राजनीति


‘मुस्ताङ त महिलाले हाँकेको रहेछ’ भन्दै प्रधानमन्त्रीले खिचाइन् सीडीओ र डीएसपीसँग तस्बिर

‘मुस्ताङ त महिलाले हाँकेको रहेछ’ भन्दै प्रधानमन्त्रीले खिचाइन् सीडीओ र डीएसपीसँग तस्बिर

मुस्ताङ जिल्ला प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई दायाँबायाँ राखेर प्रधानमन्त्री कार्की। तस्बिर : रामबहादुर रावल


नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १४:३०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की मुस्ताङमा जिल्ला प्रशासन र प्रहरी प्रमुख दुवै महिला देखेर खुसी भएकी छन्। 

निर्वाचन तयारीको अवस्था बुझ्न हिमाली जिल्लाको भ्रमण गर्ने क्रममा प्रधानमन्त्री कार्की शुक्रबार बिहान मुस्ताङ पुगेकी थिइन्। 

जहाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता शर्मा तथा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामा छन्। अर्थात् दुवै महिला छन्। 

यो देखेर प्रधानमन्त्री कार्कीले भनिन्, ‘मुस्ताङ त महिलाले हाँकेको रहेछ।’

प्रधानमन्त्रीसँगै रहेका उनका प्रेस सल्लाहकार रामबहादुर रावलले नेपालखबरलाई सुनाए, ‘प्रधानमन्त्रीज्यूले नै ल फोटो खिचौँ भन्नुभयो, चुनाव सफल पार्न हौसला दिनुभयो।’

जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन्। 

मुस्ताङका अधिकारीहरूसँग छलफलका क्रममा प्रधानमन्त्री कार्की।

प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला।’

प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचनलक्षित सुरक्षा योजनाबारे जानकारी गराएकी थिइन्। 

यसैगरी जिल्ला मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म भएका कार्यप्रगतिलगायत विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराए। 

त्यसअघि प्रधानमन्त्री कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी थिइन्।

नेपाली सेनाको हेलिकप्टरबाट त्यहाँ पुगेकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन्। 

मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री सुशीला कार्की।

मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गरेका थिए। 

प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरुसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं पर्यटकसँग भलाकुसारीसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। 

त्यस क्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङ र मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले प्रधानमन्त्री कार्कीसमक्ष मुक्तिनाथ मन्दिरमा भक्तजनले भोग्नुपरेका समस्याबारे जानकारी गराए।

विकास समितिका उपाध्यक्ष गुरुङले मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण योजनाबारे पुरातत्व विभागमा फाइल पेस भए पनि स्वीकृतिका लागि विलम्ब भइरहेकाले काम गर्न नसकिएको गुनासो गरिएको जानकारी दिए।

‘मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री पूर्वाधारका लागि चेन्जिङ रुम, १०८ धारा पुनर्निर्माण, एनएक्स भवन, आनी आवासलगायत आठवटा योजना पुरातत्वमा फाइल पेस गरेका छौँ। स्वीकृत हुन ढिलाइ भएकाले काम अगाडि बढेको छैन, यस विषयमा प्रधानमन्त्रीको मौखिक ध्यानाकर्षण गराइएको छ’, उनले भने।

जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा पुरातत्त्व विभागका महानिर्देशकसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी गराएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुुसालले बताए।

प्रधानमन्त्री कार्की मुक्तिनाथमा करिब एक घण्टा बिताएपछि नेपाल सेनाको हेलिकप्टरमार्फत जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गण गएकी थिइन्। 

प्रधानमन्त्री कार्कीको मुक्तिनाथ यात्राका थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad