नेकपा (एमाले)ले कोसी प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीलाई पार्टीबाट निस्कासन गरेको छ। अध्यक्ष केपी ओलीको चर्को आलोचना गर्दै आएका चाैधरीलाई ११ औँ महाधिवेनको मुखमै पार्टीले कारबाही गरेको हो। नेता चौधरी सुनसरीको इटहरी उपमहानगरपालिका पूर्वप्रमुखसमेत हुन्। उनले एक कार्यकाल सुनसरीको अध्यक्ष भएरसमेत एमालेको नेतृत्व गरेका थिए।
२०७४ सालमा एमालेबाट इटहरीको मेयरमा विजयी भएका चौधरी २०७९ सालको निर्वाचनअघि भने माओवादी केन्द्र प्रवेश गरेका थिए। माओवादीबाट सुनसरी २ (१) बाट उम्मेदवार बनेका उनले त्यतिबेला भने चुनाव जित्न सकेनन्। त्यसपछि फेरि चाैधरी एमालेमै फर्किएका थिए। तर, केही दिनअघि बसेको एमाले कोसी प्रदेश कमिटी बैठकले उनलाई ६ महिनाका लागि पार्टीबाट निस्कासन गरेको छ। यसै सन्दर्भमा चौधरीसँग नेपालखबरले गरेको छोटो वार्ता:
तपाईँलाई पार्टीले कारबाही गर्नुको खास कारण के हो?
मैले हाम्रो पार्टी अध्यक्ष केपी ओलीकाे कार्यशैलीको बारेमा सार्वजनिक रुपमा आलोचना गर्दै आएको थिएँ। त्यही भएर मलाई कारबाही गरियो। हेर्दै जानुहाेला- कारबाही गर्दै जाँदा पार्टीमा केपी ओली एक्लै हुन्छन् अब। महाधिवेशनपछि उनको हालत के हुन्छ देखिन्छ। एक महिना पर्खौँ न अब। धेरै छैन, एक महिना मात्रै हो।
खासमा यतिबेला मलाई कारबाही गर्नै नमिल्ने हो। तिथिमिति तोकेर महाधिवेशनको प्रक्रिया आरम्भ भइसकेको छ। प्रतिनिधिको मनोनयन, छनोट प्रक्रिया सबै तोकिएपछि मलाई कारबाही भयो। यतिबेला नेतृत्वको आलोचना मात्रै होइन, नीति, कार्यक्रम र पार्टीको सिद्धान्तकै बारेमा पनि कुरा उठाउन सकिन्छ। जबजकै बारेमा पनि बहस गर्न सकिन्छ।
ओलीकाे आलाेचनामा मैले अलिक छिटो बाेलेकाे मात्रै हाे। अहिले त एमालेको केन्द्रमा पनि ईश्वर पोखरेलदेखि अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईसम्मले ओलीको आलोचना गरिरहेका छन्। ओलीले उहाँहरू सबैलाई कारबाही गरे हुन्थ्यो नि! मलाई मात्रै किन गर्नु?
तपाईँलाई कोसी प्रदेश समितिले कारबाही गरेको हो कि केन्द्रले?
प्रदेश कमिटीले सिफारिस गर्ने मात्रै हो। हाम्रो पार्टीको विधानअनुसार सम्बन्धित कमिटीका सदस्यलाई सोही कमिटीले कारबाही गर्न मिल्दैन। सिफारिस गर्ने मात्रै हो। मलाई पनि कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएकाे छ। अब मलाई गरिएको कारबाही सिफारिस पार्टी केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ। फेरि केन्द्रीय कमिटीले पनि सबै मुद्दा हेर्दैन। पार्टीको अनुशासन कमिटी पनि छ। अब त्यसले हेर्ला कि? त्यो भन्दाअघि स्पष्टीकरणको पनि मौका दिनुपर्छ, म हेर्दै छु केके गर्छन्।
प्रदेश कमिटीले चाहीँ स्पष्टीकरणको मौकासमेत नदिइ मलाई कारबाहीको लागि सिफारिस गरेको छ। मैले मलाई कारबाही सिफारिस गर्दा रित पुगेको छैन। मैले यो विषय सम्बन्धि कमिटीमा राखेको छु। महाधिवेशनको लागि अस्ति नामांकन पत्र लिएको थिएँ। हिजो नोमिनेसन गर्न जाँदा मलाई दिएनन्। केपी ओलीकै इसारामा मलाई कारबाहीको सबै प्रक्रिया अघि बढाइएको छ। अनि उनका बुख्याचाहरूले मलाई नोमिनेशन गर्न किन दिन्थे? त्यो त मैले बुझेकै छु नि।
तपाईंलाई कारबाहीको कुनै पत्र दिइएको छ?
त्यस्तो पत्र केही दिइएका छैनन्। मौखिक रूपमा मलाई पार्टीको मूल नेतृत्वविरुद्ध खुलेर आलोचना गरेको, पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको जस्ता आरोप लगाइएको छ। मैले बोल्दा कसरी पार्टी कमजोर भयो? त्यो मैले बुझेको छैन।
अध्यक्ष ओलीले तपाईँ जस्तो पुरानो र स्थापित नेतालाई कारबाही गर्न किन निर्देशन दिए हाेलान्?
त्यो त प्रष्टै छ नि। महाधिवेशनमा म गएँ भने अध्यक्षमा उनलाई भोट हाल्दिनँ। उनलाई भोट नहाल्नको लागि महाधिवेशन प्रतिनिधिहरूलाई पहल गर्छु भन्ने ओलीले बुझेका छन्। आफूलाई भोट नहाल्नेलाई तलै खलास गर्दिने उनको नीति हो। त्यही अनुसार यो सबै हुँदैछ। यो पूरै योजनावद्ध छ।
महाधिवेशनको लागि यही मंसिर १३ गते देशैभरिबाट प्रतिनिधि छनोट हुँदैछन्, अब तपाईँ के गर्नुहुन्छ?
मलाई त पार्टीको साधारण सदस्यसमेत नरहनेगरि ६ महिनाको लागि कारबाही गरिहाले। अब मलाई महाधिवेशनका कुनै पनि गतिविधिमा सहभागी हुन दिँदैनन्। यो केपी ओलीको निरंकुशता हो। पार्टीमा लोकतन्त्र कि निरंकुशता भन्ने इस्यु नै यो महाधिवेशनको मुख्य कुरा हो। पार्टी पुनर्गठन हुने कि ओलीको निरन्तरतामा जाने, जनवाद कि डनवाद भन्ने बहस नै छ नि अहिले हाम्रो पार्टीमा।
तपाईँले आफूलाई ६ महिनाको लागि निष्कासन गरिएको छ भनेर कसरी जानकारी पाउनु भयो?
प्रदेशको सर्कुलरमा गएको छ रे जिल्ला जिल्लामा। मिडियाहरूमा पनि समाचार आएका छन्।
प्रदेशका कुनै नेताले तपाईँलाई यसरी कारबाही गरिएको छ भनेर पनि जानकारी गराएनन्?
मलाई त्यसरी भन्ने हिम्मत त कसैले गर्दैनन्। यसले पनि यहाँका नेताहरूको खुट्टी कत्रो छ भन्ने देखाउँछ। म एमालेको जिल्ला अध्यक्ष हुँदा अहिले मलाई कारबाहीको लागि सिफारिस गर्नेहरू सबै जिल्ला सदस्य थिए। अहिले आशिर्वादबाट उनीहरू प्रदेश र केन्द्रका सदस्य भएका छन्।
तपाईँ पार्टी महाधिवेशनको मुखमा कारबाहीमा पर्नुभयो, अब के गर्नुहुन्छ?
म महाधिवेशनमा ईश्वर पोखरेललाई अध्यक्षमा जिताउनको लागि निकै अघिदेखि पूरै पहल गर्दैछु। अब पनि म निरन्तर त्याे गर्छु। निकै अघिदेखि नै विद्या भण्डारी, ईश्वर पोखरेलको पक्षमा खुलेको मान्छे हो म। मेरो प्रभाव कस्तो रहेछ, महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि ओलीले चाल पाउँछन्।
तपाईँले अध्यक्ष ओलीको के भनेर आलोचना गर्नु भएको थियो?
मुख्यरुपमा मैले पछिल्लो समय गएको भदौ २३ गते जेनजी आन्दोलनमा जुन नरसंहार भयो, त्यसको जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले लिनुपर्छ भनेको थिएँ। ओलीकै हठ र अहंकारको कारणले यो सबै भएको हो।
मैले केपी ओलीलाई त आजीवन कैद गर्नुपर्छ भन्दै आएको छु। फेसबुकमै भनेको छु याे कुरा। मृत्युदण्डको व्यवस्था त छैन नेपालमा। त्यही भएर आजीवन कैदको माग गरेको हुँ। २३ गते नरसंहार गरेका उनले त्यतिबेलै राजीनामा दिएको भए २४ गते यो देश जल्ने थिएन।
तपाईँलाई मात्रै हो कि काेसीमा अरुलाई पनि कारबाही गरिएको छ?
अरु केही नेतालाई पनि काबारही गरिएको सुनेको छु। केहीसँग स्पष्टीकरण मागिएको छ रे। वुद्धिजीवि परिषद्का बद्री विशाल पोखरेल र काँसी दंगालसँग स्पष्टीकरण माग गरिएको छ। उनीहरूले पनि मैले जस्तै केपी ओलीविरुद्ध सामाजिक सञ्जालमा लेखेको, बोलेको विषयमा त्यसो गरिएको हो।
तपाईँ अब के गर्नु हुन्छ? कारबाहीलाई स्वीकार्नुहुन्छ कि फरक ढंगले जानु हुन्छ?
हेर्नुस्, पाण्डवलाई जुवामा छलपूर्वक हराइएको थियो। त्यसपछि उनले १२ वर्ष वनवास र एकवर्ष गुप्तवास स्वीकारेका थिए। म पनि वनवास र गुप्तवास कटाउँछु। एमाले त द्वारिकलाल चौधरीले पनि बनाएको पार्टी हो नि। त्यसपछि मेरो भागमा एमालेको राजनीति कति पर्छ म हेर्छु। सल्लाहले दिन्छन् कि थप लड्नुपर्छ हेर्छु। त्यतिबेला म सिंगै हस्तिनापुर भोग गर्न सक्छु भन्ने मलाई लाग्छ।
तपाईँलाई त महाधिवेशनको प्रतिनिधि बन्नैबाट रोकेपछि कसरी होला र त्यो सबै?
रोकेर के भयो त? महाधिवेशनपछि केपी ओली ढुस जान्छन्। मेरा मान्छे (ईश्वर पोखरेल) अध्यक्ष हुन्छन्। त्यसपछि म पार्टीको केन्द्रीय सदस्य भैहाल्छु नि! ‘जिसका लाठी उसका भैँस’, मेरो जिम्मेवारी आयो भने केपीका गुण्डाहरूलाई अनि किक हान्छु।
यो महाधिवेशनबाट केपी ओली अध्यक्षमा विजयी हुँदैनन् भन्ने तपाईँलाई यत्रो ठूलो विश्वास छ?
हैट! केपीलाई पनि अब भोट हाल्नु भनेको त आफू पनि अपराधिको सूचीमा पर्नु हो। सबैले सुन्नेगरि मैले याे भनिसकेँ नि। अब पनि कसैले केपीलाई भोट हाल्छ र? अब पनि केपीलाई भोट हाल्ने त मान्छे नै होइन। त्यो त फोहोर मैला खाने पशु हुनुपर्छ।
तपाईँ इटहरीको मेयरको कार्यकाल सकिएपछि माओवादी प्रवेश गरेर प्रदेश सभामा निर्वाचन लड्नुभयो। पराजित भएपछि फेरि एमालेमै फर्किनु भयो। अहिले फेरि याे लफडा गर्दै हुनुहुन्छ। यसले तपाईँको छबीलाई अलिक अविश्वसनीय बनाएन र?
पराजित त केपी ओली पनि भएका थिए- पहिलो संविधान सभा निर्वाचनमा। माधव नेपाल पनि हार्नु भएको थियो। रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीमा १७ पटक पराजित हुनु भएको थियो। त्यतिबेला पार्टी एकता गर्दा कोही माओवादीमा फर्किए, कोही केपीतिरै बसे। ती कुरा छाडौँ। शेरबहादुर देउवाले पनि पार्टी फुटाएका थिए। मदन भण्डारी पनि पहिला पुष्पलालको समूहमा थिए। पछि विद्रोह गरेर रातो भण्डा मुक्ति मोर्चा कि के बनाएका थिए उनले। अहिले हाम्राे पार्टीका केही मान्छे केपी ओलीको देवत्वकरण गर्दैछन्। मैले त्यसो गरिनँँ। उनको आलोचना गरेँ। तावेदारी गरिनँ, दास बनिनँ। दासत्व स्वीकार नगर्ने भनेर कम्युनिस्ट पार्टीमा लागेको हुँ म। यिनीहरूले मलाई फेरि हली बनाउने प्रयास गरे। मैले मानिनँ।
यी सबै गतिविधि तपाईँले नव गठिन नेपाली कम्युनिस्ट पार्टीमा जानको लागि त गर्नु भएको होइन नि?
होइन। मान्छेहरू स्वार्थको रोटी सेक्न खोज्दैछन्। जनार्दनले प्रचण्डसँग भविष्य देख्दैनन्, अनि बाबुरामसँग जान्छन्। माधव नेपाल, झलनाथ खनाल बरु प्रचण्डलाई विश्वास गर्छन्, ओलीलाई गर्दैनन्। रामकुमारी झाँक्री केपी ओलीलाई दुनियाँभरको गाली गरेर फेरि केपी ओलीतिरै टाँसिन जान्छिन्। नेपाली राजनीतिमा देश, जनता र क्रान्तिको कुरा गर्ने, आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृति धेरै छ।
भनेपछि एमालेले कारबाही गरे पनि तपाईँले अहिले एमाले छाड्नुहुन्न?
हेर्नुस् यिनीहरू (एमालेका नेता) लाई भोट मैले नै मागिदिनुपर्छ। केपी ओली इटहरीमा आएर एमालेलाई भोट दिनुस् भन्दा अब कसले पत्याउँछ? एमालेलाई भोट त यहाँ मैले नै मागिदिनुपर्छ। यो फागुन २१ को चुनावमा पनि एमालेलाई मैले नै भोट मागिदिनुपर्छ। त्यो चुनावअघि नै मेरो कारबाही फुकुवा गर्छन्, हेर्दै जानुस्। मलाई कारबाही गरिराखेर तिनका मञ्चबाट भाषण कसले गरिदिन्छ एमालेलाई भोट माग्दै?
Shares

प्रतिक्रिया