ad ad

राजनीति


अन्योलमा बाजुराको मतगणना : सर्वदलीय बैठक निष्कर्षविहीन

११ बजे पुनः बस्ने
अन्योलमा बाजुराको मतगणना : सर्वदलीय बैठक निष्कर्षविहीन

गोकुल जोशी
मंसिर १५, २०७९ बिहिबार १०:५, कञ्चनपुर

बाजुरामा मतगणना सुरु गर्न बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ।

बिहीबार बिहान ७ बजे बसेको सर्वदलीय बैठकमा नेकपा एमालेका प्रतिनिधि अनुपस्थित भएपछि बैठक निष्कर्ष विहिन भएको हो।

फेरि ११ बजेका लागि बैठक डाकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।

‘निर्वाचनको निष्पक्षता र विश्वस्नियताका लागि सर्वदलीय सहमति खोजिएको छ,’ अहिलेको बैठकमा सहमति जुटेन,’ उनले भने।

निर्वाचन आयोगले बुधबार बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै गणना सुरु गर्न निर्देशन दिएको थियो। तर अझैसम्म मतगणना सुरु हुन सकेको छैन।

ढकालका अुनसार एमालेका प्रतिनिधिलाई आजको बैठकमा बोलाएपनि उनीहरु आएका थिएनन्। ‘एमालेका प्रतिनिधिलाई आमन्त्रण गरेका थियौं, तर बैठकमा आएनन्, ११ बजे फेरि बस्ने भनेका छौं’ उनले भने।

बुधबारको बैठकमा पनि एमालेका प्रतिनिधि सहभागी भएका थिएनन्। मतदानको दिन हत्या गरिएका एमाले निकट अनेरास्ववियुका चेतन ऐडीको घटनामा संलग्न दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै एमाले आन्दोलनमा छ।

बाजुराको प्रतिनिधि सभातर्फका उम्मेदवार एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले प्रमुख जिल्ला अधिकारीसंग भेट गरेपछि बैठकमा सहभागी हुने एमाले बाजुराका अध्यक्ष कालीबहादुर शाहीले बताए।

‘सुरुमा सीडीओ सावसंग बस्छौं, त्यसपछि सर्वदलीय बैठकमा सहभागी हुन्छौं,’ उनले भने, ‘मतदानको दिन भएको घटनाको सत्य, तथ्य छानविन गरेर दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने माग छ।’

मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो। निर्वाचन आयोगको निर्णय पश्चात् उक्त अन्योलता हटेपनि मतगणना भने सुरु हुन सकेको छैन।

मतदानको दिन बाजुराका विभिन्न ठाउँमा झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना भएका थिए।

मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए। बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै एमाले र कांग्रेसले निवेदन दिएको थियो।

नेकपा एमालेले १५ र नेपाली कांग्रेसले ८ ठाउँको मतदान पुनः गर्न निवेदन दिएका थिए। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो। बाजुरामा ७० वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .