ad ad

कला


किम्फमा देखाइयो डोरबहादुर विष्टको जीवनीमा आधारित डकुमेन्ट्री ‘म अलप हुन चाहन्छु’

किम्फमा देखाइयो डोरबहादुर विष्टको जीवनीमा आधारित डकुमेन्ट्री ‘म अलप हुन चाहन्छु’

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ९:०, काठमाडौँ

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा डोरबहादुर विष्टको जीवनीमा बनेको वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ देखाइएको छ। 

किम्फको दोस्रो दिन नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र प्रदर्शन गरिएको हो। 

सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र निजी जीवनका विविध पाटा उजागर गरिएका छन्।

२१ नेपालका विविध जातजाति र समुदायबारे अध्ययन अनुसन्धान गरेर ख्याति कमाएका डोरबहादुर विष्ट नेपालकै बौद्धिक व्यक्तित्वमा गनिन्छन्। उनी मानवशास्त्री र साहित्यकारका रुपमा समेत चर्चित छन्।

प्राज्ञिक कर्मसँगै सामाजिक रुपान्तरणमा समेत झुकाव भएका डोरबहादुर २०५२ पुस २७ देखि रहस्मयी रुपमा बेपत्ता छन्। जुम्लाबाट नेपालगञ्ज उडेर यात्रा गरेको खबरयता आजपर्यन्त उनी अलप छन्।

जीवित छँदा डोरबहादुर बेलाबखत भन्थे रे, ‘म अलप हुन चाहन्छु।’ निर्देशक सचिन घिमिरेका अनुसार उनको यही भनाइलाई फिल्मको नाम दिइएको हो।

जुम्लाको चौधाबीसा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न उनले महत्वपूर्ण काम गरेका थिए। उनको त्यही योगदानका कारण आज पनि डोरबहादुर जुम्लावासीका मनमा बास गरिरहेका छन्। यस वृत्तचित्रमा जुम्लावासीले उनलाई सम्झेर भावुक भएका कयौँ सन्दर्भ आएका छन्।

फिल्ममा उनका परिवारका सदस्यबाहेक केही विदेशी अनुसन्धाताहरुले समेत डोरबहादुरको आनीबानी, बौद्धिकता र निजी जीवनबारे प्रकाश पारेका छन्।

डोरबहादुरलिखित फ्याटलिज्म एन्ड डेभलपेन्ट र पिपुल अफ नेपाल नेपाली र विदेशी अध्येतामाझसमेत चर्चित छन्।

यसअघि नेपाल र नेपालबाहिरका महोत्सवहरुमा समेत प्रदर्शन भई रुचाइएको म अलप हुन चाहन्छु हेर्न राष्ट्रिय सभागृहमा दर्शकको बाक्लो भिड थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .