ad ad

समाज


चीनबाट खोप ल्याउन साउन ६ देखि नेवानिको जहाज जाने

को-भ्याक्स सुविधामार्फत आउँदै खोप
चीनबाट खोप ल्याउन साउन ६ देखि नेवानिको जहाज जाने

नेपालखबर
साउन १, २०७८ शुक्रबार १३:९,

कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप लिन साउन ६ गतेदेखि नेपाल वायुसेवा निगमको जहाज नियमित चीन जाने भएको छ। चिनियाँ खोप उत्पादक कम्पनीले नेपाललाई खोप दिने तयारी पूरा नगरेकाले आगामी बुधबार मात्रै नेपाल वायुसेवा निगमको वाइडबडी त्यसतर्फ जाने भएको हो। 

यसअघि असार ३१ गते चीन जाने भनिएको थियो। तर खोप उपलब्ध हुन समय लाग्ने भएपछि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता सारिएको हो । 

निगमका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले यही साउन ६ देखि तीन उडानमार्फत खोप ल्याइने जानकारी दिए ।  उनका अनुसार चीनसँग खरिद गरिएको खोप लिन साउन ६ साँझ जाने जहाज साउन ७ गते बिहान नेपाल आउने छ । 

यस्तै साउन ७ गते त्यही जहाज चीन जानेछ। साउन ८ गते र साउन ९ गते पनि गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ। चीन सरकारसँग 'नन डिस्क्लोजर' सम्झौतानुसार सरकारले ‘भेरोसेल’ खोप किनेर ल्याउन थालेको हो । यसअघि असार २५ गते आठ लाख डोज खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट ल्याएर नियमित खोप अभियान चलाइरहेको छ।

कहाँबाट कति आउँदैछ?

यसैगरी सरकारले खरिदबाहेक को-भ्याक्स सुविधामार्फत पनि खोप ल्याइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप को-भ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। त्यही अनुसार खोप आइरहेको उनले जानकारी दिए।  

सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सन खोप को-भ्याक्स सुविधाअन्तर्गत अनुदान ल्याइसकेको छ। यसअघि को-भ्याक्स सुविधामार्फत ३ लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो । 

यस्तै जापान सरकारले को-भ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख डोज नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ। नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप आइसकेको छ । 

यसो भन्छन् सरकारी अधिकारी

स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक शर्मा गौतमले को-भ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए। को-भ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो। सरकारले चीन र अमेरिकाले उपलब्ध गराएको खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाइरहेको छ । 

असार २९ देखि यही साउन २ गतेसम्म मुलुकभर खोप लगाउन थालिएको हो । भेरोसेल ५५ वर्ष र त्यसमाथिको उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइँदैछ । 

सरकारले १८ वर्षमाथिका दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने योजना बनाएको छ। नेपालमा अहिलेसम्म पहिलो मात्रा २६ लाख २१ हजार ४७६ र दोस्रो मात्रा ११ लाख आठ हजार ८६८ ले लगाइसकेका छन् । हालसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ । कोभिशिल्ड पहिलो डोज लगाउनेले अझै पनि दोस्रो डोज लगाउन पाएका छैनन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .