कर्णाली प्रदेशलाई विकासको मुलधारमा ल्याउन मिलेर अघि बढ्ने सांसदहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।
शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको सातौँ संस्करणमा ‘कर्णालीका सुइना’ सत्रका वक्ता प्रतिनिधि सभा सदस्यहरूले कर्णालीका मुद्दा संघीय संसद्का माध्यमबाट उठाउने बताएका हुन्। उनीहरूले कर्णालीको समर्ग विकासमा हुनुपर्ने जति नभएको तर केही नभएको भन्ने गलत भएको जिकिर गरे।
कर्णाली उत्सवमा बोल्दै सुर्खेत-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेशकुमार सापकोटाले निर्वाचन क्षेत्र केन्द्रित नभई समर्ग कर्णालीको चित्र बदल्ने सपनाका साथ भूमिका निर्वाह गर्ने बताए। ‘मैले निर्वाचनमा जाँदा केही वाचा गरेको थिएँ, ती वाचाहरू जनताको जीवनसँग जोडिएका थिए,’ सापकोटाले भने, ‘वीरेन्द्रनगरबाट पश्चिम जाँदा निकै कमजोर रहेको पाइयो। पश्चिमलाई पनि वीरेन्द्रनगरसँग जोड्ने र वीरेन्द्रनगरसँग मेल खानेगरी विकास र योजनाहरुमा मेरो पहल हुनेछ।’
उनले हाल अलपत्र परेका योजनालाई पूर्णरुपमा कार्यान्वयन गराउन भूमिका खेल्न प्रतिबद्धता जनाए। ‘हामीले देखेका कुरा र सपनाभन्दा अहिलेको सरकारले त्यहाँभन्दा माथि सोचेर काम गर्ने सोचेको छ, प्रधानमन्त्री बालेन साहले कर्णालीमै आएर पनि भन्नु भएको छ। ति वाच पूरा गर्न हामी सरकारलाई घचघच्याउँछौँ। सबैको कुरा यही हो,’ सापकोटाले भने।
यस्तै, जाजरकोटबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले कर्णाली सम्भावनाको खानी भए पनि सुनको थालीमा भीख माग्न बाध्य भएको दृष्टान्त सुनाए। ‘कर्णाली हाइड्रोको हब हो। नलसिंगाड, जगदुल्ला, फुकोट, अपरकर्णाली जस्ता हाइड्रो पावरहरू कर्णालीमा छन्, यी आयोजनालाई पूर्णता दिन पहल गर्नुपर्नेछ,’ बुढाले भने।
जडीबुटीको सम्भावनालाई उजागर गरेर त्यसको बजारीकरण र औद्योगिकीकरणमा पहल गर्नु आफ्नो पहिलो भूमिका हुने उनको भनाइ थियो।
दैलेखबाट निर्वाचित नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णालीको सभ्यता नेपालको सभ्यता हो पनि भन्ने र हामी विपन्न पनि छौँ भन्ने अवस्था परिवर्तन गर्न संघीय संसद्मा भूमिका खेल्ने बताए। ‘उतिबेला तिब्बतको खारी क्षेत्रबाट नुन, सुन हाडसिंजा आउँथ्यो र त्यहाँ हामी सबै क्षेत्रका मान्छे पुगेर ल्याउँथ्यौँ। त्यसैले त्यसलाई हाडसिँजा भनिएको होला,’ पोखरेलले भने, ‘कैलाश, ज्वाला र सिँजा सभ्यतालाई एउटै डालोमा राखेर विश्लेषण गर्दा कर्णाली सभ्यता र त्यसबाट नेपाली सभ्यता देखिन्छ। कर्णालीले यो मुलुकलाई भाषा दियो। त्यसैले कर्णाली इतिहासमा विराट छ। अब मेरो योजना पेट्रोलियम पदार्थको उत्खनन् गर्ने छ, यस विषयमा म सरकारलाई घचघच्याउँछु।’
यस्तै, सल्यानबाट निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले कर्णाली बदल्ने सपनाका साथ संसद्मा उभिएको बताए। ‘हामीले हिजो व्यवस्था परिवर्तनका लागि थुप्रैले योगदान गरका छौँ। तर अहिलेको व्यवस्थामा भ्रष्टाचार बेथिति बढ्यो। अब त्यसलई न्यूनीकरण गर्नुपर्ने अभिभारा हामी माझ छ,’ मल्लले भने, ‘हामीले कर्णाली बदल्नका लागि सपना देखेका छौँ, यहाँका जनताले त्यसैका लागि हामीलाई पठाएका छन्। यहाँको एक तिहाई जनसंख्या गरिबीको रेखामुनी छ, अन्य तथ्याङ्कमा पनि हामी पछि छौँ। त्यसैले समग्र कर्णालीको परिवर्तनका लागि सबैजसो एजेन्डामा रहेर काम गर्नुपर्नेछ।’
कर्णाली उत्सवमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले कर्णालीको स्वास्थ्य र शिक्षामा धेरै काम गर्न बाँकी रहेको बताइन। त्यसका लागि असल नीति आवश्यक पर्ने र नीति निर्माणमा आफूले निर्णायक भूमिका खेल्ने उनको भनाइ थियो। ‘समान स्वास्थ्य उपचार, समान शिक्षा आजको आवश्यकता हो। साथै, सामाजिक न्याय र रोजगारीको क्षेत्रमा पनि हामीले काम गर्नुपर्ने छ,’ रम्तेलले भनिन्।
विगतमा सबैजसो दलललाई मिलाएर भोट दिएको उल्लेख गर्दै जनअपेक्षा अनुसार काम नभएको दृष्टान्तलाई तोड्न संसदमा आफुले भूमिका खेल्ने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया