नेकपा माओवादी केन्द्र संसदीय दलले प्रदेश १ को सरकारको आलोपालो नेतृत्वको सहमति नभएसम्म सरकारमा नजाने निर्णय गरेको छ।
सोमबार बसेको दलको बैठकले केन्द्रमा ५ वर्ष पूरा कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने विषय नसच्याएसम्म सरकारमा सामेल नहुने निर्णय भएको प्रदेश सभा सदस्य गणेश उप्रेतीले बताए।
केन्द्रमा बनेको गठबन्धनअनुसार आइतबारमात्र माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेशमा एमालेका नेता हिक्मत कार्की प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।
उनले सोमबार सानो मन्त्रिमण्डल गठनको तयारी समेत गरेका छन।
मुख्यमन्त्री कार्कीले माओवादी सरकारमा सहभागी नहुने भएसँगै सत्ता गठबन्धनभित्रका अन्य घटकको सहभागितमा सरकार गठनको तयारी गरेका छन्।
सोमबार हुने भनिएको मन्त्रिपरिषद् विस्तारमा एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जना मन्त्री रहने तयारी थियो।
माओवादी केन्द्र दुर्गा प्रसाद चापागाईंको नेतृत्वमा सरकारमा जाने तयारी थियो।
यसअघि एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको बताइएको थियो। केन्द्रको सहमति अनुसार सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेको छ।
प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
प्रतिक्रिया