कोशी


प्रदेश १ का सांसदको तलब सुविधा केन्द्रको भन्दा बढी!

प्रदेश १ का सांसदको तलब सुविधा केन्द्रको भन्दा बढी!

तस्बिर : ध्रुब भट्टराई/नेपालखबर


ध्रुव भट्टराई
पुस १७, २०७९ आइतबार १०:१५, विराटनगर

प्रदेश १ का प्रदेश सभा सदस्यहरुले संघीय सांसदको भन्दा बढी पारिश्रमिक र सुविधा पाउने भएका छन्।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ ऐनमा भएको व्यवस्था बमोजिम संघीय सांसद भन्दा प्रदेश सभा सदस्यको पारिश्रमिक र सुविधा बढी पाउने छन्।

सो ऐनको प्रदेश मन्त्रिपरिषदद्वारा संशोधित अनुसूची–१ अनुसार प्रदेश सांसदले प्रतिनिधि सभाका सांसद भन्दा फर्निचर वापत प्राप्त गर्ने एकमुष्ट रकममा ५ हजार र आवास सुविधा एक हजार बढी पाउने देखिएको छ। 

प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमीकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन्। त्यस्तै, मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।   

त्यस्तै, आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरुले ९ हजार रुपैयाँ मात्र पाउँछन्। सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुष्ट १५ हजार रुपैयाँ दिइन्छ।

तर, प्रदेश १ का सांसदले फर्निचर बापत २० हजार र विराटनगरदेखि १५ किलोमिटरभित्र उपयुक्त घर नभएकालाई आवास सुविधा वापत मासिक १९ हजार उपलब्ध गराउने व्यवस्था छ।

त्यसैगरी घर भएकालाई वार्षिक एकमुष्ट मर्मत खर्च ६० हजार उपलब्ध गराउने व्यवस्था छ।

प्रदेश सांसदले प्रतिमहिना पारिश्रमिक ५३ हजार १ सय, बैठक भत्ता एक हजार, टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि २ हजार ५ सय, प्रदेशसभा र संसदीय समितिको बैठकमा सहभागी भएका दिन यातायात खर्च २५० रुपैयाँ पाउने व्यवस्था छ।

प्रदेश सांसदहरुलाई सुब्बा सरहका स्वकीय सचिव, बिजुली, धारा महशुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, विदेश भ्रमण गर्दा दैनिक १७५ अमेरिकी डलर र १० लाखको यात्रा बीमाको सुविधा रहेको छ।

सभामुखलाई मासिक पारिश्रमिक ६२ हजार ५४०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ४ हजार, आवास, गाडी, इन्धन १५० लिटर, मोविल १० लिटर, बिजुली, धारा महशुल २ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार ५ सय, फर्निचर, अतिथि सत्कार ७ हजार, स्वकीय सचिव अधिकृत, सुब्बा, सूचना प्रविधिका लागि खरिदार सरह १र१ जना, श्रेणी विहिन प्रथम स्तरका सवारी चालक र कार्यालय र आवास सहयोगी २ जना उपलब्ध गराउने व्यवस्था छ।

विदेश भ्रमण गर्दा दैनिक भत्ता २ सय अमेरिकी डलर र यात्रा बीमाको सुविधा रहेको छ।

उपसभामुखलाई मासिक पारिश्रमिक ५९ हजार, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा, फर्निचर उपलब्ध गराउने र नभए एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोबिल ५ लिटर, बिजुली, धारा महशुल २ हजार, अतिथि सत्कार ५ हजार, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बा सरह, श्रेणी बिहिन प्रथम स्तरका सवारी चालक र कार्यालय सहयोगी १÷१ जना उपलब्ध गराउने व्यवस्था छ।

प्रमुख प्रतिपक्षी दलका नेतालाई मासिक पारिश्रमिक ५९ हजार, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २१ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोविल ५ लिटर, बिजुली, धारा महशुल १ हजार ५ सय, अतिथि सत्कार ५ हजार, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बा सरह, श्रेणीविहीन प्रथम स्तरका सवारी उपलब्ध गराउने व्यवस्था छ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई मासिक पारिश्रमिक ५७ हजार ८२०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १९ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोविल ५ लिटर, बिजुली, धारा महशुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार रुपैयाँ, स्वकीय सचिव सुब्बा सरह, श्रेणीविहीन प्रथम स्तरका सवारी उपलब्ध गराउने व्यवस्था छ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकलाई मासिक पारिश्रमिक ५७ हजार ८२०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १९ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, यातायात खर्च मासिक ७ हजार ५ सय, बिजुली, धारा महशुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बा सरह उपलब्ध गराउने व्यवस्था छ।

उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकले विदेश भ्रमण गर्दा दैनिक भत्ता १७५ अमेरिकी डलर र यात्रा बीमा १९ लाख रुपैयाँको सुविधा रहेको छ। ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन्। 

गएको सोमबार प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले प्रदेश सांसदहरूलाई शपथ ग्रहण गराएका थिए। 

उनीहरुले सपथ ग्रहण गरेकै दिनदेखि पारिश्रमिक तथा सुबिधा पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .