राजनीति


सुदूरपश्चिम सरकार गठनको अन्तिम ‘डेटलाइन’: मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमालेका राजेन्द्रसिंह रावल

सुदूरपश्चिम सरकार गठनको अन्तिम ‘डेटलाइन’: मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमालेका राजेन्द्रसिंह रावल

फाइल तस्बिर : राजेन्द्रसिंह रावल


नेपालखबर
पुस २७, २०७९ बुधबार ८:३१, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि दलहरुलाई दाबी गर्न दिएको एक साताको समय सीमा आज (बुधबार) ५ बजे सकिँदै छ। 

सोही समय सीमाभित्र सुदूरपश्चिमले आजै दोस्रो मुख्यमन्त्री पाउनेछ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावलले दाबी पेस गर्ने अन्तिम तयारी गरेका छन्।

एमाले र माओवादी केन्द्रबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। पहिलो चरणमा प्रदेश सरकारको नेतृत्व एमाले पाएको छ।

एमालेका तर्फबाट संसदीय दलका नेतासमेत रहेका राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

‘सत्ता साझोदार दलका संसदीय दलका नेता काठमाडौंमा छन्, उहाँहरु पुगेपछि हस्ताक्षरसहित दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गर्छौं’, नेकपा एमालेका एक सांसदले भने। 

रावललाई माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन छ। ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक सांसद छन्।

यहाँ सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। एमाले नेतृत्वमा बन्ने प्रदेश सरकारका पक्षमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी २९ सांसद छन्। 

यसअघि नागरिक उन्मुक्ति पार्टी टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चौधरीलगायत कैदी रिहाइ नहुञ्जेल कुनै राजनीतिक दललाई समर्थन नगर्ने अडानमा थियो। 

मंगलबार केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई विश्वासको मत दिएसँगै नागरिक उन्मुक्ति प्रदेशमा पनि एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने अवस्थामा पुगेको हो।

नागरिक उन्मुक्ति पार्टीले समर्थन गरे पनि माग सम्बोधन नहुञ्जेल सरकारमा नजाने जनाएको छ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १९, नेकपा एकीकृत समाजवादीसँग ४ र एक जना स्वतन्त्र हैसियतका सांसद प्रदेश सभामा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad