ad ad

कोशी


सुनसरी १ : अशोक राईले चिर्लान् हर्क साम्पाङको धरान क्रेज?

टुंगिएको छैन गठबन्धनमा क्षेत्र बाँडफाँट
सुनसरी १ : अशोक राईले चिर्लान् हर्क साम्पाङको धरान क्रेज?

सुमन पुरी
साउन २७, २०७९ शुक्रबार ८:४०, विराटनगर

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन अयोग र राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन्। अघिल्लो निर्वाचनदेखि स्थानीय तह निर्वाचनसम्मका मतपरिणामलाई आधार बनाएर कुन दल कहाँ अगाडि विश्लेषण सुरू भएका छन्। यसैबीच शीर्ष नेताहरु भने कुन निर्वाचन क्षेत्रबाट कसलाई उम्मेदवार बनाउने भन्नेमा दौडधुप गरिरहेका छन्।

उम्मेदवारका आकांक्षीहरु कसरी टिकट ल्याउने भन्ने ध्याउन्नमा लागेका छन्। निर्वाचनको सरगर्मी बढ्दै जाँदा सुनसरी क्षेत्र नम्बर १ पनि चर्चामा छ।

सुनसरी चर्चामा हुनुका दुई कारण छन्। 

पहिलो कारण हाे धरान उपमहानगरपालिका। यो उपमहानगर लामो समयदेखिको कम्युनिस्टको किल्ला भत्काउँदै स्वतन्त्रबाट निर्वाचित भएका मेयर हर्क साम्पाङका कारण चर्चामा छ।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिन्ह पाएका साम्पाङ २० हजार ८ सय २१ मतले विजयी भएका छन्। एमाले नेतृ मञ्जु भण्डारी भन तेस्रो हुँदै १२ हजार ८ सय २५ मतमा खुम्चिन परेको थियो। 

 

धरानको मेयर बनेपछि साम्पाङ जनताका स–साना काममै देखा परिरहेका छन्। धरानको खानेपानीको समस्या समाधान गर्न उनले श्रमदान र सहयोगबाट पानी खुवाउन लागि परेका छन्।

केहीदिन अघि मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका थिए, ‘स्वतन्त्र उठाउनुपर्छ कि?’

उनको संकेत प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनतर्फ नै केन्द्रीत थियो। साम्पाङले उक्त संकेत गरे पनि अहिलेसम्म स्वतन्त्रबाट को चुनाव लड्ने भन्ने चाँही खुलिसकेको छैन।

स्थानीय तहको निर्वाचनमा चलेको जस्तै ‘एन्टी राजनीतिक’ दलको मुभमेन्ट भने आम निर्वाचनमा पनि नहोला भन्न भने सकिँदैन। 

धरानमा देखिएको स्वतन्त्र उम्मेदवारको लाेकप्रियताका बीच अर्को चर्चाका पात्र हुन्, जनता समाजवादी पार्टीका प्रभावशाली नेता अशोक राई। राईले सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। 

२०७४ सालको निर्वाचनमा पनि राई सुनसरी क्षेत्र नम्बर १ बाट उमेद्वार बनेका थिए। उनी एमालेका जय कुमार राईसँग दोब्बर मतले पराजित भएका थिए। जयकुमार राईले ४४ हजार ५ सय २८ मत प्राप्त गरे भने अशोकले २२ हजार १ सय २३ मत प्राप्त ल्याएका थिए। 

एमाले छाडेर संघीय समाजवादी पार्टी खोलेका राई उपेन्द्र यादवको फोरम नेपालसँग एकता गरेका थिए। 

टुंगिएको छैन गठबन्धनमा बाँडफाँट
अशोक राईले उम्मेदवारी घोषणा गरेपनि सत्ता गठबन्धनले कुन जिल्ला र कुन क्षेत्रमा कसलाई उठाउने भन्ने निर्णय गरिसकेका छैनन्। 

नेपाली कांग्रेसका प्रदेश १ का महामन्त्री उमेश थापा आफू प्रतिनिधिसभाको उम्मेदवार दाबी रहेको बताउँछन्। 

माओवादीका किरण कुमार राई पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेका छन्। 

तर क्षेत्र बाँडफाँटको कुरा सत्ता गठबन्धनभित्र मिलिसकेको छैन्। जसपाका संघीय परिषद अध्यक्ष समेत रहेका राईले गठबन्धनबाट टिकट पाउन सक्ने नेताहरु बताउँछन्।

सत्तामा रहेका दलहरूका बिचमा  गठबन्धन भए यस पटक पनि एमालेसँग मुख्य प्रतिस्पर्धा हुनेछ। एमालेबाट यस पटक प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य यो क्षेत्रमा उम्मेदवार बन्ने तयारीमा छन्।  तर, जातीय राजनीतिको प्रभाव रहेको यो क्षेत्रमा जयकुमार राई पनि दोहोरिने संभावना भने उत्तिकै छ। क्षेत्र नम्बर १ बाट एमालेका मनोज कुमार मेन्याङबो पनि प्रतिनीधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्। 

यस्तो छ विगत 
२०१५ सालको चुनावमा धरान क्षेत्रमा कांग्रेसले चुनाव जितेको थियो। सो निर्वाचनमा  नेपाली कांग्रेसका उमेदवार दीक्षा ज्ञान चौधरी विजयी भएका थिए। त्यसयता धरान क्षेत्रमा केन्द्रमा प्रतिनिधि पठाउने निर्वाचनमा कम्युनिष्ट बाहेक अरु कसैले जितेको छैन। यसको निरन्तरता हालसम्म छ। 

निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गतको धरानमा बहुदलपछिको पहिलो प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेबाट मनमोहन अधिकारी विजयी भएका थिए। उनले नेपाली कांग्रेसका भेखबहादुर नेपालीलाई पराजित गरेका थिए।

२०५१ सालको मध्यावधि चुनावमा भने नेकपाका लीला श्रेष्ठ सुब्बा विजयी भइन्। सुब्बाले नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठलाई पराजित गरिन्। उनी उपसभामुखसम्म भइन् । 

०५४ सालमा एमालेकी कुन्ता शर्मा विजयी भइन्।कुन्ताले चन्द्रप्रसाद श्रेष्ठलाई पराजित गरेकी थिइन्।

पहिलो संविधानसभाको चुनावमा भने माओवादीका किरण कुमार राईले बाजी मारे। किरणले कांग्रेसकी उमा बास्तोलालाई हराए।

दोस्रो संविधानसभाको चुनावमा नेकपा एमालेका कृष्णकुमार राई विजयी भएका थिए। 

गणतन्त्र स्थापनाको पहिलो चुनावमा संघतर्फ जय कुमार राई विजयी भए। प्रदेशसभामा पनि एमालेकै उम्मेदवार प्रदीपकुमार भण्डारी विजयी भए। भण्डारी अहिले प्रदेश १ का सभामुख छन् । 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .