ad ad

राजनीति


२०७४ मा सर्वाधिक मतान्तरले जितेको दोलखामा एमालेको अन्तिम पराजय

२०७४ मा सर्वाधिक मतान्तरले जितेको दोलखामा एमालेको अन्तिम पराजय

बालकृष्ण शिवाकोटी र पार्वत गुरुङ।


नेपालखबर
मंसिर १९, २०७९ सोमबार ९:५३, काठमाडौँ

आम निर्वाचन–२०७४ मा प्रतिनिधि सभामा सर्वाधिक मतान्तरले विजय हासिल गर्ने उम्मेदवार थिए– पार्वतकुमार गुरुङ। ३० हजार ६ सय ४४ मतान्तर सहित विजय हासिल गर्दैसबैभन्दा बढी मतान्तरका साथ विजय हुने रेकर्ड गुरुङले बनाएका थिए।

गुरुङको नाममा यस्तो रेकर्ड बनाइदिने जिल्ला थियो-दोलखा। 

वामगठबन्धनको सहारामा विजयी गुरुङले ५५ हजार ४ सय ५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्रबहादुर खड्का २४ हजार ८ सय १३ मतमा सीमित भएका थिए।

गुरुङले बनाएको यो रेकर्ड आम निर्वाचन–२०७४ को मात्र रेकर्ड थिएन, बहुदलीय–गणतान्त्रिक व्यवस्थामा भएका आम निर्वाचनमा स्थापित सबैभन्दा ठूलो मतान्तरको रेकर्ड थियो त्यो। 

तर, यति ठूलो मतान्तरको रेकर्ड बनाएको त्यही दोलखामा यसपटक एमाले पराजित भएको छ। अघिल्लो निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएको जिल्लाले यसपटक उसलाई अन्तिम पराजयको परिणाम दिएको छ। 

अन्तिम परिणाम अनुसार सत्तागठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की ३६ हजार ७ सय ९५ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ७७ मत प्राप्त गरेका छन्।  

विजेता कार्की र निकटतम प्रतिद्वन्द्वी एमालेबीचको मतान्तर ३ सय १८ रहेको छ। 

२०७४ को आम निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली झापा– ५ बाट सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए। तरपनि सबैभन्दा ठूलो मतान्तरको रेकर्ड ओलीको नाममा बन्न सकेको थिएन। 

ओलीले ५७ हजार १ सय ३९ मतका साथ विजय हासिल गर्दा कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत हासिल गरेका थिए। ओली र अधिकारीबीचको मतान्तर २९ हजार ४२ थियो। 

ओलीपछि सर्वाधिक मत हासिल गर्ने विजेता थिए, गोकूल बास्कोटा। काभ्रे–२ का एमाले विजेता बास्कोटाले ५५ हजार ५ सय २६ मत प्राप्त गरेका थिए। तर, उनको मतान्तर १८ हजार ७ सय ७३ मात्र थियो। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्यले ३६ हजार ७ सय ५३ मत प्राप्त गरेका थिए। 

गुरुङ दोलखाबाट तेस्रो सर्वाधिक मत प्राप्त गरी विजयी भएपनि उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काको मत कम भएका कारण त्यो निर्वाचनमा सर्वाधिक मतान्तर कायम गर्न उनलाई सहज भएको थियो। 

एक निर्वाचन क्षेत्रमात्र रहेको दोलखामा एमालेले प्रतिनिधि सभाको सिटमात्र गुमाएको छैन, दुईमध्ये एउटा प्रदेश सभापनि गुमाएको छ। कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले दोलखा ‘क’ मा एमालेका नुरबहादुर श्रेष्ठलाई पराजित गर्दै विजय हासिल गरेका छन्। 

२०५१ मा भीमबहादुर तामाङले बाहेक २०४८ यता संसदको निर्वाचनमा नेपाली कांग्रेसले दोलखामा विजयको झण्डा फहराउन सकेको थिएन। 

दोलखा ‘ख’ मा भने कांग्रेसका बर्मा लामालाई पराजित गर्दै एमालेका भरत केसी विजयी भएका छन्। 

आम निर्वाचन–२०७९ को अन्तिम परिणाम दिएको दोलखाले जिल्लाका तीन सिटमा तीन प्रमुख पार्टी कांग्रेस (प्रदेश क), एमाले (प्रदेश ख) र माओवादी केन्द्र (प्रतिनिधि सभा) लाई एक–एक सिटमा विजय गराएर पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .