ad ad

राजनीति


समानुपातिक मत गणना अन्तिम चरणमा, एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउला कि नकटाउला?

समानुपातिक मत गणना अन्तिम चरणमा, एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउला कि नकटाउला?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १३:५४, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ। 

राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ कम्तीमा एक सिट जितेको र समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत (थ्रेस होल्ड) मत ल्याएको हुनुपर्छ। 

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार मंसिर ४ को निर्वाचनमा कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० जनामध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएका छन्। यस हिसाबले चुनावमा १ करोड ९ लाख ७० हजारभन्दा बढी मतदान भएको देखिन्छ।

तर यसमध्ये ३ लाख हाराहारी मत बदर भएको अनुमान आयोगले गरेको छ। खसेको कूल मत १ करोड ९ लाख ७० हजारबाट बदर मत ३ लाख घटाउँदा कूल सदर मत १ करोड ६ लाख ७० हजार आसपास हुन्छ। यसको ३ प्रतिशत मतको थ्रेस होल्ड सीमा कटाउन ३ लाख २० हजारभन्दा बढी मत ल्याउनुपर्ने देखिन्छ। 

समानुपातिक मत गणना अन्तिम चरणमा पुगिसक्दा पनि सत्तारुढ नेकपा एकीकृत समाजवादी भने थ्रेस होल्ड पार होला/नहोला, दोसाँधमा छ।

उसले यो खबर लेख्दासम्म २ लाख ९३ हजार ९ सय ८७ मत मात्र प्राप्त गरेको छ। अहिलेसम्म १ करोड २ लाख ५८ हजार ५ सय ७७ समानुपातिक मत सदर भएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।

कूल सदर मत १ करोड ६ लाख ७० हजारलाई मान्दा अब गन्न बाँकी ४ लाख ११ हजारभन्दा केही बढी मत मात्र छ। तर एकीकृत समाजवादीलाई ३ लाख २० हजार पार गर्न अझै २७ हजार**भन्दा बढी मत ल्याउनुपर्ने देखिन्छ।

४ लाख केही हजार मत गन्न बाँकी भएको अवस्थामा यसबाट एकीकृत समाजवादीले अझै २७ हजार मत थप्ला भन्न गाह्रो छ। त्यसो त केही निर्वाचन क्षेत्रको नजिता आउन बाँकी पनि छ। 

स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना जारी छ भने बाजुरामा अझै सुरु हुन सकेको छैन। १० वटा मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्षसहित दोलखामा आज (१५ मंसिर) पुनः मतदान भइरहेको छ। एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउला वा नकटाउला एकिन गर्नचाहिँ सबै क्षेत्रकाे नतिजा नआउन्जेल पर्खनैपर्छ। 

हेर्नुहोस् अहिलेसम्म कुन दलले कति समानुपातिक मत प्राप्त गरे? 

नेकपा एमाले 
२७,३२,७२७

नेपाली कांग्रेस 
२६,०४,८३४

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,५५,६३५

राष्ट्रिय स्वतन्त्र पार्टी
११,०८,३०६

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८१,५१८

जनता समाजवादी पार्टी, नेपाल
४,१६,८९८

जनमत पार्टी
३,८७,६४१

नेकपा एकीकृत समाजवादी
२,९२,९८७

नागरिक उन्मुक्ति पार्टी
२,६८,९३९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६४,९८३

नेपाल मजदुर किसान पार्टी
७४,९३१

हाम्रो नेपाली पार्टी
५४,६३८

मंगोल नेसनल अर्गनाइजेसन
४८,१२६

राष्ट्रिय जनमोर्चा
४६,२१६

नेपाल संघीय समाजवादी पार्टी
४१,५६५

स्रोत : निर्वाचन आयोग

भूलसुधार : यसै समाचारको चौथो अनुच्छेदमा २७ हजार**भन्दा बढी हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौँ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .