राजनीति


वीरेन्द्रनगरलाई आधुनिक सहर बनाउने कँडेलको प्रतिवद्धता, यस्ता छन् अरु योजना

वीरेन्द्रनगरलाई आधुनिक सहर बनाउने कँडेलको प्रतिवद्धता, यस्ता छन् अरु योजना

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै यामलाल कँडेल। तस्बिर : नेपालखबर


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १२:५४, सु्र्खेत

नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् यामलाल कँडेल। कर्णाली प्रदेश इन्चार्ज रहेका उनी सुर्खेत निर्वाचन क्षेत्र  नम्बर-१ प्रदेश सभा '१' बाट उम्मेदवार छन्।

पहिलो कार्यकाल सांसदमै सीमित उनी यस पटक मिलेसम्म मुख्यमन्त्रीको दौडमा छन्। उनैले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। 

शुक्रबार आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै कँडेलले कर्णालीको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित र आधुनिक सहरका रुपमा विकास गर्ने बताए।

कँडेलले `समृद्ध नेपाल, सुखी नेपालीको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार´ र सुशासनका पहरेदार, विकासका योजनाकार कर्णाली आशा, सुर्खेतको भरोसा भन्ने मूल नारासाथ २८ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन्। 

 उनले संविधानको मार्गदर्शन, क्षेत्राधिकार र कर्णाली प्रदेशको आवश्यकता तथा विद्यमान अवस्थालाई मध्यनजर गर्दै जनपक्षीय कानुन निर्माण गरी कार्यान्वयन गर्न पहल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक विकास गरिने, सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लामा उडानका लागि आवश्यक व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।

वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माणलाई पूर्णता दिइने, वीरेन्द्रनगरमा प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल गर्ने, वीरेन्द्रनगरका सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरबासीको हित अनुकूल प्रयोग नीति बनाइने उनले  बताएका छन्। 

त्यसैगरी वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि गुरुयोजनाको पुनरावलोकन गरि कार्यान्वयनमा जोड दिइने,  घुस्रा, रहरपुर, पसेनी हुँदै निकास खोलासम्म हुने डुबानलाई समाधान गर्न खोर्के, इत्राम र नेवारे खोलाहरूको मुहानदेखि निकाससम्म तटबन्धन तथा संरक्षणको व्यवस्था मिलाइने पनि बताए। 

यस्तै, उपत्यकाकाको खानेपानी संकटको दीर्घकालीन समाधानका लागि पहल गरिने पनि उनले बताएका छन्। त्यसका लागि प्रस्तावित भेरी पम्पिन आयोजना समयमा सम्पन्न गर्न जोड दिने उनको वाचा छ। 

प्रतिवद्धता पत्रमा निर्माणधीन प्रादेशिक रंगशालालाई समयमै सम्पन्न गर्न पहल गर्दै अन्य खेल पूर्वाधारको विकास गरिनेछ सरकारी कार्यालय रहेको क्षेत्रलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र (मिनी सिंहदरबार) का रूपमा विकास गरिने,  काँक्रेविहार, देउतीबज्यै, बुलबुले, शहिदपार्क, घण्टाघर, सत्यकाँडा, सिद्धपाइला, रानीघाट र गढीलगायत स्थलहरूलाई विशेष पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्न पहल गरिने उल्लेख छ।

कँडेलले आफ्ना चुनावी प्रतिबद्धतामा १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजनालाई समयमै सम्पन्न गर्न पहल गरी हाल देखिएको समस्यालाई समाधान गरिने बताएका छन्। 

कोहलपुर-सुर्खेत सडकखण्डलाई 'फोर लेन' मा स्तरोन्नति, मूलपारी रानीघाट-तेलपानी-भुरीगाउँ सडक निर्माण गर्नुका साथै बामेखोला-भेरीपुल निर्माणाधीन सडकको स्तरोन्नतिमा जोड दिइने उनको योजना छ। सुब्बाकुनादेखि कोलडाँडासम्म उपत्यकाको बीच भागमा हटलाइन सडक निर्माणका लागि पहल गर्ने उनले जनाएका छन्। 

वीरेन्द्रनगरको ट्राफिक समस्याको समाधान गर्न जोड दिइने पनि उनले बताएका छन्। सुर्खेत विमानस्थल जाने इत्रामखोला, देउतीबज्यै मन्दिर जाने नेवारेखोला, वीरेन्द्रचोकदेखि यरीचोकसम्म जाने खोर्केखोला र पर्सेनी खोलामा पुल तथा कल्भर्टहरू निर्माण गरिने योजना पनि अघि सारिएको छ।

प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न पहल गरिने पनि उनले जनाएका छन्। 

सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाइने उनको योजना छ। 

वीरेन्द्रनगरमा अत्याधुनिक विधि विज्ञान प्रयोगशाला स्थापनाका लागि पहल गरिने उनले जारी गरेका प्रतिबद्धतामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad