नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा आफ्नो पार्टी र नेपाली कांग्रेसका नेता पालैपालो मुख्यमन्त्री बन्नुलाई ‘नेपाली राजनीतिमा देखिएको सकारात्मक परिवर्तन’ भनेका छन्।
होटलमै शपथ खाँदै मुख्यमन्त्री बनेका एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत लिन नसकेर राजीनामा दिएपछि शुक्रबार साँझ मात्र उनको स्थानमा कांग्रेस नेता कृष्ण यादव नियुक्त भएका छन्। तर यो सरकारमा एमाले सामेल छैन।
यस विषयमा टिप्पणी गर्दै एमाले महासचिव पोखरेलले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए। नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य छ। मधेसी जनताको जनादेशअनुरूपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो।’
कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमालेबाहेकका ७ दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
उनलाई कांग्रेसका २२, जसपाका १८, जनमतका १२, माओवादीका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सांसदको समर्थन छ।
सात दलीय गठबन्धनको तर्फबाट दाबी पेस गरेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
तर आज सत्ता गठबन्धनका दलमध्ये नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) ले जनकपुरमा मधेस प्रदेशस्तरीय एकता घोषणा सभा कार्यक्रम राखेकाले नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार मात्रै पदको शपथ खाने भएका छन्।
Shares

प्रतिक्रिया