नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि सिराहाबाट ३१ जना प्रतिनिधि छानिएका छन्।
एमालेले सिराहा १ मा निर्वाचनको माध्यमबाट प्रतिनिधि छानेको हो भने बाँकी तीनवटा क्षेत्रमा सर्वसम्मत ढंगले प्रतिनिधि छानिएका एमालेका जिल्ला अध्यक्ष अशोककुमार यादवले जानकारी दिए।
गएको चैत अन्तिम साता एमाले अध्यक्ष केपी ओली इतर खेमाबाट जिल्ला पार्टीको नेतृत्वमा पुगेका यादवले अहिले छानिएका महाधिवेशन प्रतिनिधिको खेमा भने खुलाउन चाहेनन्।
तर, स्रोतका अनुसार सिराहाबाट विजयी हुने आधाभन्दा धेरै प्रतिनिधि केन्द्रमा निर्वाचन हुँदा ईश्वर पोखरेलको पक्षमा खुल्ने सम्भावना छ।
अध्यक्ष यादवले पनि त्यसको संकेत गरे।
‘हामी सिराहाबाट महाधिवेशनको लागि काठमाडौँ जाँदा सबै प्रतिनिधि एमाले भएरै जान्छौँ। अहिले यो वा वा त्यो पक्षमा खुल्ने भन्ने हुँदैन,’ यादवले नेपालखबरसँग भने, ‘तर, धेरैले अहिले पुस्तान्तण र नेतृत्व परिवर्तन खोजेका छन्। महाधिवेशनमा नेतृत्वको लागि कसकसले उम्मेदवारी दिनुहुन्छ पहिला त्यो हेरौँ। अहिले अध्यक्ष केपी ओली कमरेडले म फेरि पनि अध्यक्ष बन्छु भन्नु भएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कमरेडले बाटो खुलस्त गर्दिनुस् अध्ययक्षज्यू, म चुनाव लड्दिन भन्नु भएको छ। ओली कमरेडले बाटो खुलस्त गरे महाधिवेशनमा चुनावै नहुन पनि सक्छ।’
गएको चैतमा भएको पार्टीको जिल्ला सम्मेलनमा नेतृत्व चयनमा ओली खेमालाई यादव पक्षले आच्छुआच्छु बनाएको थियो।
त्यतिबेला तीन दिनको रस्साकस्सीपछि भएको चुनावमा ओली पक्षलाई पराजित गर्दै यादव अध्यक्षमा विजयी भएका थिए। सिराहा गएर ओलीले अस्तक्षेप गर्दा पनि यादव अध्यक्षमा विजयी भएका थिए। यसले पनि सिराहामा ओली खेमा कमजोर अवस्थामा रहेको अनुमान गर्न सकिन्छ।
सिराहामा एमाले जिल्ला अध्यक्ष यादवसहित निवर्तमान संघीय सांसद रामाशंकर यादव, गोलबजार नगरपालिकाका हालका मेयर श्यामकुमार श्रेष्ठ, धनगढी नगरपालिकाका मेयर शिवशंकर यादव, भगवानपुर गाउँपालिकाका अध्यक्षा उग्रनारायण यादव, मधेस प्रदेशका पूर्वमन्त्री शत्रुधनप्रसाद सिंह, सिराहा नरपालिकाका मेयर डा.नवीन यादव, लहानका पूर्व मेयर मुनि साह खुलाबाट महाधिवेशन प्रतिनिधि छानिएका छन्।
त्यसैगरि रामइश्वर साह, रामचन्द्र यादव, नविनकुमार यादव, फुलेश्वर नायक, प्रदिप महासेठ र वैद्यनाथ साह पनि खुलाबाट प्रतिनिधि चयन भएका छन्।
महिलातर्फ सरियारकुमारी चौधरी, विभाकुमारी यादव, गोमा तिमल्सिना, उषा यादव, रेखा यादव, आशा लामा, आशा यादव, सुशीलादेवी मण्डल, जगतारैनदेवी सुडी प्रतिनिधि छानिएका छन्।
युवाबाट जितेन्द्रकुमार यादव, रामसरोवर यादव, सम्झना सिंह र इन्द्रेश राउत चयन भएका निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार ६ जनाको जिल्ला दलित क्लष्टरमा जीवन पासवान, अशोक मण्डल, संजिव महरा, रासलाल पासवान, रामस्वप सदाय र खगेन्द्र लकान्द्री चयन भएका छन।
चैतमा जिल्ला पार्टी नेतृत्वको लागि भएको चुनावमा मुनी साह, उग्रनारायण, राम शंकर यादव, शिव शंकर महतो लगायतका नेता हालका अध्यक्ष अशोक यादवकै पक्षमा खुलेका थिए।
लहानका पूर्व मेयर मुनी साह पनि यतिबेला ओली इतर खेमामा छन्। भगवान गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव एमालेका स्थायी कमिटी सदस्य लीला श्रेष्ठ निकट मानिन्छन्।
अहिलेसम्म लीला श्रेष्ठ ओलीतिरै छन्। तर, यो प्रतिनिधि छनोटमा श्रेष्ठ सिराहामा प्रभावहीन देखिएका छन्। उनले भनेकाे मान्ने प्रतिनिधि धेरै आएका छैनन्।
केही समयअघिसम्म ओली पक्षमा उभिँदै आएका मधेसका प्रभावशाली नेता रघुवीर महासेठ यतिबेला मधेसमा आफैँ गुट निर्माणमा सक्रिय छन्।
‘महासेठ यतिबेला ओली वा पोखरेल कुनै पनि गुटमा खुलेका छैनन्,’ मधेसको राजनीतिमा जानकारी राख्ने मधेसका एक पत्रकार भन्छन्, ‘धनुषामा महासेठ पक्षका प्रतिनिधि बहुसंख्यामा आएका छन्। प्रतिनिधि जति धेरै भए केन्द्रमा आफ्नो बार्गेनिङ पावर उत्ति नै बढ्ने भएकाले उनी आफैँ अहिले गुट निर्माणमा लागेका हुन्।’
Shares

प्रतिक्रिया