राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशबाट तीन पार्टीका चार जना निर्वाचित भएका छन्।
आइतबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वाचित भएका हुन्।
अन्य क्लस्टरबाट जसपा नेपालका महन्थ ठाकुर, अल्पसंख्यकबाट कांग्रेसका रञ्जित कर्ण, महिला क्लस्टरबाट एमालेकी रेखा झा र दलितबाट कांग्रेसका धर्मेन्द्र पासवान निर्वाचित भएका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबीच एकीकरण भएपछि ठाकुर उम्मेदवार बनेका हुन्। कांग्रेस, एमाले र जसपा नेपालबीच गठबन्धन भएको थियो।
निर्वाचन कार्यालयका अनुसार ठाकुरले ७ हजार ७२५ मतभार ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले एक हजार ८०५ मतभार प्राप्त गरेका छन्।
यस्तै, एमालेकी झाले सात हजार २२२ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेकपाकी शमीकुमारी अग्रवालले एक हजार ९४४ मतभार प्राप्त गरिन्।
कांग्रेसका कर्णले ८ हजार ९३ मतभार पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले १ हजार ३ सय ६१ मतभार पाए।
कांग्रेसका पासवानले ७ हजार ९०४ मतभार प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपाका रामानन्द प्रसादले १ हजार ३७६ मतभार प्राप्त गरेका छन्।
Shares

प्रतिक्रिया