हिजो एउटै नेपाल कम्युनिस्ट पार्टी बनाएर सरकार चलाएका एमाले र माओवादी केन्द्र अहिले फेरि सँगै छन्, गठबन्धन सरकारमा। यी मुख्य दुई कम्युनिस्ट पार्टीसहितको गठबन्धन सरकार बन्दा फेरि पार्टी नै एकता हुने हो कि भन्ने चर्चा छँदैछ। यही सन्दर्भमा शनिबार माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले खुलेर फेरि कम्युनिस्ट एकताको कुरा गरे।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट सापकोटा कतिपय मामिलामा खुलेर बोल्छन्। अहिले उनले फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको दाबी गर्नुका खास केही आधार छन् त? एकताको तयारी अगाडि नै बढिसकेको हो? यस सन्दर्भमा अग्नि सापकोटासँग नेपालखबरले गरेको संक्षिप्त वार्ता —
तपाईंले फेरि कम्युनिस्ट पार्टीको पुनर्गठन भइरहेको छ भन्नु भएछ। त्यो कसरी, कहिले हुँदैछ? एमाले अध्यक्ष केपी ओलीले त यो वाम वा कम्युनिस्ट समीकरणको सरकार होइन भन्दैछन् त?
यो वामपन्थी एकीकरण भनेको कार्यगत एकताजस्तो हो। मोर्चाजस्तो हो। इस्यु मिल्नेहरूसँग खुकुलो मोर्चा बनाउने कुरा हो। वृहत् वामपन्थी एकतालाई कम्युनिस्ट पार्टीको पुनर्गठन भन्ने शब्दावली मैले किन प्रयोग गरेको हो भने हिजो कम्युनिस्ट पार्टीको एकता भएको थियो। त्यो एकताको रक्षा गर्न सकिएन। अब फेरि कम्युनिस्ट पार्टीको पुनर्गठन अनिवार्य छ। नेपाली जनताले वृहत् वामपन्थी एकता पनि चाहन्छन् र कम्युनिस्ट पार्टीको पुनर्गठन पनि चाहन्छन्।
किनभने, नेपालीहरूलाई वामपन्थी र कम्युनिस्टहरूले मात्रै राष्ट्रियता र जनजीविकाका समस्याहरू समाधान गर्न सक्छन् भन्ने छ। नेपाली जनताले कम्युनिस्ट पार्टीको पुनर्गठन होस् भन्ने चाहन्छन्। त्यसकारण पुनर्गठनको आवश्यकता अपरिहार्य छ।
खुकुलो प्रकारको मोर्चा बनाउने कुरा पनि रहेछ, यो को कोसँग बन्दैछ?
अनि बृहत् वामपन्थी एकीकरणमा को को आउँछन्? यसमा एमाले र माओवादीसँगै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी र र बाबुराम भट्टराईको नेसपा पनि समेटिन्छन्?
को को आउँछन् भन्ने हो। राष्ट्रिय र विकास निर्माणसम्बन्धी साझा दृष्टिकोटकोण अनुसार हुने हो। खासगरी वामपन्थी दलहरूकोबीचमा एकता हुनसक्छ। त्यो त छलफल गर्दै जाँदा हुने कुरा हो। अहिले यसै भन्न सकिँदैन।
तपाईंले ‘वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ’ भन्ने कतिपयको भनाइ खारेज गर्नु भएछ। हिजो त्यत्रो कम्युनिस्ट पार्टीको सरकार बन्यो, न सरकार रहन सक्यो, न देश विकास भयो नि होइन?
हिजो केही त्रुटिहरू रहे। कमजोरी रहे। त्यसको गम्भीर समीक्षासहित कम्युनिस्ट पार्टीको पुनर्गठन सम्भव छ। त्यो गर्न सकिन्छ। हामी त्यसको समीक्षा गर्दै बृहत् वामपन्थी एकीकरण पनि गर्छौँ। र अन्ततः कम्युनिस्ट पार्टीको पुनर्गठन पनि सम्भव छ। नेपालको सन्दर्भमा त्यो आवश्यक पनि छ।
हिजोको कम्युनिस्ट एकता किन जोगिएन्? मुख्य कसको कारणले टुटेको हो र?
त्यो त समीक्षा गरेपछि गम्भीरतापूर्वक गर्नुपर्छ। एक अर्कालाई दोष दिने भन्दा पनि वस्तुवादी हिसाबले विषयको स्पष्ट छलफल गरिसकेपछि ठ्याक्कै मात्रामा कम बेसी होला। तर, कम्युनिस्ट पार्टीको हिजोको विघटनमा हामी सबैको कमजोरी छ। गम्भीर छलफल गरेर फेरि कम्युनिस्ट पार्टीको पुनर्गठन गर्न सकिन्छ र गर्नैपर्छ भन्ने मेरो धारणा हो।
नेपालमा पछिल्लो समय कम्युनिस्ट एकता भन्नेबित्तिकै चीनको भूमिकाको कुरा गरिन्छ। हिजोजस्तै के फेरि पनि चीनको सद्भाव रहेकाले कम्युनिस्ट एकता हुन लागेको हो?
होइन। त्यो विल्कुल होइन। यहाँ कसैलाई पनि जोड्नु आवश्यक छैन। यो नेपालीको, नेपालका कम्युनिस्ट पार्टीहरूको विसुद्ध आन्तरिक मामला हो। यसमा हाम्रो स्वतन्त्र निर्णयले काम गर्छ। अब हाम्रा विदेशी मित्रहरूले चाहन्छन् पनि होला। कोहीले केही चाहन्छन्, कोहीले केही चाहन्छन्। तर, यो हाम्रो आन्तरिक कुरा हो। आन्तरिक रुपमै यो निष्कर्षमा पुग्छ।
Shares

प्रतिक्रिया