ad ad

राजनीति


अछाममा आयोजित एमालेको कार्यक्रममा जब भीम रावल झुल्किए...(भिडिओ)

‘पार्टीभित्र अन्तरविरोध भइरहन्छन्, कोही नेतासँग रिसराग छैन’
अछाममा आयोजित एमालेको कार्यक्रममा जब भीम रावल झुल्किए...(भिडिओ)

सोमबार अछाममा आयोजित कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा भीम रावल।


गोकुल जोशी
साउन २, २०८० मंगलबार १३:२४, कञ्चनपुर

चितवन महाधिवेशनपछि पार्टी गतिविधिमा निष्क्रिय रहेका नेकपा एमालेका नेता डा. भीम रावल गृहजिल्ला अछाममा पार्टीको कार्यक्रममा अचानक देखापरेका छन्। 

केही साताअघि व्यक्तिगत कामले गृहजिल्ला पुगेका रावल सोमबार कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन्। 

साँफेबगर नगर कमिटीले आयोजनाको गरेको कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गरेको भिडिओका केही अंश नेता रावलले ट्विटरमा सार्वजनिक गरेका छन्। 

लामो समयदेखि पार्टी गतिविधिमा असंलग्न रावल गृहजिल्ला अछाममा पार्टीको ब्यानर र झन्डामुनि बसेर प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा झुल्केपछि उनी पुनः पार्टीमा सक्रिय भएको टिप्पणी भइरहेको छ। 

त्यसो त यसबीच पनि रावल गृहजिल्लाका कार्यक्रममा अक्कलझुक्कल देखिएका थिए। त्यसबाहेक पछिल्लो समय पार्टी गतिविधिबाट उनी टाढा थिए। 

चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग उनले प्रतिस्पर्धा गरेका थिए। ओलीका कटुआलोचक मानिने रावलले यसपटकको चुनावमा अछामबाट टिकटसमेत पाएनन्।

पार्टी अध्यक्ष पदमा ओलीसँग हारेपछि केन्द्रीय सदस्य पदसमेत अस्वीकार गर्दै उनले शपथ लिएनन्। 

रावलले सोमबार साँफेबगरमा पार्टीका गतिविधि र काम/कारबाहीबारे छलफल गरे। सो क्रममा रावलले आफू पार्टीको पक्षमा रहेको बताएका थिए।

‘पार्टीभित्र अन्तरविरोध भइरहन्छन्, कोही नेतासँग मेरो रिसराग छैन,’ रावलको भनाइ उद्धृत गर्दै कार्यक्रममा सहभागी एक स्थानीय नेताले भने, ‘पार्टीको विरुद्धमा बोल्नुहुँदैन, राष्ट्रिय मुद्दामा अडिग छु।’

नेकपा एमालेलाई एकढिक्का बनाएर जानुपर्ने बताउँदै उनले पार्टी नीति, सिद्धान्त र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा सहभागी कार्यकर्ताले बयलपाटा अस्पताल तथा बूढीगंगा हाइड्रो पावरका बारेमा समेत रावलको ध्यानाकर्षण गराएका थिए।

एमालेले गठन गरेको टोलीसँग वार्ता के भइरहेको छ भनेर समेत कार्यकर्ताले जिज्ञासा राखेका थिए।

रावलले वार्ता टोलीसँग एकपटक भएको छलफल सकरात्मक रहेको बताएका थिए। पार्टी गतिविधिमा निष्क्रिय रहेका रावलसँग वार्ता गर्नाका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेलेको संयोजकत्वमा समिति गठन गरेको थियो।

रावलको पद खोसेर माओवादी केन्द्रबाट एमालेमा समाहित लेखराज भट्टलाई पार्टीको सुदूरपश्चिम इन्चार्ज बनाएपछि ओलीसँग रावल झनै रुष्ट बनेका थिए।

हाल भट्टलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। सुदूरपश्चिमको इन्चार्ज भने छविलाल विश्वकर्मालाई बनाइएको छ।

पछिल्लो समय एमालेका नेताहरु रावलसँग सम्पर्कमा रहने र समन्वय गर्ने गरेको उनी निकटको भनाइ छ। रावल केही दिनमा काठमाडौँ फर्किने कार्यक्रम छ। अछाममा रावलका घोषित कार्यक्रम केही छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .