ad ad

राजनीति


आम निर्वाचन–०७९ का ८ रेकर्डधारी ७ सांसद

आम निर्वाचन–०७९ का ८ रेकर्डधारी ७ सांसद

वायाँबाट क्रमश: केपी शर्मा ओली, योगेन्द्र गौचन थकाली, महिन्द्र राय यादव, गंगा कार्की (माथि) रवि लामिछाने, बसन्त नेम्वाङ र टेकबहादुर गुरुङ (तल)।


नेपालखबर
मंसिर १९, २०७९ सोमबार १३:२३, काठमाडौँ

प्रतिनिधिसभातर्फ दोलखाको मतगणना समाप्त भएसँगै आम निर्वाचन– २०७९ को प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मतगणनाको अन्तिम परिणाम सार्वजनिकसँगै यो निर्वाचनका केही रेकर्डहरु पनि निर्माण भएका छन्। 

प्रस्तुत छ– आम निर्वाचन (२०७९) का उल्लेख्य ६ रेकर्डहरुः

सर्वाधिक मत : एमाले अध्यक्ष ओलीलाई 

यो निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेर प्रतिनिधि सभामा निर्वाचित हुने उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली बनेका छन्। झापा–५ बाट निर्वाचित ओलीले यो निर्वाचनमा ५२ हजार १ सय १९ मत प्राप्त गरी सर्वाधिक मत प्राप्त गर्ने विजेता बनेका हुन्। 

२०७४ को आम निर्वाचनमा पनि ओली सर्वाधिक मतका साथ विजयी भएका थिए। त्यो निर्वाचनमा अध्यक्ष ओली ५७ हजार १ सय ३० मतसहित विजयी भएका थिए। त्यो बेला र यसपटकपनि उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी रहे। 

पहिलो विजेता, कम उमेर : मुस्ताङका योगेश

आम निर्वाचन– ०७९ को पहिलो विजेता बन्ने अवसर मुस्ताङबाट निर्वाचित नेपाली कांग्रेसका योगेश गौचन थकालीले प्राप्त गरेका छन्। निर्वाचन (४ मंसिर) को भोलिपल्टै ५ मंसिरमा मतगणना सार्वजनिक भएकाले योगेश यो निर्वाचनका पहिलो विजेता बनेका हुन्। 

५ मंसिरमा सम्पन्न भएको मतगणनामा कांग्रेस उम्मेदवार योगेश ३ हजार ९ सय ९२ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे। 

आफ्ना पिता रोमी गौचन थकालीलाई २०७४ को निर्वाचनमा पराजित गरेका एमालेका तुलाचनलाई छोरा योगेशले पराजित गरी प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।  

योगेश यसपटकको निर्वाचनका पहिलो विजेतामात्र होइन, सबैभन्दा कम उमेरका विजेता उम्मेदवारपनि बन्न सफल भएका छन्। निर्वाचन आयोगको रेकर्ड अनुसार २७ बैशाख २०५० मा जन्मेका उनी २८ वर्षका छन्। 

जेष्ठ सांसद : माओवादी केन्द्रका महिन्द्र


सभामुखको निर्वाचन अगाडिपनि प्रतिनिधि सभाको बैठक बस्ने भएकाले जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रचलन छ। यो अवसर माओवादी केन्द्रका महिन्द्र राय यादवले प्राप्त गर्नेछन्। 

किनकी, यो निर्वाचनमा विजयी सबैभन्दा जेष्ठ सदस्य उनै हुन्। 

निर्वाचन आयोगको रेकर्ड अनुसार, २४ बैशाख १९९४ मा जन्ममिति रहेका उनी ८४ वर्ष पुगिसकेका छन्। माओवादी केन्द्रको उम्मेदवारका रुपमा निर्वाचित भएपनि खासमा उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। माओवादी केन्द्र र समाजवादी पार्टीबीच चुनावी तालमेल भएकाले उनी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर विजयी भएका थिए। 

अन्तिम विजेता : दोलखाका गंगा

निर्वाचन भएको १५ दिनपछि १९ मंसिरमा मात्र दोलखाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भयो। मतगणनाको अन्तिम परिणाम अनुसार एकमात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लाबाट माओवादी केन्द्रका गंगा कार्की ३६ हजार ७ सय ९९ मतसहित विजयी भएका हुन्।

४ मंसिरमा भएको निर्वाचनमा दोलखाका १४ मतदान केन्द्रमा विवाद भएपछि निर्वाचन आयोगले १५ मंसिरमा पुन मतदान गराएको थियो। मतदान सम्पन्न भएपछि १६ मंसिरमा भएको मतगणनाको अन्तिम परिणाम १९ मंसिर विहान सार्वजनिक भएसँगै कार्की यो निर्वाचनका अन्तिम विजेता बने।  

सर्वाधिक मतान्तर : रवि लामिछानेको नाममा 

निर्वाचन प्रक्रिया प्रारम्भ भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने निरन्तर चर्चामा रहे। स्थानीय तह निर्वाचनपछि स्थापना भएको उनी नेतृत्वको ‘रास्वपा’ ले समानुपातिकतर्फ चौथो ठूलो दल बन्यो भने प्रतिनिधि सभाका ७ सिटमा प्रत्यक्षतर्फ विजयीपनि भयो। 

यो आश्चर्यजनक नतिजासँगै ‘रास्वपा’ लामिछाने यो निर्वाचनमा सर्वाधिक मतान्तरले विजयी हुने सांसदपनि बने। चितवन– २ बाट निर्वाचित लामिछाने ४९ हजार ३ सय मतसहित विजयी हुँदा नेपाली निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मतमात्र प्राप्त गरे।

लामिछाने र श्रेष्ठबीचको मतान्तर ३४ हजार ३ सय १२ छ। गणतन्त्र स्थापना भएयताका निर्वाचनमा कायम भएको यो नै सर्वाधिक ठूलो मतान्तर हो। यसअघिको ठूलो मतान्तर २०७४ को निर्वाचनमा कायम भएको थियो। 

एमाले उम्मेदवार पार्वत गुरुङले दोलखाबाट यस्तो रेकर्ड कायम गरेका थिए। गुरुङ ३० हजार ६ सय ४४ मतान्तरसहित विजयी भएका थिए। उनलाई ५५ हजार ४ सय ५७ मत प्राप्त हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्रबहादुर खड्कालाई २४ हजार ८ सय १३ मत प्राप्त भएको थियो।  

कम मतान्तर : पाँचथरका बसन्त नेम्वाङलाई

आम निर्वाचन– २०७९ मा सबैभन्दा कम मतान्तरले विजयी हुने सांसद पाँचथरबाट निर्वाचित एमालेका बसन्तकुमार नेम्वाङ बनेका छन्। नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई पराजित गर्दै नेम्वाङ विजयी बनेका हुन्। 

३२ हजार १ सय ३५ मत सहित नेम्वाङ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आङदेम्बेले ३२ हजार ८९ मत प्राप्त गरे। विजेता नेम्वाङ र निकटतम प्रतिद्वन्द्वी आङदेम्बेबीचको मतान्तर ४६मात्र रह्यो।

र, नेम्वाङ–आङदेम्बेबीचको मतान्तर नै यो निर्वाचनमा सबैभन्दा कम मतान्तर बन्यो।  

सबैभन्दा कम मत : संसद छिर्न नपाउने गुरुङलाई 

यो निर्वाचनमा सबैभन्दा कम मत ल्याएर निर्वाचित हुने सांसद मनाङका टेकबहादुर गुरुङ बनेका छन्। उनी २ हजार ५ सय ७५ मतका साथ दोस्रो पटक मनाङबाट निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोल्देन छोपाक गुरुङ २ हजार २ सय ४७ मत प्राप्त गरेका छन्। 

मनाङबाट निर्वाचित गुरुङले प्राप्त गरेको यो मत नै यो निर्वाचनका विजेताहरुले प्राप्त गरेको सबैभन्दा कम मत हो। कम मत प्राप्त गरेर प्रतिनिधि सभामा विजयी भएपनि आर्थिक अनियमितता सम्बन्धी मुद्दाका कारण गुरुङले प्रतिनिधि सभाको बैठकमा भाग लिन पाउने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .