राजनीति


केन्द्रीय सरकारसँग मधेशका मुख्यमन्त्रीको अनुरोध– निजामती र प्रहरी समायोजन गरिदेऊ

केन्द्रीय सरकारसँग मधेशका मुख्यमन्त्रीको अनुरोध– निजामती र प्रहरी समायोजन गरिदेऊ

फाइल फाेटाे


नेपालखबर
फागुन २७, २०७९ शनिबार ९:१६, काठमाडौँ

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजामती कर्मचारी र प्रहरी समायोजन भएको खण्डमा प्रदेश सरकार पूर्वाधार निर्माणलगायत सबै काम गर्न सक्षम रहेको दाबी गरेका छन्।

प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस) को जिज्ञासामा उनले कर्मचारी र प्रहरी समायोजन भएपछि सम्पूर्ण पूर्वाधार निर्माण र सबै विकासका काम गर्न प्रदेश सरकार सक्षम हुने बताएका हुन्। 

मुख्यमन्त्री यादवले भने, ‘सबैभन्दा पहिला काम गर्ने जनशक्ति हुनुपर्‍यो। बिनाकर्मचारी मन्त्री र मुख्यमन्त्री भएर मात्रै केही गर्न सकिन्न। केन्द्रीय सरकारसँग यही अनुरोध छ, निजामती र प्रहरी समायोजन गरिदिनुस्।’

प्रदेश सरकार पूर्ण रुपमा ‘फङसन’मा आएपछि देशमा विकासको गति धेरै अगाडि बढ्ने उल्लेख गर्दै उनले सङ्घीय सरकारसँग त्यसका लागि निजामती ऐन तुरुन्तै पास गरेर कार्यान्वयनमा ल्याउन सुझाव दिए। 

प्रदेशका पूर्वसभामुखसमेत रहेका यादवले भने, ‘शान्ति सुरक्षा र भ्रष्टाचार न्यूनीकरणका लागि प्रदेश प्रहरी पनि समायोजन गर्नुपर्छ। बिनाप्रहरी र प्रशासनको सरकार चल्न सक्दैन।’

तीन तहको सरकारमध्ये सबैभन्दा समस्या प्रदेश सरकारले नै झेल्नुपरेको बताउँदै उनले मुलुक सङ्घीय संरचनामा प्रवेश गरेपछि भौतिक संरचनाको अभावमा प्रदेश सरकार र सभाका नेतृत्वले नै आफूलाई चाहिने कुर्सी र टेबल किनेर कार्यालय सञ्चालन गर्नुपरेको घटना सुनाए। 

मुख्यमन्त्री यादवले भने, ‘सङ्घ र स्थानीय तहमा पहिले नै संरचना भएकाले कुनै खास चुनौती झेल्नुपरेन, तर  प्रदेशमा भने कुनै पनि भौतिक संरचना थिएन। आफूलाई चाहिने सामान आफैँले जोहो गरेर कार्यालय सञ्चालन गर्नुपर्ने परिस्थितिको सामना गरियो।’ 

विगतमा प्रदेश सभामुखको जिम्मेवारी आफूले तटस्थ र निष्पक्ष भएर प्रमाणित गरिसकेको बताउँदै उनले त्यसैको परिणाम सात प्रदेशमध्ये सबैभन्दा सहजरुपले मधेश प्रदेशकै सदन नियमित र सहजरुपमा सञ्चालन गर्न सफल भएको दाबी गरे। 

मधेश प्रदेशले पाँच वर्षमा ५५ वटा विधेयक मात्र नभई सरकारको वार्षिक बजेटसमेत सर्वसम्मतिले  पारित गरेको थियो। पूर्वसभामुख यादवले भने, ‘केन्द्रका दलका नेताको मनमा जे भए पनि मधेश प्रदेशका सबै राजनीतिक दल संघीयताको पक्षधर नै हुनुहुन्छ। त्यसले गर्दा मलाई काम गर्न पनि त्यहाँ सजिलो भएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad