राजनीति


युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

क्षितिज र सुमनको प्यानल मैदानमा
युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १०:५५, पाेखरा

लामो झिनाझम्टी र अन्योलबीच पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघ, नेपालको १० औँ महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ। 

निर्वाचन आयोगका अधिकृत जय गुरुङका अनुसार मंगलबार बिहान १०:२० बजेबाट मतदान सुरु भएको हो। मतदान शान्तिपूर्ण रुपले सुरु भएको पनि उनले बताए। 

विद्युतीय मेसिनबाट गरिने मतदान सम्पन्न भएसँगै साँझसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने गरी काम भइरहेको उनको भनाइ छ।

युवा संघको आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी प्यानलसहित मैदानमा उत्रिएका छन्। 

दुई अध्यक्षका उम्मेदवारमध्ये क्षितिज थेवेको समूहबा६ उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह उम्मेदवार छन्।  महराज यसअघि अध्यक्षको दावेदार थिए। 

तर, क्षितिज दोहोरिँदा उनले उपाध्यक्ष स्वीकारेका हुन्। सो समूहबाट महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ। 

यस्तै मदन भण्डारी र देवु बस्नेतले खुला सचिव, महिला सचिवमा निशा लिम्बू तथा मोविन आलमले मधेशी सचिवमा उम्मेदवारी दिँदै क्षितिजलाई सघाएका छन्।  

लेखा आयोगमा उम्मेदवारी दिने किसुन जैशी, निर्वाचन आयोगका मदन गिरी, अनुसशान आयोगका मोहम्मद मिजाम र युवा विज्ञ परिषद्का  चीन लामाले पनि क्षितिजकै प्यानल रोजेका छन्।

सुमनको पक्षबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम उम्मेदवार छन् भने महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्माले प्रतिस्पर्धा गर्ने भएका छन्। 

खुला सचिवतर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ भने महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चित्तरन्जन यादव मैदानमा छन्।

सो समूहबाट लेखा आयोगमा शिव रिमाल, लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषद्को अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ। 

निर्वाचनबाट युवा संघका अध्यक्षसहित ९ जना पदाधिकारी, १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ कार्यसमितिको टुंगो लाग्नेछ। 

देशभरबाट आएका १ हजार ७ सयभन्दा बढी प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन्।  

सर्वसम्मत नेतृत्व चयनको कसरत असफल भएसँगै जेठ ९ गते उद्घाटन भएको महाधिवेशनअन्तर्गत आज १३ गते मतदान हुँदै गर्दा पोखरा सभागृह बाहिर गुटगत रुपमै मत माग्ने क्रम चलिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad