राजनीति


सल्यानमा रास्वपाको प्रचार गाडी मदिरा र चामलसहित नियन्त्रणमा

सल्यानमा रास्वपाको प्रचार गाडी मदिरा र चामलसहित नियन्त्रणमा

नेपालखबर
फागुन १८, २०८२ सोमबार १२:५५, सुर्खेत

प्रहरीले सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रचारप्रसारमा संलग्न गाडीमा मदिरा र चामल लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको छ।

सोमबार बिहान बनगाडकुपिण्डे नगरपालिकास्थित सल्लिबजारबाट प्रहरीले बोलोरो गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्लिबजारबाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१-०१८ च ०४२९ नम्बरको बोलेरो मदिरा र चामलसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले सोमबार बिहान करिब ८ बजे गाडीमा सात कार्टुन रक्सी, दुई कार्टुन बियर, दुई बोरा चामल र तीन कार्टुन खानेतेल भेटिएको बताए। उनका अनुसार पार्टीको प्रचारप्रसारमा प्रयोग भएको उक्त गाडीमा पार्टी झण्डा, ब्यानर र साउण्ड बक्स समेत रहेको थियो। 

यसैबीच रास्वपा बनगाडकुपिण्डे नगरपालिका नगर समितिले सामाजिक सञ्जालमा पार्टीको प्रचारप्रसारका क्रममा मदिरा र चामल वितरण गरिएको भन्ने हल्ला निराधार भएको जनाएको छ। नगर समितिका सभापति लोकेन्द्र वलीद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत फैलाइएको उक्त विषयप्रति गम्भीर आपत्ति जनाउँदै भ्रामक प्रचार गरिएको दाबी गरिएको छ। 

फागुन १७ गते प्रयोग गरिएको सवारी साधनमा मदिरा र चामलजस्ता सामग्री रहेको देखिए पनि उक्त सामग्री पार्टीले वितरणका लागि प्रयोग गरेको नभएको रास्वपाको भनाइ छ। ती सामग्रीहरू व्यक्तिगत वा स्थानीय सहयोगमार्फत ढुवानी गरिएको हुन सक्ने उल्लेख गर्दै यसमा रास्वपाको कुनै संलग्नता नरहेको जनाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad