ad ad

राजनीति


कोशी प्रदेश : ३७ दिनमै सभामुख र मन्त्री पद गुम्दा के भन्छन् बाबुराम गौतम?

कोशी प्रदेश : ३७ दिनमै सभामुख र मन्त्री पद गुम्दा के भन्छन् बाबुराम गौतम?

नेपालखबर
भदौ २२, २०८० शुक्रबार ८:५१, काठमाडौँ

कोशी प्रदेशमा सरकार ढाल्ने र नयाँ बनाउने खेल चलिरहेको छ। 

बिहीबार मात्रै सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ। 

गठबन्धनको तर्फबाट दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका कांग्रेस नेता थापाको पद ३७ दिनमै गुमेको छ। सर्वोच्चको परमादेशअनुसार शनिबारसम्म एमाले नेता कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री नियुक्त हुनेछन्। 

कोशी प्रदेशमा सरकार ढाल्ने र नयाँ बनाउने राजनीतिक किचलोको सबैभन्दा धेरै चेपुवामा परेका पात्र हुन्- माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम। 

मजदुर पृष्ठभूमिबाट माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका गौतम गएको ४ मंसिरमा भएको निर्वाचनमा ओखलढुंगा प्रदेशसभा (ख)बाट निर्वाचित भएका थिए। 

गएको पुस २७ मा कोशीको सभामुखमा नियुक्त गौतम दलहरुबीचको राजनीतिक खिचातानीको कारण गएको साउन १६ गते कोशी प्रदेशसभाको सभामुखबाट राजीनामा दिन बाध्य भएका थिए। त्यतिबेला उनले आफूलाई सभामुखबाट राजीनामा दिन मन नभएपनि पार्टी नेतृत्वको निर्देशनअनुसार राजीनामा दिनुपरेको गुनासो गरेका थिए। 

त्यसको भोलिपल्टै कोशी सरकारको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका गौतमको त्यो पद पनि ३७ दिनमै (बिहीबार)गुमेको छ। 

सरकार गठनको लागि गठबन्धनलाई बहुमत जुटाइदिन छँदाखाँदाको सभामुखबाट राजीनामा दिएर राजनीति विकृतिको सुरुवात गरेको आरोप पनि उनी खेपिरहेका छन्। 

३७ दिनभित्र दुबै पद (सभामुख र आर्थिक योजनामन्त्री) गुमाउनु पर्दा उनी के सोचिरहेका होलान्? धेरैलाई चासो छ। 

बिहीबार साँझ कोशीका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्चले पदमुक्त गरेपछि गौतमले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

अदालतको निर्णयले कोशी प्रदेशको राजनीतिलाई झन् अन्योलपूर्ण बनाएको उनको टिप्पणी छ। 

‘अदालत सहि होला सायद?’ बिहीबार साँझ मन्त्री पदबाट मुक्त भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोशी राजनीति झन् अन्योलपूर्ण दिशामा। तथापि बधाई नयाँ सरकार!’

बुधबार साँझ कोशीको मन्त्री पदबाट मुक्त भएका गौतम आज (शुक्रबार) बिहानै बिराटनगरबाट काठमाडौँ आएका छन्। 

आफू पार्टी अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सबेरै काठमाडौं आएको उनले बताए। 

‘अध्यक्ष कमरेडलाई भेटेर आजै दिउँसो विराटनगर फर्किनु छ,’ केहीबेरअघि गौतमले नेपालखबरसँग भने, ‘उता मैले मन्त्रालयमा बुझबुझारथ गर्न बाँकी छ। त्यसको लागि पनि आजै जानु छ।’

‘३७ दिनमा सभामुख र मन्त्री दुबै पद गुमाउनुपर्दा कस्तो लागेको छ?’ नेपालखबरको जिज्ञासामा गौतमले भने, ‘म १४ वर्षको उमेरदेखि राजनीतिमा लागेको मान्छेलाई यी सबै सामान्य कुरा हुन्। सभामुख र मन्त्री मलाई पार्टीले बनाएको हो। पार्टी नेतृत्वले भनेपछि सभामुखबाट  त्यतिबेला राजीनामा दिएको थिएँ। सर्वोच्च अदालतको निर्णयअनुसार हिजो मन्त्री पद पनि गयो। राजनीतिमा यस्तो हुन्छ। यो कुनै ठूलो विषय होइन।’

गएको २७ पुसमा गौतम एमालेकोसमेत समर्थनमा सर्वसम्मत रुपमा कोशी प्रदेशको सभामुख नियुक्त भएका थिए। एमाले-माओवादी गठबन्धनबाट उनी त्यतिबेला कोशीको सभामुख बनेका थिए। त्यो पदमा उनी साढे ६ महिना रहे। 

केन्द्रमा भएको सहमति अनुसार गठबन्धनको सरकार बनाउने योजनासहित एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि गौतमको सभामुख पद धरापमा परेको थियो। 

गाैतम सभामुखको पदमा बसिरहँदा गठबन्धनको सरकार बनाउन आवश्यक सांसद संख्या नपुग्ने भयो। त्यसपछि केन्द्रमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार उनलाई सभामुखबाट राजीनामा दिन बाध्य पारिएको थियो। पार्टी नेतृत्वको निर्देशनमा उनले गएको साउन १६ गते सभामुखबाट राजीनामा दिएका थिए। 

गौतमकोसमेत हस्ताक्षरमा हस्ताक्षरमा बहुमत दाबी गर्दै गत असार २१ गते कांग्रेसका उद्धव थापा कोशीको मुख्यमन्त्री बनेका थिए। 

तर गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले थापाको नियुक्ति त्यतिबेला पनि २२ दिनमै रद्द गरिदिएको थियो। 

हिजो सर्वोच्चले थापालाई पदमुक्त नै गरेपछि कांग्रेस-माओवादीसहितका दलहरुको गठबन्धन अप्ठ्यारोमा परेको छ। जसको सबैभन्दा ठूलो मार यतिबेला कोशीका पूर्वसभामुख बाबुराम गौतम व्यहोरिरहेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .