राजनीति


राजतन्त्रको पक्षमा कुनै माहोल छैन, आइतबार काठमाडौँमा हल्ला मात्रै गरेका हुन् : शेरबहादुर देउवा

राजतन्त्रको पक्षमा कुनै माहोल छैन, आइतबार काठमाडौँमा हल्ला मात्रै गरेका हुन् : शेरबहादुर देउवा

नेपालखबर
फागुन २६, २०८१ सोमबार १४:५, कन्चनपुर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहोल नरहेको दाबी गरेका छन्। 

कैलालीको धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले राजतन्त्रको पक्षमा आइतबार राजधानी काठमाडौँमा राजावादीले हल्ला मात्रै गरेको टिप्पणी गरे।

‘मुलुकमा राजतन्त्रको पक्षमा मैले कुनै माहोल देखेको छैन,’ सभापति देउवाले भने, ‘आइतबार भएको हल्ला मात्रै हो। हल्ला गरेर केही हुँदैन।’ आइतबार काठमाडौँमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई हल्ला भन्दै उनले त्यसको कुनै अर्थ नरहेको बताए।

सभापति देउवाले सरकार सञ्चालनमा सत्तारूढ दलहरूबीच कुनै असमझदारी नरहेको पनि दाबी गरे। उनले यो समीकरण २०८४ सम्मै जाने ठोकुवा गरे। 

सभापति देउवाले पार्टीको १५ औं महाधिवेशन समयमै हुने पनि बताए। काग्रेसको प्रदेश सम्मेलन उद्घाटनका लागि देउवा आज धनगढी आएका हुन्। 

सुदूरपश्चिमको धनगढीमा नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलन सुरु भएको छ। केहीबेरअघि  सभापति देउवाले सम्मेलनको उद्घाटन गरेका छन्। 

सम्मेलनमा सहभागी हुन सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, बालकृष्ण खाँण, दिलेन्द्र बडू पनि धनगढी आएका छन्। 

कांग्रेस विधानमा हरेक कार्यसमितिले वर्षमा कम्तीमा एकपटक सम्मेलन गरी विगतको काम कारबाहीको समीक्षा र भविष्यको काम कारबाहीबारे छलफल गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad