ad ad

समाज


जन्मस्थलमै बुद्धका मूर्ति तोडफोड

जन्मस्थलमै बुद्धका मूर्ति तोडफोड

नेपालखबर
साउन २, २०७६ बिहिबार १०:३४,

बुद्ध जन्मस्थलमै बुद्धमूर्ति तोडफोड भएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा रहेका बुद्धका मूर्तिहरु तोडफोड भएका हुन्। बुटवल बेलहिया सडक खण्ड अन्तर्गत ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका पाँच मूर्ति बुधबार राति अज्ञात व्यक्तिले तोडफोड गरेको स्थानीय प्रशासनले जनाएको छ। मूर्ति तोडफोड गरिएको स्थान बुद्ध जन्मस्थल लुम्बिनीसँग नजिकै हो।

सडकको मेडिएनमा राखिएका बुद्धमुर्ति मध्ये शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मूर्ति तोडफोड भएका हुन्। 

तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मुर्ति राखिएका थिए। गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमूर्ति अनावरण गरेका थिए।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बुद्धमूर्ति तोडफोडमा संलग्नको खोजी कार्य भइरहेको बताए। ‘घटनामा संलग्नलाई प्रहरीले खोजी गरिरहेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ।’

उनका अनुसार बिहीबार साँझसम्म घटना संलग्न कोही पनि पक्राउ परेका छैनन्।

buddha statuteफुटाइएको अवस्थामा बुद्ध मूर्ति

धार्मिक सद्भाव खल्बल्याउने प्रयासः बौद्ध महासंघ

बुद्धिमूर्ति तोडफोड भएको विषयमा बाैद्ध धर्मावलम्बीको ध्यानाकर्षण भएको छ। बुद्धमूर्ति तोडफोड गरिनु धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास भएको नेपाल बौद्ध महासंघले ठहर गरेको छ।

घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले सो कार्यमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही अघि बढाउन माग गरेको छ।

महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्व शान्तिको प्रतीक बुद्धको मूर्ति तोडफोड गरी मूलकमा अशान्ति निम्त्याउने धार्मिक सद्भाव खल्बलाउने कुकार्यले कसैको हित नहुने भएको हुँदा यस प्रकारको निन्दनीय कार्य गर्ने, गराउनेहरूलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष जोरदार माग गर्दछु।’

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खलबलाउने कार्यमा नलाग्न तथा यस्ता कार्यलाई निरुत्साहित महासंघले सबै नेपालीहरूमा अपिल गरेको छ।

buddha statute1तोडफोड गरिएको अवस्थामा बुद्ध मूर्ति

छानबिन गर्न माग

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको छानबिन गर्न सरकारसँग माग गरेको छ। 

अध्यक्ष महेश बहादुर सिंहले बिहीबार बिज्ञप्ति जारी गरी बुद्धका मुर्तिहरु तोडफोड गरिएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका हुन्।

राप्रविसंघले नेपाली सनातन धर्मावलम्वी जनताको भावना तथा संविधानको मर्मविपरित बुद्धको मूर्तिहरु तोडफोड हुनु निन्दनीय एवं भत्सर्नायोग्य रहेको बताएको छ।

‘विगत लामो समयदेखि सनातन धर्म संस्कृति माथिको हमला आक्रमक रुपले बढिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो आफ्नै मौलिक मान्यता, परम्परा र रितिरिवाज तथा सनातन धर्म संस्कृतिलाई देशी विदेशी शक्तिहरुको इसारामा समाप्त पार्न भैरहेका विभिन्न किसिमका असंवैधानिक, अमर्यादित तथा अस्वभाविक कार्यहरु भत्र्सनायोग्य छन्।’

धार्मिक सहिष्णुता माथिको आक्रमण होइन: सञ्चारमन्त्री

घटनाबारे सरकारले प्रतिक्रिया दिँदै अनुसन्धान भइरहेको जनाएको छ। मन्त्रिपरिषदका बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बुद्धको मूर्ति तोडफोड घटनाको सम्बन्धित निकायले छानबिन गरिरहेको जानकारी दिए।  उनले घटनाबारेबारेमा सत्यतथ्य पत्ता लगाउने काम जारी रहेको बताए।

'आशङ्कातर्फ जानुभन्दा पनि बदमासी कसले र के उद्देश्यले गरेको भन्ने थाहा पाउनु आवश्यक हुन्छ', मन्त्री बाँस्कोटाले भने, 'यसलाई अहिले नै धार्मिक सहिष्णुता माथिको आक्रमण भनेर प्रश्न उठाउनु आवश्यक छैन।'

नेपाल बहुभाषिक, बहुधार्मिक मुलुक हुनुका साथै दशभन्दा ठूला धर्म मान्ने नागरिक र हजारौँ मठ, मन्दिर, चैत्य, गुम्बालगायत धार्मिकस्थल रहेको दोहोर्याउँदै उनले एउटा घटनालाई लिएर धार्मिक सहिष्णुतालाई खलल पर्छ भन्ने ठान्न नहुने जनाए। 'घटनाको अनुसन्धान भएपछि घटना कसले र किन गराएको भन्ने खुल्नेछ', उनले भने, 'सहिष्णुता भड्काउन सम्भव छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .