राजनीति


श्रम संस्कृति पार्टीका समानुपातिक सांसद: क्याप्टेन, अभियन्ता, श्रमदाता र इन्जिनियर

श्रम संस्कृति पार्टीका समानुपातिक सांसद: क्याप्टेन, अभियन्ता, श्रमदाता र इन्जिनियर

सुमन सुस्केरा
चैत १, २०८२ आइतबार १९:२९, विराटनगर

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आइतबार धरानमा बसेको केन्द्रीय कमिटीको बैठकले चार जनाको नाम टुङ्गो लगाएको हो।

पार्टी बैठकले आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी सङ्ग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेसी महिलाबाट रुवीकुमारी ठाकुर चयन गरेको छ। लिम्बु पूर्व ब्रिटिस आर्मी हुन्, त्यस्तै ठाकुर इन्जिनियर, संग्रौला टोल सुधार समितिका अध्यक्ष तथा रम्तेल महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन्। प्रत्यक्षतर्फ श्रम संस्कृतिले अध्यक्ष हर्कराज राईसहित ३ सिट जितेको छ। 

२८ वर्ष ब्रिटिस अनुभव


हर्कराज राई (हर्क साम्पाङ)को नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले समानुपातिकका लागि सांसदमा सिफारिस गरेका पूर्ण लिम्बु २८ वर्ष ब्रिटिस आर्मीमा अनुभव प्राप्त व्यक्ति हुन्। धरान उपमहानगरपालिका वडा नम्बर १५ का बासिन्दा ६२ वर्षीय सुब्बाले आफ्नो जीवनको लामो समय वैदेशिक सैन्य सेवा र त्यसपछिको सामाजिक सेवामा व्यतीत गरे।

सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ४ पुर्ख्यौली घर भएका लिम्बु सन् १९८० देखि २००८ सम्म गरी २८ वर्ष ब्रिटिस आर्मीमा सेवा गरे। सैन्य सेवाका क्रममा विश्वका अधिकांश लोकतान्त्रिक मुलुकहरूको भ्रमण गरिसकेका लिम्बु अवकाशपछि पनि विश्राम नलिई निरन्तर सामाजिक कार्यमा क्रियाशील हुँदै आए।

ब्रिटिस आर्मीको क्याप्टेन पदबाट अवकाश पाएपछि उनले करिब १५ वर्ष गोर्खा वेलफेयर ट्रस्टमा सिनियर एरिया वेलफेयर अफिसरका रूपमा काम गरे। हाल गोर्खा पिस फाउन्डेसन बेलायतको ट्रस्टीका रूपमा समेत जिम्मेवारी सम्हालिरहेका छन्। विशेष गरी हर्क साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले श्रम संस्कृतिसँग जोडिएर धरानको खानेपानी प्रोजेक्ट, गोर्खा चौतारी निर्माण र पानी ट्याङ्की व्यवस्थापन जस्ता कामहरूमा सहयोग गरेको उनी बताउँछन्।
 

महिलाधिकारदेखि सांसदसम्म


राधिका रम्तेलको घर पहिला दैलेख हो। विगत १३–१४ वर्षदेखि सुर्खेतको वीरेन्द्रनगर–४, बस्दै आएकी थिइन्। करिब ४५ वर्षीय रम्तेल सामाजिक अभियन्ता हुन्। उनले दैलेखमा महिला सशक्तीकरण मञ्च’ बाट सामाजिक काम सुरु गरिन्। सुर्खेत झरेपछि पनि उनले त्यो कामलाई निरन्तरता दिँदै गइन्। त्यसपछि ढाका बुन्ने उद्योग पनि चलाइन्। भनेको जस्तो भएन। बजारको अभावले सोचेजस्तो हुन नसकेपछि उनले त्यो काम पछि छाडिन्।

समानुपातिकमा सिफारिस नहुँदासम्म उनी ‘रन ग्लोबल’ नामक संस्थामा आबद्ध भई पिछडिएका महिला र बालबालिकाका लागि काम गर्दै आएकी थिइन्। दलित समुदायबाट प्रतिनिधित्व गर्दै निष्पक्ष रूपमा छानिएर माननीय बन्न पाएकोमा रम्तेल खुसी व्यक्त गर्छिन्।
 

टोल सुधार समितिको नेतृत्व पछि सांसद


खस आर्य महिलाबाट सांसदमा सिफारिसमा परेकी अम्बिकादेवी सङ्ग्रौलाको खासै पृष्ठभूमि देखिँदैन। उनी हर्क राज राईको श्रम अभियानमा लागेकै कारण बोनसमा समानुपातिकबाट सांसद पद पाउँदै छिन्। स्थायी घर झापा जिल्लाको कमल गाउँपालिका वडा नम्बर ३ (क्याम्पा क्षेत्र) मा रहेको बताउने सङ्ग्रौला विगत लामो समयदेखि धरानमा  बस्दै आएको बताउँछिन्। आफू कुनै ठुलो व्यापारिक घराना वा संस्थामा भन्दा पनि सामान्य टोल विकास संस्थामा आबद्ध भएको बताउँछिन्।

उनी भन्छिन्, ‘धरान उपमहानगरपालिकाका नगर प्रमुखमा हर्क साम्पाङ निर्वाचित भएर आए पछिको श्रम अभियानले मलाई यहाँसम्म पुर्‍याएको हो।’साम्पाङ नगर प्रमुखमा निर्वाचित भएपछि उनकै कार्यशैली र श्रम संस्कृतिबाट प्रभावित भएर आफू यो अभियानमा जोडिएको उनको भनाई छ। श्रम अभियानमा लाग्नुअघि उनी टोल सुधार समितिको अध्यक्ष नै सङ्ग्रौलाको ठुलो नेतृत्वदायी पद थियो।

इन्जिनियर युवा


श्रम संस्कृति पार्टीको समानुपातिकमा परेकी रुविकुमारी ठाकुर पेसाले इन्जिनियर हुन्। जनकपुरस्थित मुजेलियामा स्थायी घर भएकी २६ वर्षीय रुबि  ‘बीई’ (ब्याचलर अफ इन्जिनियरिङ) उत्तीर्ण भएको बताउँछिन्। उनीले आईतबार मात्र धनुषाबाट धरान आएर  समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य निश्चित भएपछि फर्किएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad