राजनीति


कांग्रेस नेता कृष्ण यादवलाई प्रश्न: मधेसमा अबको मुख्यमन्त्री तपाईँ हो? (अन्तर्वार्ता)

कांग्रेस नेता कृष्ण यादवलाई प्रश्न: मधेसमा अबको मुख्यमन्त्री तपाईँ हो? (अन्तर्वार्ता)

जनार्दन पोखरेल
मंसिर १६, २०८२ मंगलबार ११:४२, काठमाडौँ

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार साँझ निर्देशन दिए पनि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अझैसम्म प्रदेश सभा बैठकको लागि पहल गरेका छैनन्। विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले प्रदेश सभा बैठक आह्वानमा ढिलाई गरेको आशंका विपक्षी दलको छ।  

आफू अनुकूलको प्रदेश प्रमुख हुँदाको फाइदा उठाउँदै गएको कात्तिक २४ गते उज्यालो नहुँदै बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त भएपछि यादव विवादमा तानिएका थिए। उनको नियुक्तिविरुद्ध गठबन्धन बनाएर कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीसहितका सातदल सर्वोच्च गएका थिए। सर्वोच्चले सोमबार साँझ मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको छ। सर्वोच्चको यो आदेशबाट एमाले इतरका सातदल खुसी देखिएका छन्। प्रस्तुत छ, यसै सन्दर्भमा नेपालखबरले मधेस प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसँग गरेको संक्षिप्त कुराकानी: 

सर्वोच्चले दिएको आदेश अनुसार २४ घण्टाभित्र हालका मुख्यमन्त्री सरोज यादवले विश्वासको मत पाउने अवस्था देखिएको छैन। तपाईँहरुको तयारी के छ? 

सम्मानीत अदालतले जुन आदेश दिएको छ, हामी त्यसलाई फलो गर्छौँ। आज राति आठ बजेसम्म हामी पर्खिन्छौँ। हिजो राति आठबजे अदालतको आदेश आएको छ। अदालतले भनेअनुसार २४ घण्टा त पर्खिनै पर्‍याे। मुख्यमन्त्रीले संसद्‍मा विश्वासको मत फेस गर्ने हुनुभयो, हामीलाई पनि बोलाउनु भयो भने हामी पनि त्यसको फेस गर्न जान्छौँ। यदि उहाँले आज राति आठ बजेसम्म पनि विश्वासको लागि प्रदेश सभामा फेस गर्नु भएन भने सिधै बुझ्नुपर्ने हुन्छ, उहाँको पद स्वत: खारेज हुन्छ। 

मुख्यमन्त्रीले विश्वासको मत फेस गर्नको लागि आज प्रदेश सभा बैठक बोलाउने अवस्था छ? 
हामीलाई अहिलेसम्म त्यस्तो कुनै खबर आएको छैन। 

मुख्यमन्त्रीमा सरोज यादवको नियुक्तिको विरुद्धमा कांग्रेससहितका सात दलबीच जुन गठबन्धन बनेको थियो, त्यो गठबन्धनबीच चाहिँ अब कसरी अघि बढ्ने भन्नेमा कुनै सरसल्लाह भएको छ कि छैन? 
हामीबीच सरसल्लाह त भैरहेकै छ। हामी थप छलफल गरेरै अघि बढ्छौँ। 

सातदलीय गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो। तपाईँले पहिला पनि मुख्यमन्त्रीमा दाबी पेस गर्नुएको थियो, त्यतिबेला लोसपाका जितेन्द्र सोनलले बाजी मार्नुभयो। अब तपाईँ के गर्नुहुन्छ?

अहिले हामी सात दल एक ठाउँमा छौँ। सबै वातावरण सकारात्मक छ। मेरो बिचारमा उहाँहरू पनि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनमा सहमत हुनुहुन्छ भन्ने लाग्छ। सबैको साथ र सहयोग भए म फेरि मुख्यमन्त्रीमा दाबी गर्छु। तर, यसको लागि परिस्थिति एक स्टेप अघि बढ्नुपर्छ। 

सरोज यादवले संसदमा फेस गरे पनि विश्वासको मत पाउने अवस्था देखिएकाे छैन। त्यतिबेला सरकार गठनको लागि अब हामी यसरी अघि बढ्छौँ भन्ने छलफल भएको छैन तपाईँहरूबीच? 

यसअघि एमालेबाट जसरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो, त्यसको विरुद्धमा हामी सात दल नै अघि बढेका थियौँ। यसअघिका प्रत्येक स्टेपमा हामी सल्लाह गरेरै अघि बढिरहेका छौँ। फेरि पनि सहमतीमै अघि बढ्छौँ। 

तपाईँहरूले अझै सात दलको बैठक पनि बोलाउनु भएको छैन? 
पहिला हालका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सम्पन्न होस् न। त्यसपछि हामी छलफललाई अघि बढाउछौँ। अहिले त सबै साथीहरु गाउँगाउँमा जानु भएको छ। कतिपय साथी काठमाडौँ पनि जानु भएको छ, कोही बिहे भतेरतिर लाग्नु भएको छ। सबै साथीहरु आउँदै हुनुहुन्छ। आज दिउँसोसम्म बसौँला नि। हिजो राति आठ बजे अदालतको आदेश आयो। सबै साथीहरुलाई जनकपुर आउनको लागि हामीले खबर गरिसकेका छौँ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad