नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाएको छ।
चौधरीलाई हटाएर संसदीय दलको नेताको जिम्मेवारी घनश्याम चौधरीलाई दिइएको छ।
बुधबार बसेको संसदीय दलको बैठकले रामेश्वर चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारीबाट मुक्त गरेको हो।
संसदीय दलका नेता रामेश्वरको उपस्थितीविनै बसेको बैठकले ‘केन्द्रको निर्देशन’ भन्दै रामेश्वरलाई संसदीय दलको नेताबाट हटाएर धनश्यामलाई जिम्मेवारी दिइएको बैठकमा सहभागी एक सांसदले बताए।
‘केही दिनअघि केन्द्रमै जिम्मेवारी हेरफेर गर्ने निर्णय भएको थियो, संसदमा प्रभावकारी उपस्थिति तथा सबै साथीहरुलाई पालो पुर्याउन यस्तो गरिएको खोजिएको छ,’ ती सांसदले भने, ‘केन्द्रकै निर्देशन अनुसार जिम्मेवारी हेरफेर गरिएको हो।’
संसदीय दलको बैठकमा उपस्थित बहुमत सदस्यहरूले जिम्मेवारी हेरफेरमा हस्ताक्षर गरेका थिए। बैठकमा रामेश्वर भने उपस्थित थिएनन्। सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्तिका सात सांसद रहेका छन्।
प्रमुख सचेतकको जिम्मेवारी खुसीराम डगौँरालाई दिइएको छ। यसअघि लक्ष्मणकिशोर चौधरी प्रमुख सचेतक थिए। सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ।
संसदीय दलको जिम्मेवारी हेरफेरको पक्षमा सातमध्ये चार सांसदले हस्ताक्षर गरेका थिए। बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी, इन्दिरा गिरी र कैलाश चौधरी उपस्थित थिए। तीमध्ये इन्दिरा गिरीले भने बैठकको निर्णयमा हस्ताक्षर गरिनन्।
बहुमत सांसदको हस्ताक्षरसहति संसदीय दलको जिम्मेवारी हेरफेरको सूचना प्रदेशसभा सचिवालयमा दिइएको छ।
Shares

प्रतिक्रिया