लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दावी गरेका छन्।
लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
मुख्यमन्त्री केसीले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको पनि स्पष्ट पारे।
आफू नेतृत्वको प्रदेश सरकारले प्रदेश भित्र रहेका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलो मिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्विनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर संघीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उनले बताए।
‘राप्ती उपत्यका सबैको पायक पर्ने ठाउँ देउखुरी, नजिकै गौतमबुद्धको जन्मस्थल लुम्बिनी छ । त्यसनजिकै काखमा हामीले आफ्नो राजधानी सार्ने काम गरेका छौँ। प्रदेशसभाले पारित गरेको प्रस्तावलाई पूर्ण रुपमा कार्यान्वयन गरेर संघीय व्यवस्थालाई बलियो बनाई दिने जिम्मेवारी पूरा गर्ने मेरो दायित्व थियो । यो अन्तिम समयमा पूरा गर्ने अवसर प्राप्त भएको छ', उनले भने, 'पहिलो प्रदेशसभाले गरेको निर्णय कार्यान्वयन गरिदिनु पर्दछ । त्यसलाई स्थापित गरिदिनु पर्छ । एउटा गौरवका साथ हामीले प्रदेशको राजधानी निर्माण र व्यवस्थापन गरेका छौँ। दोस्रो पूर्वाधारको हिसावले प्रदेशका १२ वटै जिल्लालाई जोडने गरी १३ सय किलोमिटर पहाडी मार्गलाई उत्तर–दक्षिण जोड्ने रणनीतिक योजना थियो। त्यसलाई पूरा गर्ने । तेस्रो, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल, जसबाट हाम्रो पचासौं लाख मानिसले मात्रै लाभ नलिएर छिमेकी प्रदेशकाले पनि लाभ लिन मिल्ने गरी हामीले अर्को गौरवको योजना बनायौँ। अर्को, लुम्बिनी प्राविधिक विश्वविद्यालयनेपालगञ्जमा स्थापित गरिएको छ।’
मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माण पनि सकिएकोाले आगामी प्रदेशसभाको बैठक पनि देउखुरीमा गरिने बताए।
उनले केही दिनभित्रै मन्त्रालयहरुका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताए। मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी सबैलाई पायक पर्ने भएकाले दाङको देउखुरीलाई चयन गरिएको पटकपटक दोहोर्याए।
Shares

प्रतिक्रिया