राजनीति


खोटाङमा सहमतिबिनै एमाले प्रतिनिधिको नाम भित्तामा टाँसेको आरोप

असन्तुष्ट पक्षले दिए संगठन विभागमा उजुरी
खोटाङमा सहमतिबिनै एमाले प्रतिनिधिको नाम भित्तामा टाँसेको आरोप

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार ९:३३, विराटनगर

एमालेले यही मंसिर २७–२९ गते काठमाडौँमा आयोजना गर्न लागेको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनाेट प्रक्रियाप्रति खोटाङमा विवादमा देखिएको छ। 

निर्वाचन समिति खोटाङले सर्वसम्मत निर्णयमार्फत १० जना प्रतिनिधि चयन भएको सार्वजनिक गरेको छ। निर्वाचन समितिले प्रस्तुत गरेको नामावलीअनुसार खुल्ला, महिला, दलित तथा युवा क्षेत्रबाट प्रतिनिधिहरू चयन भएका हुन्।

खुल्ला तर्फबाट कुमारप्रसाद आचार्य, देवविक्रम राई, पिके राई, रामप्रसाद दंगाल तथा सुरेन्द्रकुमार राई  चयन भएका छन्। युवाबाट जगत राई चयन भएका छन् भने दलित तर्फ दिपक ठटाल  चयन भएका छन्। महिला कोटाबाट कविता राई, विणादेवी राई तथा पुष्पकला भुजेल  सर्वसम्मत भएका छन्।

निर्वाचन समितिले सर्वसम्मत रूपमा नाम सार्वजनिक गरेको भने पनि अर्को समूह भने असन्तुष्ट बनेको छ। छलफल नै नगरिकन नाम भित्तामा टाँसिएको भन्दै प्रक्रियामै नगई नाम घाेषणा गरेको आराेप लगाएको छ। 

मंसिर १३ गतेभित्र सबै जिल्लाले प्रतिनिधि छनाेट प्रक्रिया पूरा गर्न केन्द्रले निर्देशन दिएको अवस्थामा खोटाङमा तोकिएको मितिभन्दा दुई दिन बितिसक्दा पनि निर्वाचन कार्यतालिका प्रकाशित नगरि नाम घाेषणा गरिएकाे असन्तुष्ट पक्षको आराेप छ। 

खोटाङका प्रदेश तथा जिल्ला तहका केही नेताहरूले निर्वाचन समितिलाई बेवास्ता गर्दै आफ्नै गोजिबाट प्रतिनिधि छान्ने प्रयास गरेको आरोप इतर पक्षकाे छ।

नेकपा एमालेभित्र असन्तुष्ट पक्षका कोसी प्रदेश लेखा आयोग सचिव ओम प्रकाश घिमिरेले प्रक्रियामा नै नलगी गोजीका मानिसहरूको नाम प्रतिनिधिमा छनोट गरिएको आरोप लगाउँदै यसलाई पार्टीको आन्तरिक लोकतन्त्र, विधि–विधान र स्थापित प्रक्रियाको खुला उल्लङ्घन भएको आरोप लगाए।  

उनीहरूले नेकपा एमालेको संगठन विभाग प्रमुखलाई सम्बोधन गरी पत्र समेत पठाएका छन्।  

घिमिरेले षड्यन्त्रपूर्ण र कार्यकर्तामाथिको जबरजस्ती निर्णय भएको उल्लेख गर्दै सर्वसम्मतको आधारमा सामूहिक छलफलमार्फत प्रतिनिधि चयन गर्नुपर्ने माग गरिएको बताए।  

लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरी प्रतिनिधि छनाेट गर्नुपर्ने उनीहरूको जोड छ।

नेकपा एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले सर्वसम्मत रूपमा प्रतिनिधि छनोटका लागि आइतबार रातिसम्म पनि छलफल भएको बताएका छन्।

केन्द्रीय पदाधिकारी, निर्वाचन समिति तथा प्रतिनिधिका लागि आकांक्षीहरूसहितको छलफलबाट सर्वसम्मत रूपमा  प्रतिनिधि छनोट गरिएको उनको भनाइ छ। सबैलाई चित्त बुझाउन सक्ने अवस्था नहुने र थोरै प्रतिनिधि जानुपर्ने भएकाले केहीले बिराेध गरेको हुन सक्ने टिप्पणी उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad