प्रतिनिधिसभा समानुपातिकतर्फ मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि नेकपा माओवादी केन्द्रलाई उछिनेको छ।
सुरुमा आफूभन्दा अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि माओवादी केन्द्रले समानुपातिक मतमा उछिनेको थियो। तर अहिले फेरि स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई पछि पारेको हो।
आज बिहान ६ बजेर २७ मिनेट जाँदा निर्वाचन आयोगले राखेको तथ्यांकमा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ५९ हजार ७६ मतका साथ माओवादी केन्द्रभन्दा अघि लागेको हो। माओवादी केन्द्रले भने १० लाख ५१ हजार १ सय ४३ मत ल्याएको आयोगको तथ्यांक छ।
अहिलेसम्म ९२ लाख २७ हजार ५४ समानुपातिक मतको गणना सकिएको आयोगले जनाएको छ।
सुरुदेखि नै पहिलो एमालेले अहिलेसम्म २५ लाख १६ हजार ५ सय ९२ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको कांग्रेसले २३ लाख ८५ हजार १ सय ३ मत पाएको छ।
पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख ४४ हजार १ सय ४८ समानुपातिक मत ल्याएको छ भने छैटौं स्थानमा जनता समाजवादी पार्टी (जसपा) ३ लाख १७ हजार ४४ मत प्राप्त गरेको छ।
प्रतिक्रिया