कोशी


राष्ट्रिय सभा निर्वाचनः एउटै पदमा २७ जनप्रतिनिधिद्वारा ‘फ्लोर क्रस’

राष्ट्रिय सभा निर्वाचनः एउटै पदमा २७ जनप्रतिनिधिद्वारा ‘फ्लोर क्रस’

नेपालखबर
माघ ११, २०८२ आइतबार १९:३१, विराटनगर

राष्ट्रिय सभा निर्वाचनका क्रममा कोसी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनभित्र ठूलो संख्यामा मत क्रस भएको छ।

आइतबार सम्पन्न मतदानमा कांग्रेस र एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले नै आफ्ना उम्मेदवारलाई छाडेर विपक्षी नेकपाका उम्मेदवारलाई मतदान गरेपछि राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ।

अंकगणितलाई हेर्दा नेकपाकी उम्मेदवार नमिता न्यौपानेलाई स्थानीय तहतर्फ २२ मत क्रस भएको देखिन्छ। कोसी प्रदेशमा नेकपाका ३६ जना मात्र प्रमुख र उपप्रमुख मतदाता रहेकोमा न्यौपानेले ५८ मत प्राप्त गर्नुले एमाले र कांग्रेसका जनप्रतिनिधिले उनलाई साथ दिएको पुष्टि हुन्छ। 

न्यौपानेले स्थानीय तहमा मात्र नभई प्रदेश सभातर्फ पनि ५ मत बढी प्राप्त गरेकी छिन्। त्यस्तै दलित तर्फका नेकपा उम्मेदवार खेमराज सुन्दासले पनि स्थानीय तहतर्फ २१ मत बढी अर्थात् ५७ मत प्राप्त गरेका छन्। प्रदेश सभातर्फ पनि उनलाई नेकपाको वास्तविक मतभन्दा एक मत बढी प्राप्त भएको छ।

कोसी प्रदेशका १३७ स्थानीय तहमा कांग्रेसका ११३ र एमालेका १०८ जना प्रमुख तथा उपप्रमुख रहेका छन् भने प्रदेश सभामा एमालेका ४० र कांग्रेसका २९ सांसद छन्। 

यति ठूलो मतान्तर र बलियो गठबन्धन हुँदाहुँदै पनि आफ्नै मतदाताले विपक्षीलाई मत दिनुले दुवै दलभित्रको आन्तरिक अनुशासन र असन्तुष्टिलाई छताछुल्ल पारेको छ। 

निर्वाचनमा राप्रपाका सांसदहरूले प्रक्रिया बहिष्कार गरे पनि सभामुख र अर्का एक जनाले भने मतदान गरेका थिए। यस्तै नेकपाकी एक मतदाता समयमा उपस्थित हुन नसक्दा मतदानबाट वञ्चित भइन्।

यसअघि नै निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिएका र विभिन्न मुद्दामा परेका ८ जना जनप्रतिनिधिलाई मतदाता सूचीबाट हटाएको थियो। जसमा धरानका हर्क साम्पाङ, रंगेलीका दिलीप बगडिया, थुलुङ दुधकोशीका असीम राई लगायत रहेका थिए। 

सत्ता र प्रतिपक्षी दल मिलेर चुनावमा होमिए पनि आफ्नै मतदाताले धोका दिएपछि अहिले कोसी प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने ती जनप्रतिनिधिहरूको पहिचानबारे तीव्र चर्चा सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad