राजनीति


सेनाको बेरुजु फर्स्यौट ११ प्रतिशत मात्रै, बेरुजु घटाउने कार्य प्राथमिकतामा राखेका छौँ: प्रधानसेनापति

सेनाको बेरुजु फर्स्यौट ११ प्रतिशत मात्रै, बेरुजु घटाउने कार्य प्राथमिकतामा राखेका छौँ: प्रधानसेनापति

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १५:१६, काठमाडौँ

प्रधानसेनापति अशोकराज सिग्देलले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको बताएका छन्।

संसदको सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन योजनावद्ध रुपमा प्रमाण खोजिरहेको र आगामी दिनमा प्रगती राम्रो देखिने बताएका हुन्। उनले अहिले भने खासै धेरै फर्स्यौट हुन नसकेको बताए। उनकाअनुसार नेपाली सेनाले यस वर्ष ६० प्रतिशत बेरुजु फर्स्यौट गर्ने लक्ष्य लिएको भए पनि हालसम्म ११ प्रतिशत मात्र प्रगति भएको छ।

असार मसान्तसम्म यसलाई अधिकतम १५ प्रतिशतसम्म पुर्‍याइनेछ। उनकाअनुसार नेपाली सेनाको बेरुजु फर्स्यौटको ६० प्रतिशतको लक्ष्य पूरा हुन नसक्नुमा तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को ठूलो रकम मुख्य कारण रहेको छ। फास्ट ट्रयाकको प्याकेज ६ अन्तर्गत १ अर्ब ३९ करोड रुपैयाँको ‘लिक्विडेटेड ड्यामेज’ तत्काल फर्स्यौट हुन सक्ने अवस्थामा नरहेकाले समग्र प्रगतिमा असर परेको स्पष्ट पारे।

प्रधानसेनापति सिग्देलकाअनुसार सेनाले १५ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको बेरुजु सम्परिक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने तयारी पूरा गरेको छ। यसमा एम्युनेसन खरिदको ४ करोड ११ लाख ६९ हजार, मेसिनरी स्पेयर पाट्र्सको १ करोड ८९ लाख ९१ हजार, लक्ष्मी बैंकबाट ब्याज असुली पश्चात फर्स्यौट हुनुपर्ने ७ करोड ६९ लाख ६० हजार र पारिश्रमिक कर कट्टीको १ करोड ५० लाख ६० हजार रुपैयाँ समावेश छन्।

त्यस्तै, रक्षा मन्त्रालयमार्फत नियमित गर्नुपर्ने २ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको बेरुजु असार मसान्तभित्र पठाइसक्ने सेनाको योजना छ। जसमा समरदली विभागका विभिन्न शीर्षकका बेरुजुहरू रहेका छन्।

सैनिक कल्याणकारी कोषतर्फ कुल ३३ करोड ४३ लाख ७७ हजार रुपैयाँ बेरुजु रहेकोमा हालसम्म ६५ लाख ४८ हजार अर्थात करिब २ प्रतिशत मात्र फर्स्यौट भएको छ। कोष अन्तर्गत नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २० करोड २१ लाख ७५ हजारमध्ये असारसम्म ९ करोड ३७ लाख फर्स्यौट गर्ने लक्ष्य राखिएको छ।

प्रधानसेनापति सिग्देलले भने– ‘हामीले ६० प्रतिशतको लक्ष्य लिएका थियौँ बेरुजु फर्स्यौट गर्ने तर ६० प्रतिशत बेरुजु फर्स्यौट नभएर अहिलेसम्म जम्मा ११ प्रतिशत मात्र भएको छ र अधिकतम हामीले १५ प्रतिशत सम्म यो असार मसान्तसम्म गर्नसक्छौँ। त्यसको मुख्य कारण मैले प्याकेज सिक्सको एलडी १ अर्ब ३९ करोड फास्ट ट्रयाकको, त्यसले ठूलो रकम त्यसमा परेको हुँदा त्यो तत्काल फर्स्यौट हुनसक्ने अवस्थामा नभएको जानकारी म सबै समक्ष गराउन चाहन्छु।’

कल्याणकारी कोषतर्फकै अर्को १२ करोड ३६ लाख ३४ हजार बेरुजुमध्ये ६ करोड ७९ लाख ८० हजार यसै असारभित्र फर्स्यौट हुने प्रधानसेनापतिले जानकारी दिए। उनकाअनुसार कोषतर्फका धेरै बेरुजुहरू २०३२ सालमा कोष स्थापना भएदेखिकै पुराना छन्। प्रमाणहरू जुटाउन कठिन भए पनि यो वर्ष कोषतर्फको ५०.१६ प्रतिशत बेरुजु फर्स्यौट गर्ने लक्ष्य राखेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad