ad ad

राजनीति


समानुपातिक मत अब डेढ लाख गन्न बाँकी, सात पार्टीबाहेक ‘अरू राष्ट्रिय दल बन्ने सम्भावना देखिएन’

समानुपातिक मत अब डेढ लाख गन्न बाँकी, सात पार्टीबाहेक ‘अरू राष्ट्रिय दल बन्ने सम्भावना देखिएन’

नेपालखबर
मंसिर १७, २०७९ शनिबार १२:२९, काठमाडौँ

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मत गणना अब सकिने चरणमा पुगेको छ। प्रतिनिधिसभा १६५ क्षेत्रमध्ये अहिलेसम्म १६२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने स्याङ्जा–२, दोलखा र बाजुरामा मत गणना जारी छ। 

प्रतिनिधिसभा समानुपातिकतर्फ पनि तिनै तीन जिल्लाको मत गणना सक्न बाँकी छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दिउँसो १२ बजेतिर अब सवा लाखदेखि डेढ लाखसम्म समानुपातिक मत गन्न बाँकी रहेको जानकारी दिए। 

‘बाजुराको गनेकै छैन, दोलखाको अलिअलि गनिएको छ, स्याङ्जा–२ को आधाजति गनिसकिएको छ’, सहायक प्रवक्ता अर्यालले नेपालखबरसँग भने, ‘अब सवा लाखदेखि डेढ लाखसम्म बाँकी होला गन्न।’

उनका अनुसार यो खबर तयार पार्दासम्म १ करोड ८ लाखभन्दा बढी समानुपातिक मत गनिसकिएको छ। जसमध्ये १ करोड ४ लाख ४ हजार ७ सय ६६ मत सदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ। 

आयोगका सहायक प्रवक्ता अर्यालकाअनुसार ४ प्रतिशतजति मत बदर भएको अनुमान छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत (थ्रेसहोल्ड) मत कटाउने दलले राष्ट्रिय दलको मान्यता पाउँछन्। अहिलेसम्म सात दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले यो मापदण्ड पूरा गरेको जानकारी अर्यालले दिए। 

उनका अनुसार मत गणना अन्तिम चरणमा पुग्दा ३ लाख १७/१८ हजारसम्म मत ल्याउँदा थ्रेसहोल्ड कट्ने आकलन गरिएको छ। 

अझै एक/दुई दल थ्रेसहोल्ड पार गर्ने प्रयासमा रहेको  तर अहिलेकै अनुपातमा मत आइरहे गणना गर्न बाँकी मतबाट थप पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना कम देखिएको सहायक प्रवक्ता अर्यालले बताए।  

यसैबीच अलि नजिकको सम्भावना नेकपा एकीकृत समाजवादीको देखिएको छ। यो खबर लेख्दासम्म उसले २ लाख ९४ हजार एक सय समानुपातिक मत प्राप्त गरेको छ। थ्रेसहोल्ड (३ लाख १८ हजार मत) कटाउन उसले अझै २४/२५ हजार मत ल्याउनुपर्ने देखिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .