ad ad

राजनीति


मधेसमा विपक्षी गठबन्धनले आज मुख्यमन्त्रीको दाबी पेस गर्ने

मधेसमा विपक्षी गठबन्धनले आज मुख्यमन्त्रीको दाबी पेस गर्ने

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ८:३७, जनकपुरधाम

मधेस प्रदेशमा नयाँ सरकार गठनको लागि विपक्षी दलहरुले आज (शुक्रबार) प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन्। 

बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति गरेको छ। 

उक्त सहमतिअनुसार आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष सरकार गठनको लागि दावी पेस गर्ने तयारी विपक्षी गठबन्धनका तीन दलले गरेका हुन्। 

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशमा जनमत पार्टीको नेत्तृत्वमा सरकार बन्न लागेको दाबी गर्दै आज प्रदेश प्रमुख समक्ष दाबी पेस गरिने जानकारी दिएका छन्।

सीके राउतको सचिवालयले एमाले, माओवादी केन्द्र र जनमत पार्टीका प्रदेश संसदीय दलका नेताले प्रदेश प्रमुख समक्ष आज दाबी पेस गर्ने जानकारी दिएको हो।  

तर, मधेसमा एमाले, माओवादी र जनमतको सांसद संख्याले मात्रै नयाँ सरकार गठनको लागि आवश्यक बहुमत पुग्दैन। त्यसको लागि नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको पनि समर्थन आवश्यक पर्छ। 

तीन दलबीच हिजो भएको सहमतिमा नेकपा एकीकृत समाजावादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताले हस्ताक्षर गरेका छैनन्। एमाले, माओवादी र जनमतबीचको सहमतिमा नेकपा एस र लोसपाको पनि समर्थन रहेको दाबी तीन दलका नेताले गर्दै आएका छन्। 

जनमतको नेतृत्वमा सरकार बनाउन सहमति गरेका पाँच दलले आज प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए।

‘हिजो एमाले, माओवादी र जनमतका नेताले मात्रै सहमति पत्रमा हस्ताक्षर गरेका थिए। आज लोसपा र नेकपा एसका नेताले पनि त्यो सहमति पत्रमा हस्ताक्षर गर्नुहुन्छ,’ साहले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘बहुमत सांसदको हस्ताक्षर भएपछि हामी मुख्यमन्त्रीसमक्ष आजै दाबी पेस गर्ने तयारीमा छौँ।’

उनले नेकपा एस र लोसपाले पनि जनमत पार्टीलाई मुख्यमन्त्री बनाउन सहमती जनाइसकेको दाबी गरे। 

तीन दलबीच हिजो काठमाडौँमा भएको सहमति पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद साह र जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवको मात्रै हस्ताक्ष छ। 

सहमति पत्रमा नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने र लोसपाका संसदीय दलका उपनेता उपेन्द्र महतोको पनि नाम राखिएको थियो। तर, उनीहरुले हिजो त्यो सहमति पत्रमा शुक्रबार हस्ताक्षर गरेनन्। 

उनीहरुले हस्ताक्षर नगरेपछि उनीहरुको नाम छोपेर तीन दलका नेताले मात्रै हस्ताक्षर गरेको सहमति पत्र सार्वजनिक गरिएको थियो। 

‘उक्त सहमति पत्रमा हस्ताक्षर गर्न बाँकी नेकपा एसका गोविन्द न्यौपाने र लोसपाका उपेन्द्र महतोले आजै हस्ताक्षर गर्नुहुन्छ,’ माओवादी संसदीय दलका नेता साहले भने, ‘जनमतलाई प्रदेश सरकारको नेतृत्व दिन उहाँहरु पनि सहमत भइसक्नु भएको छ। हस्ताक्षर गर्न मात्रै बाँकी हो।’

जनमत पार्टीबाट मुख्यमन्त्रीका सम्भावित पात्र महेशप्रसाद यादवले पनि नयाँ सरकार गठनको लागि बनेको विपक्षी गठबन्धनमा नेकपा एस र लोसपा सकारात्मक भएको दाबी गरे। 

‘हामीबीचको सहमतिमा एकीकृत समाजावादी र लोसपाका नेताहरु पनि सकारात्मक हुनुहुन्छ,’ यादवले नेपालखबरसँग भने, ‘हिजो उहाँहरु काठमाडौँमा उपलव्ध हुनुहुन्थेन। उहाँहरु बाहिर हुनुहुन्थ्यो। त्यही भएर सहमति पत्रमा हस्ताक्षर हुन नसकेको हो।’ 

१०७ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ। 

प्रदेश सभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन्। त्यसैगरी कांग्रेसका २२, जसपाका १८ सांसद छन्। 

नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि उपेन्द्र यादव निकट मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन्। उनले यही जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन्।

एमाले, माओवादी, जनमतसहितको विपक्षी गठनबन्धनमा बहुमत पुगेको खण्डमा जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने सम्भावना छ।

गएको निर्वाचनमा माओवादीले टिकट नदिएपछि यादव जनमत पार्टीबाट उम्मेदवार बनेका थिए। 

उनले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा माओवादीका उमेश यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .