निषेधाज्ञा लागू भएका जिल्लाको संख्या १८ पुगेको छ। कोरोना संक्रमण तीव्र बनेपछि सरकारले देशका १८ जिल्लामा निषेधाज्ञा घोषणा गरेको हो।
गृहमन्त्रालयबाट प्राप्त विवरण अनुसार १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञ लागू भएको छ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ५०० सक्रिय सङ्क्रमित भए जिल्लाभर वा निश्चित क्षेत्रमा निषेधाज्ञा लागू हुने जनाएको छ। प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार सरकारले दिएको छ।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित बाँके जिल्लामा वैशाख १३ गतेदखि र सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ।
काठमाडौँ उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) लगायतका ११ जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू गरिएको छ। बिहीबारदेखि कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी जिल्लामा निषेधाज्ञा लागू भएको छ। पाल्पा र चितवनमा गए रातिदेखि र सल्यानमा वैशाख १९ गतेदेखि निषेधाज्ञा लागू हुने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए। दाहालका अनुसार कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा लागू गरिएको छ।
निषेधाज्ञा लागू भएका जिल्लामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन।
विवाह र व्रतबन्धमा बढीमा १५ जनासम्म सहभागी हुन सक्नेछन्। त्यसका लागि स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ। विवाहमा जाँदा व्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ।
विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने गृहमन्त्रालयले जनाएको छ।

प्रतिक्रिया