध खोप लगाउन पनि उनको आग्रह छ।

खोप अभियान स्थगित
यहीबीच खोप सकिएको भन्दै शुक्रबारदेखि नै अर्को सूचना जारी नभएसम्म काठमाडौंमा जारी खोप अभियान स्थगित गरिएको छ। 

स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको खोप अभियान स्थगन गरिएको जनाएको हो। 

असार २९ गतेदेखि काठमाडौंमा भेरोसेल खोप अभियान सुरु गरिएको थियो। तर काठमाडौंमा हाल मौज्दात खोप समाप्त भएकाले अर्को सूचना नभएसम्मका लागि साउन २ गतेदेखि खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ। 

चीनले थप १६ लाख खोप दिने
यसैबीच, चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

‘उहाँले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९ को थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउनेबारे जानकारी गराउनुभएको छ’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो। नेपाल सरकारले पनि चीनबाट ४० लाख डोज खोप खरिद गरेको छ।

यसअघि अमेरिकाले एक डोज मात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ।

किनेको खोप ६ गतेपछि आउने
कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप लिन साउन ६ गतेदेखि नेपाल वायुसेवा निगमको जहाज नियमित चीन जाने भएको छ। 

चिनियाँ खोप उत्पादक कम्पनीले नेपाललाई खोप दिने तयारी पूरा नगरेकाले आगामी बुधबार मात्रै नेपाल वायुसेवा निगमको वाइडबडी त्यसतर्फ जाने भएको हो। 

यसअघि असार ३१ गते चीन जाने भनिएको थियो। तर खोप उपलब्ध हुन समय लाग्ने भएपछि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता सारिएको हो। 

निगमका अपरेसन विभाग प्रमुख दीपुराज ज्वारचनले यही साउन ६ देखि तीन उडानमार्फत खोप ल्याइने जानकारी दिए।  

उनका अनुसार चीनसँग खरिद गरिएको खोप लिन साउन ६ गते साँझ जाने जहाज साउन ७ गते बिहान नेपाल आउनेछ। 

यस्तै साउन ७ गते त्यही जहाज चीन जानेछ। साउन ८ गते र साउन ९ गते पनि गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउनेछ। 

चीन सरकारसँग ‘नन डिस्क्लोजर’ सम्झौतानुसार सरकारले ‘भेरोसेल’ खोप किनेर ल्याउन थालेको हो। 

यसअघि असार २५ गते आठ लाख डोज खोप चीनबाट ल्याइएको थियो। सरकारले चीनबाट ल्याएर नियमित खोप अभियान चलाइरहेको छ।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .