राजनीति


जनार्दन शर्माको पार्टीमा लागेका कर्णालीका पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

जनार्दन शर्माको पार्टीमा लागेका कर्णालीका पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

दिनेश बुढा
माघ २९, २०८२ बिहिबार ९:२, सुर्खेत

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले प्रदेशका पूर्वमुख्यमन्त्री तथा सांसद राजकुमार शर्मालाई पार्टी सदस्यताबाट निष्कासन गरेको छ। 

शर्मालाई निष्कासन गरिएको पत्र नेकपा संसदीय दलले प्रदेशसभा सचिवालयलाई पठाएको हो।

नेकपा कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले शर्माले दलको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत गतिविधि गरेको भन्दै कारबाही गरिएको पत्र प्रदेशसभामा पठाएका हुन्। 

पार्टीले कारबाही गरेसँगै शर्माको प्रदेशसभा सदस्यको पद र दलसम्बन्धी सुविधा र अधिकार पनि गुमेको छ। 

नेकपा केन्द्रीय कार्यालयको २०८२ असोज १६ गतेको पत्र तथा केन्द्रीय समितिको निर्णयअनुसार कर्णाली प्रदेश संसदीय दलको बैठकले उनलाई निष्कासन गर्ने निर्णय गरेको थियो। 

प्रमुख सचेतक जिसीले प्रदेशसभा सचिवालयलाई जानकारी गराउँदै शर्मालाई दलको सदस्यबाट निष्कासन गरिएको औपचारिक जानकारी दिएको बताए। 
 
‘उहाँले जानी–जानी दलको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत गतिविधि गर्नु भएकोले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा २ र ४ बमोजिम हाम्रो दलको सदस्यबाट निष्कासन गरिएको हो,’ सचेक जिसीले भने। 

यस्तै, नेकपाले शर्मामाथि प्रदेशसभा सचिवालयलाई आवश्यक कानुनी व्यवस्था गर्न अनुरोध गरेको छ। 

नेकपा माओवादी केन्द्रबाट गत प्रदेशसभा निर्वाचनमा रुकुमपश्चिमबाट निर्वाचित भएका शर्मा दलको नेता हुँदै कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए। 

उनी नेकपा माओवादीले अन्य दलहरुसँग एकता गरेर नेकपा बनाएपछि जनार्दन शर्माले खोलेको नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका थिए। उनी हाल उक्त पार्टीको कर्णाली प्रदेश इन्चार्जको भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad